एमाले पार्टी सदावहार जनताकाे सेवामा खटिनुपर्छ : ‌इन्चार्ज कँडेल

सुर्खेत । नेकपा एमाले कर्णाली ईन्चार्ज यामलाल कँडेलले एमाले पार्टीका कार्यकर्ताहरु सदावहार जनताको सेवामा खटिनु पर्ने बताएका छन् । जनताका सवालहरुलाई सम्बोन्धन गर्ने पार्टी एमाले भएकाले पार्टीमा लाग्नु भएका र आस्थावानहरुले सदैव जनताका वास्तविक समास्याहरुलाई पूरा गराउनमा सबै उत्तिकै जिम्मेवार भएर लाग्नु पर्ने ईन्चार्ज कँडेलले बताएका हुन् ।

कर्णाली प्रदेश सभा सांसद समेत रहेका इन्चार्ज कँडेलले कर्णालीको प्रतिकुलतालाई अनुकुलतामा बदल्नेगरी सबैले सोहीअनुसार अघि बढ्न निर्देशन समेत दिएका छन् । अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको तेस्रो बैठकलाई सम्बोन्धन गर्दै ईन्चार्ज कँडेलले निर्वाचनको समयमा मत माग्न मात्रै नभएर जनताका वस्तुगत समस्याहरुलाई पूरा गराउन सदैव खटिरहन महिला नेतृत्वलाई निर्देशन दिए ।

‘राणा शासन, बहुदल, निरकुंश शासन जस्ता व्यवस्था फालेर परिवर्तनकारी युगको सुरुवात गर्नुमा पार्टीको पनि उत्तिकै भूमिका छ,’ कँडेलले भने, ‘विगतका व्यवस्था फरक थिए । व्यवस्था परिवर्तनसँगै अहिलेको पुस्ताले रुचाउने समय सापेक्ष नेतृत्व तयार गर्नमा अब गम्भीर बन्न आवश्यक छ ।’

कँडेलले सुचाङ्कमा कर्णाली पछि नै छ तर कहिँ न कहिँ हाम्रा धारणाहरु पनि संकुचनमा परिरहेकाले उहीँ पूरानै सोच र धारणालाई रुपान्तरण गर्न आवश्यक रहेका औंल्याए । पद र जिम्मेवारीका लागि मात्रै अघि सर्ने परिपार्टीलाई हटाउँदै आफ्नो टोलसम्म सकारात्मक सन्देश प्रवाह गर्नमा महिला नेतृत्व चुक्न नहुने उनको भनाई छ ।

अखिल नेपाल महिला संघले लामो समयदेखि असमानतालाई हटाउन नेतृत्वदायी भूमिका निर्वाह गरेकाले पूर्णत विभेदको अन्त्य नभएकाले त्यसको अन्त्य गर्नमा संघले भूमिका खेल्नु पर्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् ।

‘विगतमा जसरी संघले अंशमा असमानता, आमाको नामबाट नागरिकता बन्नु पर्ने माग, लैंगिक समानताका सवालमा पैरवी गर्दै आयो । अझै पनि विभेद पूर्ण रुपमा अन्त्य भएकाले त्यसलाई किनारा लगाउनमा संघ लागि रहन आवश्यक रहेका छ,’ ढकालले भनिन् ।

अखिल नेपाल महिला संघ कर्णाली प्रदेश संयोजक सुमित्रा विसीको अध्यक्षतामा शुरु भएको बैठकले आवश्यक निर्णय गर्ने बताइएको छ । संघको जाजरकोट, सल्यान, रुकुमपश्चिम र जुम्लाको नयाँ नेतृत्व चयन गरिसकेकाले बाँकी ६ जिल्लाको अधिवेशन फागुन महिना भित्रमा सम्पन्न गर्न लागिएको छ ।

तपाईको प्रतिक्रिया