सेवा विस्तार गर्दै कर्णाली स्वास्थ्य प्रतिष्ठान

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नो स्वास्थ्य सेवा विस्तारको काम थालेको छ। यसै क्रममा कर्णाली राजमार्गको दैलेखस्थित राकम कर्णालीमा एक सय शय्याको अस्पताल निर्माणको तयारी थालिएको हाे ।

कर्णाली राजमार्गअन्तर्गत सो क्षेत्र कर्णालीको दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु र सुदूरपश्चिमको अछामको आवतजावत हुने र जनसङ्ख्याको हिसाबले केन्द्रबिन्दु भएकाले प्रतिष्ठानले सो स्थानमा बहुआयामिक स्वास्थ्य सेवा रणनीतिक योजना अघि सारेको छ ।

अस्पतालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र आठविस नगरपालिकाबीच २०७६ सालमा सम्झौता भएअनुसार स्थानीयले आठबिस नगरपालिका-३. जाक्सीमा ४३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि कर्णाली प्रदेश सरकार कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल नगरपालिका र स्थानीय तहका प्रतिनिधिले जग्गाको अवलोकन गरेका छन् ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह प्रतिनिधि सभा सदस्य सोबिता गौतम, प्रदेश सभा सदस्य गमता विक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डा. मगल रावल, रजिस्टार सुपेन्द्र महत र आठबिस नगरपालिकाका पदाधिकारीहरूले अस्पताल निर्माणस्थलको अवलोकन गरेका छन ।

सो क्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले अस्पताल निर्माणका लागि छिटोभन्दा छिटो बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए । उनले विस्तृत परियोजना प्रतिवेदनअनुसार बजेट विनियोजन गर्न प्रदेश सरकार तयार भएको बताए । उनले एक सय शय्याको अस्पतालले कर्णालीका मानिसको जीवन बचाउन महत्त्वपूर्ण कडी हुने बताए ।

प्रतिनिधि सभा सदस्य सोबिता गौतमले दीर्घकालीन महत्त्वको यस विषयलाई प्राथमिकता दिनुपर्ने भन्दै आफूले पनि सक्दो सहयोग गर्ने वचन दिए । स्थानीय बासिन्दा तथा जनप्रतिनिधिले छिटोभन्दा छिटो संरचना निर्माण गरी सेवा प्रवाह गर्न आग्रह गरेका छन ।

आठविस नगरपालिकाका प्रमुख तर्कबहादुर बगड़वालले चाँडै नै बजेटको व्यवस्था गर्न सङ्घीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरे । उपप्रमुख कल्पना थापाले विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा वर्षमा १७ जना गर्भवती महिलालाई हेलिकोप्टरमार्फत सुरक्षित प्रसूतिका लागि उद्धार गरिएको जानकारी दिइन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मगल रावलले राकममा सरकारले बजेट व्यवस्थापन गर्ने वित्तिकै कम्तीमा दुई वर्षमा एक सय बेडको अस्पताल निर्माण थालिने बताए ।

तपाईको प्रतिक्रिया