१२२ जनाको ज्यान गएको अछामकाे त्यो भिडन्त, २१ वर्षमा पनि बनेन मंगलसेन दरबार

तत्कालीन राज्य पक्ष र विद्रोही पक्ष नेकपा माओवादीबीच चलेको १० वर्षे युद्धको दौरानमा २०५८ फागुन ४ गते आजकै दिन तत्कालीन अछामका प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसहित १ सय २२ जनाले ज्यान गुमाएका थिए ।

सुर्खेत । जनयुद्ध’को सबैभन्दा ठूलो घटना मानिने अछामको मंगलसेन दरबार आक्रमणको आज बिहीबार २१ वर्ष पुगेको छ । तत्कालीन राज्य पक्ष र विद्रोही पक्ष नेकपा माओवादीबीच चलेको १० वर्षे युद्धको दौरानमा २०५८ फागुन ४ गते आजकै दिन तत्कालीन अछामका प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसहित १ सय २२ जनाले ज्यान गुमाएका थिए ।

सो विध्वङ्सकारी आक्रमणमा प्रजिअ खत्रीकी श्रीमती, राष्ट्रिय अनुसन्धान अधिकृत, तत्कालीन शाही नेपाली सेनाको मंगलसेन गुल्म ध्वस्त हुनुका साथै ५३ जना सेना, ५९ प्रहरी, दुई निजामती कर्मचारी र ८ सर्वसाधारणलगायत दर्जनौँ माओवादी लडाकुको ज्यान गएको थियो । यो घटना अछामीहरूका लागि अमिट छाप बनेर बसेको छ ।

अछाम जिल्लाकै इतिहास बोकेको मंगलसेन दरबार पनि याे आक्रमणमा ध्वस्त भयाे । साे दरबार झण्डै डेढ सय वर्षपहिले मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भई उनका छोरा दलबहादुर शाहको पालामा १९३५ सालमा निर्माण सम्पन्न भएको इतिहास छ ।

१८५७ अर्थात् बाइसे चौबीसे राज्यहरू एकीकरण भएर विशाल नेपाल हुनुपूर्व टीकाभुक शाह अछामका राजा थिए । गोर्खाबाट सुरु भएको नेपाल एकीकरणको अभियान १८५७–०५८ मा पश्चिम अछाम पुगेपछि राजा टीकाभुक शाह भागेर भारत गए । नेपाल एकीकरणको फौजले पहिलोपटक आंशिक कब्जा गर्‍यो तर, पूर्ण रूपमा कब्जा भने बानी गढी (पहिलेको दरबार) मा रिपिमर गुल्म बसेपछि भएको हो ।

नेपाल एकीकरणपश्चात् राजा टीकाभुक अछाम फर्किए । तत्कालीन श्री ५ सरकार र राणासँग सम्झौता भएपछि अछामले माना चामल (सामान्य मुद्दा मामलामा छलफल चलाउने अधिकार) पुनः प्राप्त गर्‍यो । उतिबेला (हालको दरबार) बान्नी गढीमा थियो । राजा टीकाभुक शाहले १९३५ मा मंगलसेनमा दरबार बनाउन थालेका थिए । यसलाई अछाम दरबार भनिए पनि यो दरबारको नाम भने मंगलसेन दरबार हो ।

यसमा प्रयोग भएका काठहरू पश्चिम सुर्खेतको डाँडादरास्थित कोलतडी भन्ने स्थानमा पाइने साल प्रजातिको काठ प्रयोग भएको छ । भारतको हैदरावादबाट आएका मिस्त्रीले स्थानीयस्तरमा पाइने माटोमा मासको पिठो मिसाई बनाइएको इँटा प्रयोग गरिएको छ भने यसको छानोमा प्रयोग भएको माटोको झिँगटी पनि यसरी नै बनाइएको थियो ।

सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजारमा उक्त दरबार किनेको इतिहास छ । २०१४ अघि पूर्वी अछामले दैलेख र पश्चिमी अछामले डोटीमा मालपोत बुझाउनुपर्ने व्यवस्था थियो । त्यस बेला तत्कालीन अछामको रिडिकोट बयलपाटामा जिल्ला सदरमुकाम कायम गरिए पनि पछि त्यहाँ भौतिक संरचना नहुँदा सदरमुकाम दरबार भएकै कारणले मंगलसेनमा सरेको जानकार बताउँछन् ।

तीन तला र ३० कोठा दरबारमा उतिबेला तत्कालीन जिल्ला प्रशासन कार्यालय, जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालत, जिल्ला शिक्षा, जिल्ला अस्पताललगायतका महत्त्वपूर्ण कार्यालय सञ्चालनमा आएका थिए तर, दरबार आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय अनुसन्धान र सरकारी आवास रहेका थिए ।

ऐतिहासिक धरोहरहरू राज्यका चिनारी मात्र नभई अमूल्य निधि र सम्पदा भए पनि द्वन्द्वको अवशेषमा थलिएको दरबार पुन: निर्माणमा सरकार चुक्दै आएको छ । माओवादी आक्रमणमा परेको यो दरबार पुनः ठडिनेमा न कुनै टुङ्गो छ, न घटनामा ज्यान गुमाएका र घाइतेहरूले न्याय नै पाएका छन् ।

दरबार पुनः निर्माणको काम २०६५ असार २४ गते सुरु भए पनि ठेकेदारले विभिन्न बहाना देखाएर निर्माणमा लापर्वाही गरिरहेको कांग्रेस अछामका सचिव बेदप्रकाश तिमल्सेना बताउँछन् । ‘२०६७ मै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो तर ठेक्का भएको १४ वर्ष बितिसक्दा पनि पुनः निर्माण हुन नसक्नु दु:खदायी कुरा हो,’ तिमल्सेना भन्छन्, ‘यो दरबार भत्किएको साल जन्मेकाहरूले विवाह गरेर बच्चाबच्ची जन्माइसके मैले आफ्नै आँखाले देखेको छु, ठेक्का छ, काम भइरहेको छ तर दरबार अहिलेसम्म बनेको छैन, न त ठेक्का नै तोडिन्छ ।’

राज्यले दरबारको पुनः निर्माणमा ध्यान नदिँदा ऐतिहासिक सम्पदा मासिने डर रहेको तिमल्सेनाको ठम्याइ छ । गणतन्त्रपछि यो घटनाको डिजाइन गर्नेहरू साँच्चिकै माथिल्लो ओहदामा पुगे तर, फर्केर हेरेनन् । मंगलसेन द्वन्द्वका यस्ता यावत् अवशेषहरू मेटिने पर्खाइमा बसिरहेकाे छन् ।

तपाईको प्रतिक्रिया