‘पेन्सन खानेहरु भत्ता नलिनुस्’

सुर्खेत । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भत्ता वितरणको कार्यलाई थप प्रभावकारी बनाइने भएको छ । लक्षित समूहलाई सरकारले उपलब्ध गराउँदै आएको भत्ता वितरणमा विभिन्न समस्या देखिएको गुनासो बढेपछि सरकारले यसलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको हो ।

 

वीरेन्द्रनगरमा शुक्रबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय तह र गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा कार्यक्रमलाई सरल, सहज र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन् ।

पञ्जीकरण विभाग र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणले भत्ता वितरणमा देखिएका समस्याबारे विभिन्न गुनासा राखेका थिए ।

जेष्ठ नागरिकले सामाजिक सुरक्षा वापत मासिक रुपमा पाउँदै आएको बृद्धभत्ता लिन कठिन भएको, ग्रामीण क्षेत्रमा बैंकसम्म पुगेर बुद्ध, बालबालिका र अपागंता भएका व्यक्तिहरुलाई पनि भत्ता लिन समस्या हुने गरेको गुनासो सहभागिहरुले गरेका थिए । कतिपय स्थानीय तहका कर्मचारीले आफूहरुले रकम निकासा गरे पनि बैंकहरुले समयमै वितरण नगर्दा समस्या भइरहेको बताए ।

कार्यक्रमका सहभागिहरुले बाबुआमा नभएका र पत्ता नलागेकाका बालबालिकाको जन्मदर्ता गर्दा समस्या भोग्नु परेको, नागरिकता प्राप्त गर्न कठिन भएको नागरिकता नै नहुँदा सरकारी सुविधा प्राप्त गर्न कठिन भएको गुनासो गरे ।

कार्यक्रममा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले सामाजिक सुरक्षा भत्तालाई सहज रुपमा उपलब्ध गराउनका लागि स्थानीय सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । जन्मदर्ता र नागरिकता प्राप्तीमा देखिएका जटिलता हटाउनका लागि विभागले नीतिगत सुधारका लागि पहल गर्ने उनको भनाइ थियो ।

साथै उनले पेन्सन खाइरहेकाहरुले सामाजिक सुरक्षा भत्ता लिन नहुने भन्दै त्यस्तो भएको पाइएमा सरकार फिर्ता गराउने बताए । दोहोरो सुविधा लिन नहुने भन्दै उनले यसमा सचेत बन्न आग्रह गरे ।

यस्तै कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले कर्णालीमा छोरीको बैंक खाता कार्याक्रमलाई थप प्रभावकारी बनाउने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, वीरेन्द्रनगर नगरपालिकाका कार्यवहाक मेयर टिकाराम शर्मा, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नागरिकलाई सहज रुपमा सरकारी सेवा उपलब्ध गराउन स्थानीय सरकार गम्भिर हुनुपर्ने बताए ।

स्थानीय तहले सक्रिय भएर काम गरे नागरिकलाई आँगनमै सेवा तथा सुविधा उपलब्ध गराउन सकिने उनीहरुको भनाइ थियो । पञ्जीकरण विभागका निर्देशक सागरमणि पाठकले विभागले हालसम्म गरेका काम र क्रियाकलापबारे जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया