यस्ताे छ, सुर्खेतकाे भाइरल बाघको नालीबेली

सुर्खेत । केही दिन यता सामाजिक सञ्जालमा दुई बाघको मूर्ति भाइरल बनेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ भैरव सामुदायिक वनभित्र रहेको सहिद पार्कमा रहेको बाघको मूर्तिको आवरण र निर्माण गर्दा लागेको खर्चलाई लिएर समाजिक सञ्जालमा अनेक तर्क/बितर्क भइरहेका छन् ।

जसमा बाघको मूर्तिकोे स्वरुप र मूल्य १३ लाखमा बनेको भनेर भनिएको छ । यो विषय सेलाउन नपाउँदै फेरि सोही ठाउँमा उत्तानो पारेर राखिएको अर्को बाघको मूर्तिले चर्चा पाएको छ ।

तर यी भाइरल बनेका बाघका प्रतिमाहरुको वास्तविकता भने फरक छ । यी दुई बाघका मूर्तिमध्ये उत्तानो पारिएको बाघ केही वर्षअघि खुट्टा भाँचिएपछि पुनः जोडेर उत्तानो पारिएको हो । सो बाघको निर्माण लागत ४० हजार रहेको भैरव सामुदायिक वनका अध्यक्ष अम्मरबहादुर काकीले बताउँछन् ।

४० हजार भनिए पनि भुक्तानी दिँदा २० हजार मात्र गरिएको अध्यक्ष कार्कीको भनाई छ । कार्कीका अनुसार ती कालिगडले ढुङ्गा जोडेर सो मूर्ति बनाएका थिए । पार्कमा राखिएको केही महिनामै २/३ पटक भाँचिएपछि पुनः उत्तानो पारेर जाड्दाको फोटो भाइरल बनाइएको अध्यक्ष कार्कीको भनाई छ ।

‘पुरानो मूर्ति भाँचिएपछि केही राम्रो र यस्तै १३ लाख लागतमा निर्माण गरिएको भनिएको अर्को बाघ र कन्याको प्रतिमा काँक्रेविहार निर्माणमा संलग्न कालिगढहरूले १ लाख ५ हजारमा बनाइदिएका थिए । ‘सहिद पार्क परिसरमा राखिएको कन्याको प्रतिमा र बाघको मुर्तिको लागत हामीले १ लाख ५ हजार भुक्तानी गरेका छौँ, कन्या र बाघ दुवैको मूर्ति एउटै ढुङ्गाबाट बनेका हुन्’, अध्यक्ष कार्कीले भने ।

यद्यपी सामाजिक सञ्जालमा भने बाघको मूर्तिलाई मात्रै भाइरल बनाइएकोमा कार्कीको गुनासो छ । अध्यक्ष कार्कीले सम्बन्धित निकायलाई नसोधेर नै जथाभावी रूपमा गलत सूचना सम्प्रेषण गरेको भन्दै आक्रोश पोखे । उनका अनुसार मूर्ति सहिद पार्क अवलोकनमा आउने पर्यटकहरूबाट उठेको टिकटको पैसाबाट बनाइएको हो ।

पार्कमा प्रवेश गर्नका लागि प्रति व्यक्तिले २० रुपैयाँ तिर्नुपर्छ । अवलोकन गर्न आउनेहरूले जंगलको बीचमा बाघ लगायतका जंगली जनावरहरूको मूर्ति बनाउने सुझावपछि सो मूर्ति बनाइएको बताए । आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको प्रादेशिक सहिद पार्कमा हाल दैनिक २ देखि ३ सय जनाले अवलोकन गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया