पर्यटकीय थलो पहिल्याउन पर्यटन प्रवर्द्धकसँग छलफल गरिँदै

काठमाण्डाैं । ओझेलमा रहेका पयर्पटकीय थलो पहिल्याउन वि विल राईज फाउण्डेसनले पर्यटन प्रवर्द्धक (ट्राभल भल्गर) हरु सँग अन्तरक्रिया गर्ने भएको छ । पछिल्लोसमय देशका विभिन्न कुना कन्दरा भ्रमण गरी ट्राभल भल्ग बनाउने आन्तरिक पर्यटकहरुको संख्या बढिरहेको हाे ।

यस्ता पर्यटकहरुबाटै ओझेलमा परेका पर्यटकीय थलोहरु चिन्न चिनाउन सकिने भएकाले छलफल कार्यक्रमको आयोजना गरिएको फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले बताए । अन्तरक्रिया कार्यक्रम आगामी आइतबार दिउँसो एक बजे गोगंबुस्थित फाउण्डेसनकै कार्यालयमा हुनेछ । घुमफिरमा र प्रवद्र्धनात्मक भिडियो बनाउन रुचि राख्ने जोकोही कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

फाउण्डेसनले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कला संस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ ।

फाउण्डेसनले सन् २०२३ को प्रतियोगितामा सहभागिता जनाउन आगामी वर्ष वैशाख २१ गतेसम्म भिडियो पठाउन आह्वान गरेको छ । भिडियो अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरूमध्येबाट निर्णायकले छनौट गरेका उत्कृष्ट दशलाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ । विजेता प्रतियोगीहरूको घोषणा १३ जेष्ठ २०८० का दिन काठमाडौँमा हुनेछ । सन् २०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा देशभरबाट उत्साहजनक १ सय ३२ वृत्तचित्र सहभागी थिए ।

प्रतियोगितामा सहभागिता जनाउन चाहनेले फाउण्डेसनको वेबसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी मार्फत विस्तृत जानकारी लिन सक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउन कुनै किसिमको शुल्क लाग्ने छैन ।

तपाईको प्रतिक्रिया