रविको मुद्दामा फैसलाको पर्खाइ : सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा फैसलाको प्रतीक्षा भइरहेका बेला सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रवार सुनुवाइ सकिएपछि सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइएको हो ।

दिउँसो साढे १ बजे नै सुनुवाइ सकिए पनि न्यायाधीशहरू अपराह्न पौने ४ भने सम्भावित निर्णयका विषयमा छलफलमा छन् । आजै फैसला आउने कि निर्णय सुनाउने मिति (निसु) तोकिने भन्ने टुंगो लागेको छैन । बढ्दो सुरक्षा तैनाथी हेर्दा आजै फैसलाको तयारी भएको देखिन्छ ।

रविविरुद्धको मुद्दामाथि सुनुवाइ गरेको संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश कार्कीका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।

अमेरिकी पासपोर्ट त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्त नगरेकाले सांसद बन्नका लागि अयोग्य हुने भन्दै रविराज बसौला, युवराज पौडेल लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया