अस्थिर राजनीतिका कारण सामाजिक सुरक्षा योजना पालिकासम्म कार्यान्वयनमा सकस : जिफन्ट

सुर्खेत । देशमा भइरहने राजनीतिक अस्थिरताका कारण श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्थानीय तहसम्म कार्यान्वयन हुन नसकेको सहभागीहरुले बताएका छन् । विहिवार जिफन्ट कर्णाली प्रदेशले मर्यादित कामको लागि अभियान अन्तरगत चिङ्गाड गाउँ कार्यपालिकासँग सञ्चालन गरेको अभिमूखीकरण कार्यक्रमका सहभागीहरुले बताएका हुन् ।

 

अभियानका क्रममा जिफन्ट प्रदेश अध्यक्ष तेज प्रकाश जिसीले पालिका श्रमिक पञ्जीकरणको आवश्यकता र कानुनी आधार, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको योजना, श्रम डेस्क सञ्चालन कार्यविधि र श्रमिक सूचीकरण व्यवस्थाको कानुनी पक्षका विषयमा प्रष्ट्याए ।

उठान गरिएका विषयहरुमा प्रतिक्रिया दिंदै प्रमुख प्रशासकीय अधिकृत जनक बहादुर हमालले कानुनी तहबाट श्रमिकहरुको पक्षमा सकारात्मक दृष्टिकोण राखिएता पनि व्यवहारिक रुपले नगर्ने संस्कारका कारण पालिका तहमा मर्यादित कामको लागि कार्यविधि निर्माण गरी कार्यान्वयन गर्नु सकारात्मक पक्ष भएको औंल्याए । हमालले शासकबाट पालिकामा दिइने अनावश्यक दवावका कारण अपेक्षित उपलब्धि हासिल गर्न कठिनाई रहेको गुनासो समेत गरे ।

पालिका अध्यक्ष बोध बिक्रम जिसीले पालिकामा श्रम सम्बन्धी कार्यविधि निर्माण, सामाजिक सुरक्षा कोषमा सूचिकृत र वडा तहबाट श्रमिक सूचीकरण प्रक्रिया योजनाबद्ध रुपमा अगाडि सारी लैजाने प्रतिवद्धता जनाए ।

पालिका उपाध्यक्ष मीना कुमारी रोकायले असल श्रम अभ्यासको लागि सबै तहबाट सकारात्मक दृष्टिकोण राखी अगाडी बढे अवश्य पनि स्थानीय तहमा रोजगारी सिर्जना भई विदेशिने श्रम जनशक्ति संचित हुने प्रतिक्रिया दिइन ।

सहभागी कार्यपालिका सदस्यहरुले वडा तहबाट बेरोजगार, वैदेशिक रोजगारीमा गएका, निर्माण, कृषि क्षेत्रका श्रमिकहरुको अभिलेखीकरण प्रणाली विकास गर्ने बताउँदै मर्यादित कामको लागि अभियानको सफलताको शुभकाना दिएका छन ।

स्थानीय भैरव मा.वि.का प्र.अ. चौहानसिंह रानाले दैनिक रुपमा विदेशिने युवाहरुको श्रम र सीपलाई स्थानीय तहमा रोजगारीको सिर्जना गर्न सुझाव दिए । सो कार्यक्रममा तालिमेलाई तलब अभियानका विषयमा जिफन्टका युवा नेता रमेश विष्टले सहभागीहरुलाई जानकारी गराए ।

सो अवसरमा जिफन्टले सात बुँदे कार्यान्वयनका लागि ध्यानाकर्षण पत्र पालिकाका अध्यक्षलाई बुझाएको छ भने प्रमुख प्रशासकीय अधिकृत हमाललाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत र कोषमा समावेश योजनाहरु समेटिएको अभियान सामग्री हस्तान्तरण समेत गरेको छ ।

तपाईको प्रतिक्रिया