वर्षौंदेखि उज्यालो बनाएका बावियाचौरका साना विद्युत गृह किन गरिदैछ बन्द ?

(बावियाचाैर) सुर्खेत । बावियाचौर पञ्चपुरी नगरपालिकाको केन्द्र हो । बावियाचौरसम्मको दुरी सदरमुकाम वीरेन्द्रनगरदेखि करिव ४५ किलोमिटर छ । तर वर्षौंदेखि विद्युत र प्रभावकारी सडकको सहज पहुँच पुग्न नसक्दा यहाँका नागरिकहरुले निकै हैरानी खेपिरहेका छन् । तर विद्युतको राष्ट्रिय प्रशारण लाईन कैलालीको सोल्टादेखि बावियाचौरमा पु¥याइएको छ । विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुग्दै वावियाचौरमा स्थानीय जलविद्युतबाट सेवा प्रवाह गरिँदै आएको हो । २०६५ सालमा बावियाचौर लघु जलविद्युत सहकारीमार्फत चौरखोलाबाट विद्युत उत्पादनको काम शुरु गरियो । । तर २०६८ सालबाट मात्रै बावियाचौर बजार क्षेत्रका नागरिकहरुका घरघरमा विद्युत वितरण गरिएको हो ।

खमारी खाेला जलविद्युत आयाेजना । याे आयाेजना ५३ किलावाट क्षामताकाे हाे ।

करिव ११ वर्षसम्म बावियाचौरबासीका घर–घरमा उज्यालो दिएको चौर खोला जलविद्युत अन्ततः बन्द भएको छ । यो आयोजनाले बजार क्षेत्रका करिव चार सय घरधुरीलाई विद्युत सेवा दिइरहेको थियो । विद्युतको राष्ट्रिय प्रशारणको पहुँच पुगेपछि कम क्षामताका लघु जलविद्युत बन्द गरिएको खमारी खोला लघु जलविद्युत आयोजनाका पूर्व अध्यक्ष जीवन ढुंगाना बताउँछन् ।

‘राष्ट्रिय प्रशारण विस्तार नहुँदासम्म स्थानीय खोलाबाट उत्पादित विद्युतले नागरिकहरुलाई ठूलो राहत दियो,’ ढुंगाना भन्छन्, ‘ठूलो क्षामताको विद्युत विस्तारहुँदा स्वभाविकै साना जलविद्युत बन्द गर्नुको विकल्प रहेन् ।’ २४ किलोवाट क्षमताको चौर खोला लघु जलविद्युतपछि बावियौचारमा थप तीन ओटा जलविद्युत सञ्चालनमा ल्याइएका हुन् ।

बावियाचाैर बजार ।

खमारी खोला जलविद्युत (क) बाट ५३ किलोवाट, (ख) १५ किलोवाट र (ग) बाट १० किलोवाट विद्युत उत्पादन गरिँदै आएको खमारी खोला जलविद्युत आयोजनाका कार्यालय प्रमुख पदम बुढा बताउँछन् । उनकाअनुसार तीन वटै आयोजनाबाट हाल करिव एक हजार ३८२ घरधुरी लाभान्वित छन् ।

यी आयोजनाबाट पञ्चपुरी नगरपालिकाको चनाली, भावर, बरैचे, डाव, सिद्धपुर, चत्तुरे, चनाली, लाटीकाँडा, सालकोट लगायतमा सेवा दिइरहेको छ । ‘वर्षौंसम्म पश्चिमका नागरिक विद्युतको राष्ट्रिय पहुँच बाहिर थिए । स्थानीय स्रोत साधनको उपयोगबाट जनतालाई सेवा गर्ने मौका पायौं,’ खमारी खोला जलविद्युत आयोजनाका सचिव धर्म खनालले भने, ‘स्थानीय उत्पादनले ठूलो कलकरखाना प्रयाप्त चलाउन सकस थियो । टुक्कीको सहारामा दैनिक गुजार्न बाध्य यहाँका नागरिकहरुलाई सकेसम्म उज्यालो बनाउने कोशीस गरेका थियौं । ढिलै भएपनि राष्ट्रिय प्रशारण लाइन जोडिएको छ, यसले केही थप आशा र उत्साह थपिदिएको छ ।’

राष्ट्रिय लाइनमा जोडिदैँ, खमारी जलविद्युत
बावियाचौरमा रहेको खमारी जल विद्युत आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने तयारी गरिएको छ । २० किलोवाट माथिका आयोजनाहरु राष्ट्रिय प्रशारणमा जोड्न सकिने संकेत विद्युत प्राधिकरणले दिएपछि आवश्यक संरचना थप्ने काममा जुटेको आयोजनाका सचिव आचार्य बताउँछन् । २०६८ सालमा स्थापना गरिएको खमारी खोला जलविद्युत २०६९ सालबाट विद्युत उत्पादन शुरु गरिएको आयोजना हो ।

यहीँ खोलाबाट थप दुई ओटा आयोजना पनि त्यसपछि निर्माण गरिएको थियो । तर पछि छुट्टाछुट्टै निर्माण गरिएका दुई आयोजनाबाट विद्युत उत्पादन काम भएपछि बन्द हुने अवस्थामा छन् । ‘तत्काल विद्युतको राष्ट्रिय लाइन बावियाचौर बजारको उत्तर र पूर्वतर्फका गाउँमा विस्तार नहुनहुँदा केही समयसम्म सञ्चालन रहन्छन्,’ सचिव आचार्यले थपे, ‘५३ किलोवाटको आयोजनालाई नेट मिटरिङमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक सम्झौताको अन्तिम तयारीमा छौं ।’

विद्युतको राष्ट्रिय लाइनमा स्थानीयस्तरमा उत्पादन विद्युत जडान गर्न २० किलोवाटभन्दा माथि उत्पादन क्षमता हुनुपर्छ । खमारी खोला जलविद्युतको पूर्णकालिन क्षमता ५३ किलोवाट हो । तर सुख्खा मौसममा ३५ देखि ४० र वर्षात्मा ५० किलोवाट विद्युत उत्पादन गरिरहेको छ । ‘राष्ट्रिय लाइनका लागि हाम्रो क्षमता पुगेको छ । तर केही संरचनाहरु थप्नु पर्ने देखिएको छ,’ आचार्यले भने, ‘केही महिनामा नेट मिटरिङ सिस्टमका लागि आवश्यक पूर्वाधार निर्माण गरेर प्राधिकरणलाई विद्युत विक्री गर्ने गृहकार्यमा छौं ।’

नेट मिटरिङ प्रणाली जोड्न १० लाखभन्दा माथि खर्च हुने देखिएको छ । त्यसका लागि बैकल्पिक ऊर्जा केन्द्रसँग आर्थिक सहायता मागिएको आयोजनाले जनाएको छ । आयोजनाले विद्युत विक्री गरेपछि खपतका आधारमा शुल्क प्राधिकरणले दिनेछ ।

‘आजसम्म उज्यालो दिएका आयोजनालाई राष्ट्रिय लाइनमा जोड्नु पनि उपलव्धी हो,’ आचार्यले भने, ‘विद्युतको नियमअनुसार हामीले केही शुल्क पाउने रहेछौं । अन्य आयोजना बन्द भएपनि खमारीको जलविद्युत प्राधिकरणमा जोड्न प्रक्रियागत र पूर्वाधारतर्फ काम अघि बढाइरहेका छौं ।’

विद्युतको दुई करोड लागत बच्यो

बावियाचाैरमा रहेकाे नेपाल विद्युत प्राधिकरणकाे सव-स्टेशन । यहीँ स्टेशनमा कैलालीकाे साेल्टादेखि विद्युकाे राष्ट्रिय प्रशारण लाइन जाेडिएकाे छ । तस्वीर सुशील खड्का

नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन बावियाचौरसम्म पुगेपछि लाइन नागरिकहरुको घर आँगनसम्म पु¥याउन झण्डै दुई करोड लागत खर्च बचेको छ । यसअघि नै विभिन्न विद्युत आयोजनाहरुबाट लाइन विस्तार गरिएकाले प्राधिकरणले तिनै संरचनाबाट विद्युतको केन्द्रीय लाइन विस्तार गरिरहेको छ ।

हाल प्राधिकरणले खमारी खोला र चौर खोला आयोजनाबाट विद्युत प्रवाह भइरहेका पोल र तारबाट बावियाचौर आसपासमा विद्युत लाइन सुचारु गरेको छ । सुर्खेत पश्चिमको विद्यापुर र लगाममा साना लघु जलविद्युत र गुटुमा सोलार प्यानलबाट विद्युतको पहुँच नागरिकहरुलाई पु¥याइएको छ । लगामको तालागाउँमा २२ किलोवाट विद्युत उत्पादनका लागि सर्भे भइरहेको छ ।

तपाईको प्रतिक्रिया