आफ्नै गरिमा र साख गुमाउँदै विद्यार्थी आन्दोलन

काठमाडाै‌ । विश्वमा परिवर्तनका वाहक मजदुर र विद्यार्थी हुन् । कैयौँ आन्दोनलमा निर्णायक भूमिका खेल्दै आएका छन् विद्यार्थीले । नेपालमा २००७ सालको आन्दोलनभन्दा पहिला पनि राजनीतिक जागरणमा प्रमुख भूमिका विद्यार्थीकै थियो ।

ऐतिहासिक पृष्ठभूमि

जागरण, दबाब र प्रतिपक्षीय आन्दोलनको पर्यायवाची थियो विद्यार्थी आन्दोलन । नेपालको राजनीतिक परिवर्तनमा अहम् भूमिका खेल्दै आएको विद्यार्थी आन्दोलन अहिले भने मुर्झाएको छ । नेपालको विद्यार्थी आन्दोलन निरंकुश राणाशासनका विरुद्ध संगठित भएका विद्यार्थीहरूले निर्माण गरेका थिए ।

त्यो समयमा जनताले बोल्न नपाउने, पढ्न नपाउने अवस्था थियो । राणा शासकहरूको बोली कानुन बन्ने चरम दमन र निरंकुशताका विरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहास छ । नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सर्वप्रथम १९९१ सालमा भारतको बनारसमा अध्यनरत नेपाली विद्यार्थीहरूले ‘नेपाली छात्र संघ’ गठन गरे ।

२००४ साल असार १ गते नेपालमा ‘जयतु संस्कृतम्’ नामको पहिलो संगठित विद्यार्थी आन्दोलनको सुरुवात भयो । यो संगठनको मुख्य उद्देश्य राणा शासनका विरुद्ध संगठित भएर आन्दोलन गर्नु थियो । मंसिर २२ गते संस्कृत छात्रवास काठमाडौंबाट राणा शासकहरूले ४३ जना विद्यार्थीहरू निष्कासन गरे ।

विद्यार्थीहरूले चरम दमनको प्रतिरोधका निम्ति संगठित विद्यार्थी आन्दोलनको महसुस गरे । त्यसपछि २००६ साल असार १७ गते भूमिगत रूपमा प्रचण्डराज सिंहको नेतृत्वमा ‘अखिल नेपाल विद्यार्थी फेडेरेसन’ गठन गरियो । नेपाली विद्यार्थी अन्दोलनको इतिहासमा यो नै पहिलो संगठन बन्यो ।

२००७ साल पुस २४ गते भारतको मध्यस्थतामा राजा, राणा र नेपाली कांग्रेसले त्रिपक्षीय दिल्ली सम्झौता गरे । उक्त दिल्ली सम्झौताको यो विद्यार्थी संगठनले विरोध गर्‍यो ।

२००८ साल कात्तिक २० गते आन्दोलनका क्रममा विश्व निकेतन हाई स्कुलमा अध्ययनरत १४ वर्षे विद्यार्थी चिनियाँकाजी श्रेष्ठको काठमाडाैंको भूगोलपार्कमा गोली हानी हत्या गरियो । त्यसबेला प्रधानमन्त्री मोहनशमशेर राणा र गृहमन्त्री बीपी कोइराला थिए ।

२०११ सालमा अनेविफेले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन गर्‍यो । उपत्यकामा क्रियाशील अन्तरकलेज विद्यार्थी युनियन र अनेविफेबीच २०१३ सालमा एकता भएर ‘नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन’ गठन गरियो ।

वि.सं. २०२१ साल वैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको सक्रियतामा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले सबै राष्ट्रघाती असमान सन्धिहरू खारेज गर्नुपर्ने, गोर्खा भर्ती केन्द्र पूर्णतः खारेज गर्नुपर्ने, स्ववियु खोल्न पाउनुपर्ने र बन्दी विद्यार्थीहरूको निःशर्त रिहाइ गर्नुपर्नेलगायतका मागहरू राखी सशक्त संघर्ष गर्ने निर्णय गर्‍यो ।

यसरी वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’पछि राजनीतिक दल र संघसंस्था खोल्न पाउने अधिकारमाथि प्रतिबन्ध लगाइयो । त्यसपछि विद्यार्थी संगठनहरू झन् सशक्त रूपमा राजनीतिक एजेन्डा बोकेर सक्रिय भए ।

२०३६ र २०४६ को आन्दोलनमा उभार ल्याउन विद्यार्थीले जुन भूमिका निर्वाह गरे, उपलब्धिका निम्ति त्यो नै निर्णायक बन्न पुग्यो ।

२०३६, २०४६ र २०६२/२०६३ का आन्दोलनमा मात्र होइन २०५२ देखिको जनयुद्धमा महत्त्वपूर्ण भूमिका थियो विद्यार्थी आन्दोलनको । सयौँ विद्यार्थीहरू शहीद भए । कैयौँ राज्यले बेपत्ता बनाए भने कैयौँ अपाङ्ग–घाइते छन् ।

राजनीतिक दलहरू प्रतिबन्धित हुँदा विद्यार्थी संगठनहरूले राजनीतिक दलहरूका मुद्दा नै जनतामा लैजाने र स्थापित गर्ने काम गरेका थिए । देशमा भएका राजनीतिक परिवर्तनको वाहक नै विद्यार्थी संगठन बनेका थिए । तर, पछिल्लो समयमा विद्यार्थी आन्दोलनले आफ्नै ओज, महत्त्व र विश्वास गुमाएको छ ।

राजनीतिक दल प्रतिबन्धित भएको समयमा विद्यार्थी संगठनले सत्तालाई हाँक दिन्थ्यो । जनताका हक अधिकार प्राप्तिको लडाइँमा नेतृत्व गर्थ्यो । राणा शासनको अन्त्यका लागि सक्रिय भएको विद्यार्थी आन्दोलन पञ्चायती व्यवस्थामा झन् निर्णायक शक्ति बन्यो । गणतन्त्रपछि विद्यार्थी आन्दोलन गुमनाम मात्र होइन, बदनाम पनि बनेको छ ।

ऊर्जाशील शक्ति यतिखेर शासनसत्ताको प्रतिपक्षमा हुने आन्दोलनको वाहक अहिले लाचार भ्रातृसङ्गठनमा रूपान्तरण भएका छन् । यसले आफ्नो ओज, गरिमा र साख गुमाउँदै गएको अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने बताउँछन् ।

विद्यार्थी आन्दोलनको वर्तमान अवस्था

आजको विद्यार्थी राजनीति र सङ्गठनले आफ्नो दिशा पहिचान गर्न सकेको छैन । विद्यार्थी आन्दोलन दिशाहीन बनेको छ । पछिल्लो समयमा विद्यार्थीका, शैक्षिक मुद्दामा भन्दा पनि सुर न तालमा आन्दोलन चलिरहेको छ । आन्दोलन केका लागि भयो ? किन भयो भन्ने नै थाहा नहुने अवस्थामा आएको न्यौपाने बताउँछन् ।

न्यौपाने भन्छन्, ‘सडक सत्तामा जान्छ र सत्ताको भाषा बोल्छ भने आन्दोलन कमजोर हुन्छ । पछिल्लो समय निजी शैक्षिक संस्थाहरू खुलेपछि त्यसैको पक्षमा नेताहरू लाग्न थाले । यसले गर्दा कैयौँ आन्दोलनहरू सार्वजनिक सरोकारका विषय नै हुन छोडे । आन्दोलन हुने, लेनदेन गर्ने, मिलाउने गर्न थाले । आन्दोलन सार्वजनिक सरोकारको विषय हो, हारे पनि जिते पनि । तर, आन्दोलन किन भयो केका लागि भयो ? किन सकिएन भनेर सार्वजनिक विषय बन्नुपर्छ । तर, यहाँ लेनदेनको कुरा नमिल्दा ताला लगाउने, कुरा मिलेपछि ताला खोल्ने भइरहेको छ । यसो हुन थालेपछि आन्दोलन कमजोर हुन थाल्यो ।’

विद्यार्थी आन्दोलनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । हिजोको विद्यार्थी आन्दोलन राजनीतिक दलसँग परिवर्तनको सहयात्री बनेको थियो । अहिले विद्यार्थी आन्दोलनले विगतको त्यो गरिमा, ओज र इतिहासलाई जोगाउनु त कता हो कता, उल्टै बदनाम बनेको छ । पछिल्लो समय यसको औचित्यमाथि नै प्रश्न चिह्न उठ्न थालेको छ । संगठनहरू नै विघटन गर्नुपर्ने आवाज उठ्न थालेको छ । तर, यसमा सुधार गर्नुपर्ने र अहिलेको समय परिस्थितिअनुसार आन्दोलनलाई अगाडि लैजानुपर्ने अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरे बताउँछन् ।

‘विद्यार्थी आन्दोलन सकियो भन्ने कुरा सही होइन । विद्यार्थी आन्दोलनलाई आजको राष्ट्रिय एजेन्डा र बहसको विषयमा कसरी समावेश गर्ने र नेपाली समाजलाई अझै उन्नत बनाउन विद्यार्थी संगठनको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने कुरा विद्यार्थीहरूले मनन गर्नुपर्ने बेला भएको छ । उनीहरूले अब आफूलाई एकपटक नयाँ तरिकाले लैजानुपर्छ ।’

पञ्चायती व्यवस्थामा दलहरू प्रतिबन्धित थिए । कम्युनिस्टको नाम उच्चारण गर्दा पनि अपराध मानिन्थ्यो । त्यो समयमा विद्यार्थी संगठनले पार्टीका कामहरू गरेका थिए । निरंकुश पञ्चायतीकालमा स्ववियुको चुनाव गराए । राजनीतिक परिवर्तनको नेतृत्व, राष्ट्रियताको आन्दोलन विद्यार्थी संगठनले गरे । पञ्चायतको अन्त्यका लागि एक दलले मात्र सम्भव थिएन । दलहरूलाई एक ठाउँमा ल्याउन पनि विद्यार्थी संगठनको भूमिका भएको गैरे बताउँछन् ।

उनले भने, ‘राजनीतिक दलहरू भूमिगत हुँदा विद्यार्थी संगठनको जुन भूमिका थियो, त्यो अहिले कमजोर बनेको छ । आज विद्यार्थी आन्दोलनमाथि प्रश्न उठेको छ । विद्यार्थी आन्दोलन थप आवश्यक छ । राष्ट्रियताको हिसाबले, शैक्षिक आन्दोलन, राष्ट्रिय अर्थतन्त्रको विकासका लागि, उद्यमशीलताको हिसाबले अझ विद्यार्थी आन्दोलन आवश्यक छ ।

अब त्यस तहमा संगठित गर्ने, आन्दोलन परिचालन गर्नुपर्ने आवश्यकता छ । अब पुन: आफ्नो सामर्थ्यमा उभिनुपर्छ । पार्टीले भने काम गर्ने, नत्र नगर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । विकृतिहरू हटाउनुपर्छ । गैरविद्यार्थी नेता हुने प्रावधान हटाइनुपर्छ । काम नगर्ने, पद ओगटेर बस्ने, आर्थिक अपारदर्शिताको अन्त्य हुनुपर्छ । संगठनका नेताहरूको आम्दानीको स्रोत के हो ? विद्यार्थी नेताहरूको जीवनमा आएको सम्पन्नताको छानबिन हुनुपर्छ ।’

स्ववियु अग्रगामी परिवर्तनको वाहक, विद्यार्थी हकहितका लागि लड्ने जुझारु संस्था हो । मुलुकको आमूल परिवर्तनका लागि र विद्यार्थीको हकहितका लागि लड्ने विद्यार्थी आन्दोलनको औचित्य आज पनि उत्तिकै रहेको अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराई बताउँछन् ।

उनले भने, ‘विद्यार्थी संगठनको स्थापना हुँदा राणा शासन, त्यसपछि पञ्चायती व्यवस्था थियो । अहिले देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको छ । अब विद्यार्थी आन्दोलन फरक तरिकाले अगाडि बढाउनुपर्छ । शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ । राजनीतिक विषय वस्तुहरू पनि सही तरिकाले उठाउनुपर्छ । अहिले राजनीतिक आन्दोलनभन्दा पनि शैक्षिक आन्दोलनको महत्त्व बढेको छ । शैक्षिक पुनर्संरचना र शैक्षिक क्षेत्रमा परिवर्तन विद्यार्थी आन्दोनको प्रमुख एजेन्डा हुनुपर्छ । यसका लागि अझै मिहिनेत गर्नुपर्छ ।’

औचित्यहीन बन्दै गएको विद्यार्थी आन्दोलनलाई नयाँ ढङ्गबाट उठाउनका लागि त्यही किसिमको नेतृत्व चाहिन्छ । यहाँ त शैक्षिक मुद्दाभन्दा पनि शैक्षक संस्थाबाट आर्थिक लेनदेन गर्ने गरेका छन् । जसमा पहिलो, नगद लिने । दोस्रो, त्यही शैक्षिक संस्थामा शेयर लिने गरे । जसका कारण विद्यार्थी आन्दोलन बदनाम र कमजोर भएको न्यौपाने बताउँछन् ।

उनी भन्छन्, ‘अहिले विद्यार्थी आन्दोलनमा आदर्श नै बाँचेको छैन । दुःख गर्न चाहँदैनन् । पढ्नेलेख्ने काम बन्द छ । नयाँ मुद्दा खोजेर विद्यार्थीमाझ जाने चलन पूर्ण रूपमा हरायो । गुटको नेता बनेर कमिसन खाने खेलोमा लागे । यो आन्दोलनलाई पुन: उठाउन अहिलेको विरासतले सक्दैन । विरासत नै कमजोर बनेको अवस्था छ । राज्यको शक्ति प्रयोग गरेर कमिसन खाने कुप्रथा बन्यो । निजी शैक्षिक संस्थाका फाइल बोकेर अनुमतिका लागि धाउने र कमिसन खाने गर्न थाले ।’

अबको बाटो

नयाँ ढङ्गले विद्यार्थी आन्दोलनलाई परिचालित गर्न विद्यार्थीमाझ स्थापित गर्न नयाँ तरिकाले सोच्नुपर्ने पूर्वविद्यार्थी नेताहरू बताउँछन् । अहिले अध्ययनको पाटो पूर्ण रूपमा बन्द भएको छ । संगठन मुद्दामा भन्दा पनि कमिसनमा चल्न थालेको न्यौपानेको आरोप छ ।

समयसापेक्ष शैक्षिक पाठ्यक्रम बनाउने, विचारका लागि अध्ययन गर्ने, संगठनलाई नेताको खल्तीको भन्दा पनि शैक्षिक जागरण, अहिलेको आवश्यकता पूरा गर्ने खालको बनाउनुपर्ने न्यौपानेको तर्क छ । विद्यार्थी आन्दोलनलाई शैक्षिक आन्दोलनका पक्षमा, राष्ट्रियताका पक्षमा, समाजको जनजीविकाको पक्षमा अगाडि बढाउनु जरुरी छ ।

संगठन उद्देश्यका लागि परिचालन गर्ने हो, त्यसका लागि सङ्गठित हुने कुरा प्रमुख भएको गैरे बताउँछन् ।

विद्यार्थी आन्दोलनमा भएका कमिकमजोरीको बेलैमा समीक्षा गरी थप ओज र गरिमालाई घट्न नदिनु अहिलेको प्रमुख आवश्यता भएको न्यौपाने बताउँछन् । उनले भने, ‘विद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेकाहरूले यसमा आएका समस्याहरूको गम्भीर रूपमा समीक्षा गर्नुपर्छ । अबको विद्यार्थी आन्दोलन कसरी लैजाने भनेर समीक्षा नगरेर अगाडि बढ्न सकिँदैन । गुमेको साख फर्काउन ठूलो मिहिनेत चाहिन्छ । त्यसका लागि प्रमुख नेतृत्व नै लाग्नुपर्छ ।’

कम्युनिस्ट पार्टीले सर्वाधिक महत्त्व दिने विद्यार्थी संगठन अहिले नेताको खल्तीका जस्ता भए । विद्यार्थी नेताहरू पनि संगठन बनाउनुभन्दा नेता र सत्ताको चाकडीमा लाग्न थालेको आरोप पनि लाग्न थालेको छ । अहिलेका विद्यार्थी संगठन राष्ट्रिय आवश्यकता त बन्न सकेनन्, पार्टीको आवश्यकता पनि बन्न सकेका छैनन् । व्यक्तिगत स्वार्थका लागि भने विद्यार्थी संगठन परिचालन भएको आरोप लाग्ने गरेको छ । (shilapatra.com) बाट साभार ।

तपाईको प्रतिक्रिया