सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा पहिलो पटक स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन हुँदैछ। जसका लागि आगामी चैत ३ गते विश्वविद्यालयका सबै आंगिक क्याम्पसहरुमा स्ववियू निर्वाचन हुँदैछ।
कुनै बेला विद्यार्थीका संगठनहरु यति सशक्त थिए जोसँग निर्दलिय पञ्च्याती व्यवस्था नै थर्कमान हुन्थ्यो। विद्यार्थीहरु महंगी, कालोबजारीका विरुद्ध सडकमा आउने बित्तिकै सरकार पछि हट्थ्यो। तर, अहिले तिनै विद्यार्थी दलिय राजनीतिका कारण सत्तावालाले बचाउ गर्ने र प्रतिपक्षले विरोध मात्रै गर्ने प्रवृत्तिमा रुपान्तरण भएको छ। अझ भनौं विद्यार्थी राजनीति आजभोली नेता अनुकुल हुन थालेको छ।
पञ्चायतमा राजनीतिक दलहरू विद्यार्थी राजनीतिमार्फत आफ्नो धारणा ल्याउने गर्थे।यसैको जगमा प्रजातान्त्रिक आवाज बलियो बनाउने ध्येय पार्टीको हुन्थ्यो। पछि विद्यार्थी राजनीतिबाट अत्तालिएको पञ्चायती शासकले २०३० सालमा ‘संघसंस्था नियन्त्रण ऐन’ ल्याएर विसंं २०३० सालदेखि २०३५ सम्म स्ववियु चुनाव हुनबाट नै रोक्यो।
तर, त्यो प्रतिबन्ध २०३६ सालको विद्यार्थी आन्दोलनले भत्काइदियो। पञ्चायती शासन अन्त्य गराउन विद्यार्थी आन्दोलनको भूमिका महत्त्वपूर्ण रह्यो। त्यसपछिसमेत २०४६ सालमा भएको जनआन्दोलनको आधार देशभर स्ववियु र विद्यार्थी संगठनहरूले निर्माण गरेका थिए । दलहरू राजाविरुद्ध बोल्न नसक्ने अवस्थामा समेत डराइरहेको समयमा विद्यार्थी संगठनहरूले ‘राजतन्त्र मुर्दावाद’को नारा पहिलो पटक लगाएका थिए। त्यही नाराले अहिले नेपाल संघीय गणतन्त्रात्मक देश बनेको छ।
इतिहासको कालखण्डमा महत्वपूर्ण भूमिका खेलेको विद्यार्थी राजनीति अहिले भने विस्तारै दलियकरण हुँदै गएको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भनेको विद्यार्थीहरुले नेतृत्व विकास र व्यक्तित्व विकासका लागि स्वतन्त्र रुपमा गरिने स्वच्छ प्रतिस्पर्धा हुनु पर्ने हो तर, प्रमुख दलहरुले नै विद्यार्थी राजनीतिलाई दलिय राजनीतितर्फ उन्मुख बनाउदै लगेका छन् । जसको उदाहरण एमयूमा हुन लागेको चुनावलाई लिन सकिन्छ।
स्वतन्त्र हुनु पर्ने निर्वाचनमा जसरी पनि जितिनु पर्छ भन्ने मनसायले गठवन्धन बनाउनु पर्ने अवस्था सिर्जना भएको छ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी निकट अखिल क्रान्तिकारीबीच गठवन्धन बनेको छ भने नेकपा एमाले निकट अनेरास्ववियूले एक्लै चुनाव लड्दै छन्।
अन्य दलका विद्यार्थी संगठनले पनि चुनावी प्रतिस्पर्धा रोजेका छन्। यिनै प्रमुख दलका भातृ संगठनसँग आफूलाई सामाजिक अभियान्ताका रुपमा स्थापित गराएका दैलेखका मेहन्द्रकुमार थापाले पनि स्ववियू सभापतिका लागि स्वतन्त्र उम्मेदवारी दिएर चुनौती दिएका छन्। थापा मानवसेवा आश्रममा युवा परिवारको संयोजक भएर बेसहारा सडक मानवहरुको सेवा गर्दै आएका छन्। थापाले प्रदेश अस्पताल र स्वास्थ्य सेवा निर्देशनालयमा लामो सयम स्वास्थ्यकर्मीको रुपमा कामसमेत गरेका छन्।
स्वतन्त्र विद्यार्थी यूनियनलाई गैरराजनैतिक संस्थाका रूपमा स्वतन्त्र विद्यार्थी संगठनको रुपमा विकास गरी शैक्षिक क्षेत्रको सुधारको मुल नारा लिएर स्वतन्त्र उम्मेदवारी दिएका उनै थापासँग गरिएको कुराकानीको सम्पादित अंश :
तपाईको उम्मेदवारी किन ?
२०६७ सालबाट मध्यपश्चिम विश्वविद्यालयको जन्म भयो। यस विश्वविद्यालयलाई सुर्खेतमा स्थापना गर्न यस क्षेत्रका बौद्धिक व्यक्तित्वहरू र सामाजिक अभियान्ताको दान सहयोगबाट कर्णाली प्रदेशको एकमात्र मध्यपश्चिम विश्वविद्यालय बनेको तपाई हामी सबैलाई थाहा छ।
कर्णाली प्रदेशका १० जिल्लाका विद्यार्थीहरुको शैक्षिक हबको विकास गरी नेपालकै प्रतिष्ठित विश्वविद्यालयको रुपमा विकास गराउनमा पैरवी गर्ने मेरो सपना हो। त्यसैमा पनि एक सामाजिक अभियान्ता भएको नाताले पनि मलाई कुनै लाभको पद चाहिएको होइन।
मैले यस विश्वद्यिालयमा अध्ययन गर्दै गर्दा स्थापनाकालदेखि नै राजनीतिले जडो गाडेको छ। जसले शैक्षिक गुणस्तर खस्कदो छ, व्यवस्थापन तथा सञ्चालनमा नीतिगत असर परेको छ भने, शैक्षिक हव हुनुपर्ने ठाउँ राजनीति हुने थलोको रुपमा परिणत हुँदै गएको मैले देखेको छु भोगेको छु । यही तितो सत्यलाई आत्मसाथ गर्दै अब हाम्रो गौरवको विश्वविद्यालयमा राजनीति हुनु हुँदैन।
राजनीतिकै कारण शिक्षाको गुणस्तर विग्रनु हुँदैन। प्रविधियूक्त शिक्षाबाट कोही पनि वञ्चित हुनु हुँदैन भन्ने ध्येयलाई स्थापित गर्नु नै मेरो उम्मेदवारी हो।
शैक्षिक संस्थालाई बाह्य राजनितीक दवावबाट मुक्त बनाउदै नेपालभरबाट उच्च शिक्षाको लागि कर्णाली प्रदेश आउने विद्यार्थी पाहुनाहरूलाई सहज रुपमा पठन पाठन हुने वातावरण तयार गर्नु र विश्वविद्यालयको सम्पूर्ण गतिविधिलाई पारदर्शी एवं शान्त र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि नीतिगत सुधारमा जोड दिई स्वतन्त्र विद्यार्थी यूनियनको नामलाई स्वतन्त्र राख्ने मेरो अभियानलाई सबैले साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु।
चुनाव जित्छु भन्ने आधार के छ ?
हेर्नुस म कुनै राजनीतिक दलको कार्यकर्ता भन्दा नि पहिलो त म यस विश्वविद्यालयको विद्यार्थी हुँ। दोस्रो सामाजिक अभियान्ता । मैले मेरा सामाजिक कामहरुमा धेरै युवा विद्यार्थी साथीहरु जो राजनीति र सामाजिक न्यायको सिद्धान्तलाई नजिकबाट हेर्नु भएको छ, बुझ्नु भएको छ, त्यस्ता असंख्य साथीहरुसँग म जोडिएर काम गरेको छु।
सांगठनिक हिसावले म कमजोर होला तर ममा एउटा क्षमता चै पक्कै छ। त्यो साथीहरुले बुझ्नु हुन्छ । फेरी यूग परिवर्तनका लागि स्पष्ट भिजनसहितका स्वतन्त्र मान्छेहरुले मात्रै परिवर्तन गर्न सक्छन् भन्ने मान्यता पनि युवा पिढीमा स्थापित हुँदै गएको छ। जसले मलाई चुनाव जित्न सहज छ जस्तो मलाई लाग्छ।
तपाई किन स्ववियू सभापति हुने ?
विशेष गरी मेरो पहिलो प्राथमिकता भनेको विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गराई नीतिगत व्यवस्थामा सुधार गर्नु हो। त्यसपछि शान्त एवम् भयरहित वातावरणमा प्रविधियूक्त गुणस्तरीय शिक्षामा जोड दिनु हो। मैले अगाडि सारेका प्रतिवद्धताहरु विद्यार्थी मैत्री छन्, छात्रामैत्री छन्, प्राध्यापकमैत्री मात्रै नभई सिंगो विश्वविद्यालयमैत्री छन्।
साना साना कुराको सुधार गरेमात्रै हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौं भन्ने मेरो मान्यता हो। मेरा ३२ बुँदे प्रतिवद्धता पत्र यस प्रकार छन्।
१. स्वतन्त्र विद्यार्थी यूनियनलाई गैरराजनीतिक संस्थाका रुपमा स्वतन्त्र विद्यार्थी संगठनको रुपमा विकास गर्ने।
२. शैक्षिक क्षेत्रलाई विकास गर्न प्राविधक तथा अप्राविधक शिक्षालाई विकास गर्ने।
३. विद्यार्थीहरूको स्वास्थलाई ध्यानाकर्षण गर्दै छात्राहरूलाई निःशुल्क सेनेटरी प्याडको व्यवस्था सहित प्राथमिक उपचारको प्रत्येक विभागमा व्यवस्थापन गर्ने।
४. स्वच्छ पिउने पानी र उचित सरसफाई युक्त र अपांग मैत्री शौचालयको उचित व्यवस्थापन मिलाउन विश्वविद्यालय प्रशासनलाई ध्यानाकर्षण गराउने।
५. मल्टिमिडियाको प्रयोगबाट गुणस्तरिय शिक्षाको कक्षा व्यवस्थापन गर्न विश्वविद्यालयलाई ध्यानाकर्षण गराउने।
६. विश्वविद्यालयमा भइरहेका प्रशासनिक काम कार्यलाई पारदर्शि राख्न सुचनाको हकलाई व्यवस्थापन गर्न विश्वविद्यालयलाई ध्यानाकर्षण गराउने।
७. प्राविधिक विषय (इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, हाइड्रो इन्जिनियरिङ) का विद्यार्थीहरूलाई सुरक्षासहितको आवासको व्यवस्थापन गर्न विश्वविद्यालयलाई ध्यानाकर्षण गराउने।
८. सरकारी अनुदानबाट संचालित विश्वविद्यालय भएकोले शुल्क अनुकुलता र २०% छात्रवृद्धि प्रतिस्पर्धावाट छनोट गरी वितरण गर्ने।
९. लाइब्रेरी तथा पाठ्यक्रम अनुसारका पुस्तकालयको व्यवस्थापन गर्न ध्यानाकर्षण गराउने।
१०. शैक्षिक भ्रमण, आन्तरिक मनोरन्जन एवं क्षमता विकासका लागि विभिन्न क्रियाकलापहरू विश्वविद्यालयको कार्यतालिकामा समावेश गरी कार्यान्वयन गराउन लगाउने,
११. इ–लाइवेरीको प्रत्येक विभागमा व्यवस्थापन गर्न पहल गर्ने।
१२. विश्वविद्यालयको शैक्षिक कार्यतालिकालाई उचित समयमा पालना गर्न विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराउने।
१३. विद्यार्थीको सेवाको लागि विद्यार्थी माझ गई समस्या समाधान गर्न तथा विद्यार्थीको हक हितका लागि निरन्तर आवाज उठाउने र समस्याको समाधान खोज्न लागि पर्ने।
१४. नवनिर्मित एवम निर्माणाधिन भौतिक सरनाहरूलाई अपाङ्ग मैत्री बनाउने कुरामा जोड दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने।
१५. मध्यपश्चिम विश्वविद्यालयलाई अनुसन्धान गर्न लगाई अध्ययन अनुसन्धान कार्यमा विद्यार्थीहरूलाई संलग्न गराउने।
१६. विद्यार्थीहरूको रुची र क्षमता अनुसारको खेल मैदान निर्माण गरी नियमित रूपमा खेलकुद गतिविधिहरू सञ्चालन गर्ने।
१७. स्वतन्त्र विद्यार्थी युनीयनको वार्षिक कार्यतालिका सार्वजनीक गरि सो बमोजिम गतिविधि सञ्चालन गर्ने।
१८. विश्वविद्यालयका पदाधिकारीहरूमा राजनैतिक भागबण्डाको अन्त्यका लागि निरन्तर पहल गर्ने।
१९.प्रत्येक संकाय तथा संस्था एवम विभाग अध्ययनरत छात्र छात्राहरूको लागि अन्तर विश्वविद्यालय भ्हअजबलनभ कार्यक्रम र छात्रवृद्धिबाट अध्ययन गर्ने व्यवस्था मिलाउने।
२०. कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी अध्ययन अध्यापनका लागि बिपिएच, एमपिएच, एमबिबिएस, बिएस्सी नर्सिङ्ग, एमएस्सी नर्सिङ्ग, बिडिएस जस्ता प्राविधिक विषयहरू सञ्चालन गर्न आवाज उठाई सम्बन्धित निकायसँग समन्वय गर्ने।
२१. कृषि विषयलाई मध्यनजर गर्दै कमाउदै पढ्दै भन्ने अभियानलाई सम्बधित निकाय पहल कदमी गर्ने।
२२. कम्प्यूटर ल्याबको उचित व्यवस्थापन।
२३. साइन्स ल्यावलाई स्तरीय बनाई उच्चस्तरीय प्रयोगशालाको केन्द्र बनाउने।
२४. प्रत्येक विभागमा विद्यार्थी सुझाव पेटीका राखी, उपयुक्त सुझावहरूको सुनुवाई गर्न पहल गने।
२५. विश्वविद्यालयमा मानवता कायम गर्ने अभियानलाई अगाडी बढाई शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने।
२६.गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको उचित व्यवस्था गर्न पहल गर्ने।
२७.विश्वविद्यालयलाई प्राप्त अनुदान र आम्दानी उपलब्धि स्रोत साधन र त्यसको उपयोगीता बारे निरन्तर खबरदारी गर्ने।
२८.विश्वविद्यालय प्रशासनलाई विद्यार्थी मैत्री बनाउन भुमिका खेल्ने।
२९.विश्वविद्यालय अध्ययनलाई व्यवहारीक र जिवन निर्वाहमुखी बनाई विषयगत ज्ञानसिप दक्षतासँगै मानवता नैतिकता सदाचारीता बनाउन जोड दिने।
३०.इमानदारिता देशभक्त सार्वजनिक हित र निस्वार्थमा काम गर्ने सोच र तत्परता भएका दक्षजनशक्ति उत्पादन गर्ने।
३१.योग्यता दक्षता रुची र क्षमताका आधारमा प्रतिस्प्रर्धावाट प्रध्यापकहरूको नियुक्तिको वातावरण र सुविधायुक्त कक्षाकोठा निर्माण गरी गुणस्तरीय अध्ययन अध्यापनलाई सुनिश्चिता गर्ने।
३२.विद्यार्थी राजनितिक सुदृढिकरणमार्फत समय राजनितिक संस्कार प्रविधि र प्रणालीमा सुधारको प्रयास गर्ने।
नेपालीरैबार । २०७९ फाल्गुन २८, आईतवार