सुर्खेत । कर्णालीमा रहेका पर्यटकीयस्थलमध्य बुलबुले ताल पनि प्रमुख पर्यटकीय गन्तव्य हो । जमिनमूनीबाट पानी बुलबुल गरेर निरन्तर आइरहेपछि यो तालको महत्व बेग्लै छ । बर्सेनी सयौं आन्तरिक र बाह्य नागरिकहरुसँगै विदेशी पर्यटकहरु तालको दृष्यावलकन गर्न वीरेन्द्रनगर आउने गर्दछन् । तर बुलबुलेको मुख्य धाराहरु रहेको ठाउँदेखि करिव एकसय मिटरको दुरीमा छ ताल क्षेत्र ।
धारासम्म पुग्दा र त्यसभन्दा तल रहेको तालसम्मको सौन्दर्यतामा भने आकाशपातल फरक छ । ताल क्षेत्रमा यसअघि नै डुंगा चलाउने गरी विस्तार गरिएको हो । तर निर्माण काम सम्पन्न भएपनि तालमा पानी नअड्डीएर लिकेज (चुहावट) हुँदा प्रदेश र स्थानीय सरकारले डुंगा चलाउने योजना अलपत्र परेको हो ।
बुलबुलेको विकासका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष ०७५/०७६ मा एक करोड खर्चेको थियो । तर सरकारको लागानी बालुवामा जस्तैबन्दा अहिले वीरेन्द्रनगर नगरपालिकाले अपनत्व लिएर काम थालेको छ । सुर्खेत उपत्यका नगर विकास समितिको मातहतमा रहेको बुलबुले तालमा नियमित डुंगा चलाउने र सौन्दर्यता कायम गर्ने उदेश्य नगरपालिकाको छ ।
‘यसअघि नै विस्तार गरिएको तालमा पानी चुहावटहुँदा अपेक्षाकृत काम हुन सकेन्,’ वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले भने, ‘नगरपालिका आफैले ६० लाख रुपैयाँ खर्चेर हेर्न लायक ताल बनाउनेगरी काम शुरु गरेका छौं ।’ यसअघि विस्तार गरिएको ताल क्षेत्रमा रहेको माटो निकाल्ने र पानी लिकेज हुने ठाउँहरुमा क्रन्क्रटसहितको रिटलिङ्ग गरिने नगरपालिकाले जनाएको छ ।
‘ताल क्षेत्रमा पुग्दा निराशा र सुक्दै गयो भन्ने आलोचना मेटाउने र साच्चै बुलबुले ताल यस्तो पो रहेछ भन्नेगरी काम थालेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत तिवारीले थपे, ‘तालको पानी सफा देखिने, माछा पाल्ने, बोटिङ्गसहितको बहुदेश्यीय रुपमा प्रयोग गर्ने खालको बनाउँदैछौं । बर्खा अगावै ताल त साच्चिकै ताल पो रहेछ भन्ने सन्देश दिन खाजेका छौं ।’
नगरपालिकाले तालमा थप प्रदुषित पानी नपस्नेगरी धाराबाट र कुइनेपानी क्षेत्रबाट जाने निकासको पानीलाई सिँधै ईत्राम खोलासम्म झारिनेछ । विस्तार गरिएको ताल क्षेत्रमा आफै पानी जम्मा हुने भएकाले त्यहीँ पानी मात्र जम्मा हुनेगरी काम गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ । समुन्द्री सतहबाट ५६७ मिटर उचाइँमा रहेको बुलबुले तालको क्षेत्रफल साढे ३१ विगाह छ ।
समिति तत्कालिन अध्यक्ष नारायण कोइरालाले बुलबुले उद्यानलाई प्रमुख पर्यटकीय आकर्षणको रुपमा विकास गर्न यसअघि गुरुयोजना निर्माण गरेका थिए । गुरुयोजनामा स्विमिङ पुल, टिकट घर, पार्किङ क्षेत्र, मन्दिर क्षेत्र, डुंगा सञ्चालन, बुलबुलेका कलात्मक धारा, ठूला कार्यक्रम गर्न मिल्ने पार्क, बालबालिकाका लागि चिल्ड्रेन पार्क र पिकनिक क्षेत्र समेटिएको छ ।
गुरुयोजनअनुसार काम सक्न कम्तिमा पनि ३१ करोड रकम खर्च हुने अनुमान छ । अहिले नसहाउन प्रयोग गरिएका ढुंंगे धारालाई गुरुयोजनामा प्लाजाका रुपमा स्थापना गरिने उल्लेख छ । स्नानका लागि गेट नजिकै छुट्टै धारा घर निर्माण गरिने गुरुयोजनाले समेटेको छ ।
ताल पर्यटकीय गन्तव्यका लागि प्रख्यात मात्रै होइन, बुलबुले ताल सुर्खेत उपत्यकाको सबैभन्दा ठूलो पानीको स्रोत पनि हो । २०२९ सालभन्दा पहिले तिलपुर, कुन्टी, नयाँगाउँ, पातालगंगा क्षेत्रको सिँचाइका लागि प्रख्यात थियो । २०२९ सालदेखि बुलबुले तालको संरक्षण हुन थालेको हो । तालको संरक्षणसँगै यसको आकर्षण र महत्व बढ्दै गएको छ । ताल क्षेत्रको पूर्व–दक्षिणतर्फ पिकनिकस्थल रहेकाले सार्वजनिक शौचालय निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
सुशील खड्का । २०७९ चैत्र ८, बुधबार