राजधानीलाई पूर्वाधारयुक्त बनाउने कर्णाली सरकारको निर्णय

सुर्खेत।  कर्णाली सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरको स्थानगत एकीकृत विकास योजना निर्माण गर्ने भएको छ । वीरेन्द्रनगरलाई व्यवस्थित, आकर्षक र पूर्वाधारयुक्त नगरको रूपमा विकास गर्न प्रदेश सरकारले विशेष योजनाका साथ काम गर्ने भएको हो ।

सरकारले वीरेन्द्रनगर पालिकासँग सहकार्य गरी नगरको स्थानगत एकीकृत विकास योजना बनाउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारको यही माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले बताए । उनका अनुसार एकीकृत विकास योजना निर्माणका लागि निर्देशक समिति निर्माण गरिएको छ ।

विषयगत क्षेत्रका विज्ञहरूको सुझाव संकलन गरी वीरेन्द्रनगरको एकीकृत विकास योजना निर्माण गरिँदै

योजनालाई अघि बढाउन भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्रीहरूको निर्देशक समिति बनाइएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयका सचिवहरूलाई पनि राखिएको छ । त्यस्तै, सो समितिमा प्राविधिक सहजीकरण कार्यान्वयन टिम पनि बनाइएको छ । मन्त्री शाहले वीरेन्द्रनगरको एकीकृत विकास योजनाका लागि सहरी विकासका विज्ञहरूको टिमसँग प्राविधिक सुझाव लिनेगरी तयारी गरिएको जनाए । एकीकृत विकास योजना निर्माण विषयमा प्रदेश सरकारले विभिन्न विषयगत क्षेत्रका विज्ञहरूको सुुझाव संकलन गर्ने भएको हो । प्राप्त सुुझावका आधार ठोस योजना निर्माण गरिने मन्त्री शाहको भनाइ छ ।

वीरेन्द्रनगरको स्थानगत एकीकृत विकास योजना कार्यान्वयनका लागि बजेटको प्रबन्ध प्रदेश सरकारले गर्नेछ भने योजनाको रेखदेख, अनुुगमन र समन्वय वीरेन्द्रनगर नगरपालिकाबाट हुनेछ । पहिलो चरणमा स्थानगत एकीकृत विकास योजनालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा विज्ञसहितको राय संकलन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । वीरेन्द्रनगमा अहिले प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधारको कमी छ । राजधानी सहर भएपनि यहाँ सडक, सार्वजनिक यातायात र प्रविधिको विकास हुन सकेको छैन । सोही अवस्थालाई मध्यनजर गर्दै कर्णाली सरकारले स्थानगत एकीकृत विकास योजना बनाएर वीरेन्द्रनगरलाई सुविधायुक्त सहरको रूपमा विकास गर्न लागेको हो ।  साझा बिसौनीले समाचार लेखेको छ । 

तपाईको प्रतिक्रिया