कर्णाली प्रदेशसभाको पहिलो बैठकमा काे सांसदले के बोले ?

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक सम्पन्न भएको छ । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने स्वतत्रसहित ५ राजनीतिक दलका नेताहरुले आ-आफ्ना दलगत धारणा राखेका छन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको प्रमुख प्रतिपक्षी भनेको रोग, भोक र गरिबी भएको बताएका छन् ।

मुख्यमन्त्री शाहीले कर्णालीको प्रतिपक्षलाई मेटाउन सबै एक भएर अघि बढ्नुपर्ने तर्क राखे । ‘हामी विद्यायक हौं, हाम्रो काम भनेको राम्रा ऐन कानुन बनाउने हो, हामीले राम्रा ऐन कानुन बनाउन सकेनौ भने हामीले हाम्रो प्रदेशलाई समृद्ध बनाउन सक्दैनौं’ शाहीले भने, ‘प्रदेशसभा सदस्यहरुले साच्चै यहाँका १७ लाख नागरिका पक्षमा काम गरेका छन्, लुछाचुडी गरेका छैनन् भन्ने कुरा देखाउन गरी अगाडि बढ्न आवश्यक छ ।’

यस्तै, नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा विगतका सरकारका क्रियाकलापका कारण प्रदेश संरचनाको औचित्यमाथी जनताले प्रश्न चिन्ह उठाइ रहेकाले अबको कार्यकालमा सबै गम्भिर भएर विगतको समिक्षा गर्नु पर्ने बताए । विकास गर्ने भन्दा पनि खाने प्रचलन कर्णालीमा व्याप्त छ उनले भने, ‘५ वर्ष प्रदेश संरचना चलाउदा पनि कर्णालीका खराव सुचाङ्कहरुमा सुधार अझै आएन, यसको जिम्मेवारी हामी सबैले धेरै थोरै लिनै पर्छ तर मुख्य जिम्मेवारी सरकार सञ्चालनकर्तामा हुनुपर्छ ।’

यस्तै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले संघीयतालाई बचाउनु आफुहरुको दायित्व रहेको बताए । ‘व्यवस्था बचाउने सन्दर्भमा तब मात्रै सम्भव छ जति बेला हामी तीनै तहका जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुन्छौं ।’

शर्माले भने, ‘हामीले लोकतन्त्र, प्रजातन्त्र र स्वतन्त्रताको कुरा गरी रहेका छौं, हाम्रो लोकतन्त्र, प्रजातन्त्र र स्वतन्त्रतामा जनताका आवश्यकताप्रति जनप्रतिनिधि र सरकारी निकायहरु जवाफदेही हुने र जनता तिर फकर्ने परिपाटी नै लोकतन्त्रको सुन्दर पक्ष हो, यसलाई हामीले जोगाउन सक्नु पर्छ ।’

राप्रपा नेतृ सन्तोषी शाहीले संघीयतमा धर्मनिरपेक्षता र राज संस्था हटाउन गरिएको गलत निणर्यकै कारण देश अस्थिरतातर्फ धकेलिएको दावी गर्दै नेपालमा पहिचानको रुपमा हिन्दु राष्ट्र र अभिभावकका रुपमा राज संस्थाको पुर्नस्थापना हुनुपर्ने धारणा व्यक्त गरिन । कर्णालीका नागरिकको सेवा र समर्ग प्रदेशको विकासका लागि पार्टीको आँखाले नभई एक ढिक्का भएर अगाडि बढ्नु पर्ने उनको भनाई छ ।

पछिल्लो समय मौलाउदै गएको भ्रष्टाचारलाई अन्त्य गर्न प्रभावकारी कानुनको निर्माण गरी कार्यान्वयनको पाटो बलियो बनाउनु पर्ने उनको भनाई छ । हजारौं सहिदहरुको बलिदानका कारण आएको व्यवस्था जनताको पक्षमा हुनु पर्ने नेकपा एकिकृत समाजवादीकी कल्याणी खड्काले बताइन । समृद्ध कर्णालीका लागि साझा धारणा बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिइन ।

स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले भ्रष्टाचार अन्त्यका लागि आमाको कसम खानु पर्ने बताए । आफू नेपाली कांग्रेसमा हेपिएको भन्दै जनता नेताप्रतिभन्दा पनि नेता जनताप्रति उत्तरदायी हुनु पर्ने धारणा राखे । ‘कर्णालीमा तपाई हामी सहकार्य सहमतीका साथ जाऔं, निष्टाका साथ आफ्नी आमाको कसम खाएर भनौ भ्रष्टाचार गदैनौ, भ्रष्टाचारबाट मुक्त हौं ।’ शाहीले भने, ‘कर्णाली सुन हो, सुन पिट्ने सुनार पनि गतिलो चाहिन्छ, सहि ढङ्गले सुन चुट्न जाने मात्रै समृद्धि हुन्छ, भाषण होइन ।’

बैठकले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ११ को उप नियम १ बमोजिम सभामुख र उपसभामुखको अनुस्पस्थितमा बैठकको अध्यक्षता गर्ने प्रयोजनका लागि ३ जनाको नाम अनुमोदन गरेको छ । जसमा कांग्रेसबाट हिक्मतबहादुर विष्ट, माओवादी केन्द्रका भिमप्रकाश शर्मा र नेकपा एमालेबाट जितबहादुर मल्ल रहेका छन् । आगामी प्रदेशसभा बैठक पुस २५ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया