प्रदेश सरकारको समर्थन फिर्ता लिन केन्द्रले दवाव दिँदैन : एमाले उपाध्यक्ष पौडेल

सुर्खेत । प्रदेश सरकारमा रहेका आफ्ना मुख्यमन्त्री तथा मन्त्रीहरुलाई छाड्न कुनै निर्देशन नदिने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । अछाम जाने क्रममा सुर्खेतमा विमास्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा प्रदेशकै अधिकार रहेको बताएका हुन् ।


‘सरकारमा रहने की बाहिरिने भन्ने त सरकारमा नेतृत्व गरेका मुख्यमन्त्रीहरुकै तजविजमा भरपर्छ,’ पौडेलले भने, ‘केन्द्रमा समिकरण बदलियो भन्दैमा प्रदेशमा समिकरण बदलिहाल्नु पर्छ भन्ने मनसायमा पार्टीको केन्द्रीय नेतृत्व छैन् ।’ पौडेलले एमालेबाट मुख्यमन्त्री र मन्त्री बनेकाहरुलाई सरकार छाड वा राजिनामा दिनुपर्छ भनेर कुनै निर्देशन नगर्ने स्पष्ट पारे । ‘समिकरण कायम रहन्छ वा रहदैन् भन्ने प्रदेशमै रहेका एमालेको नेतृत्वमा निर्भर रहन्छ । यसमा केन्द्रको कुनै हस्तक्षेप र परिपत्र गर्दैन्,’ पौडेलले भने ।

समस्या समाधानभन्दा पनि देशमा कस्ता खालका समस्या छन् भन्ने जानकारी नै अहिलेको गठबन्धनलाई नभएको आरोप पौडेलको छ । उनले देशको अर्थतन्त्र निराशाजन अवस्था पुग्दा पनि देशले यतिका समयसम्म अर्थमन्त्री नै नपाउनु दुभाग्य भएको बताए । ‘सरकारले राम्रा काम गर्ला भनेर आशा गर्ने ठाउँ छैन्,’ पौडेलले भने, ‘प्रतिपक्षमा रहेर सडक र सदनबाट जनताका समस्याहरु बुलन्द रुपमा उठान गर्ने र आगामी निर्वाचनका लागि एकल बहुमत निर्माण गर्नेगरी जनता माझ पुग्न मिसन ग्रासरुटमा होमिएका छौं ।’

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकार पदहरुको बटुवारा रहेको पुष्टी गरिसकेको आरोप पौडलेको छ । ‘सरकारमा पुग्ने र सरकारमा टिक्ने, जिम्मेवारीहरुको बटुवारा गर्नमै अहिलेको गठबन्धन केन्द्रित रहेको छ,’ पौडेलले भने, ‘देशमा अन्य शक्ति राष्ट्रहरुको चलखेल बढेको छ । नेपाल र नेपालीको हितका लागि काम गर्ने आँट र सामर्थ्य अहिलेको सरकारसँग छैन् ।’

तपाईको प्रतिक्रिया