
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एक नर्सिङ होममा रेश्मा (नाम परिवर्तित) गत मंसिरमा सुरक्षित गर्भपतन गराउन पुगिन । उनका दुई छोरी छन् । रेश्मा सन्तानको माया नभएर गर्भपतन गराउन गएकी होइनन् । उनको गर्भपतन गराउनुको मुख्य कारण थियो छोरा । नेपालको कानूनले लिङ्ग पहिचान पछिको गर्भपतनलाई अपराध मानेको भएपनि रेश्माले कानूनविपरित गर्भपतनको बाटो रोजिन ।
उनका श्रीमान निजामती सेवामा कार्यरत छन् । रेश्माको योसहित तेस्रो पटक गर्भपतन गराएकी हुन् । ‘श्रीमान् र परिवारलाई छोरी चाहिएको छैन । कुल थाम्न पनि एउटा छोरो चाहिन्छ भन्छन् । जति दुःख छ, मलाई नै छ ।’ रेश्माले चिकित्सकसँग दुःख पोख्दै भनेकी थिइन । रेश्मा गर्भमै लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेहरुका एक उदाहरण हुन् ।
नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानूनी व्यवस्था छ । हाडनाता करणी, शिशु र आमाको ज्यान जान सक्ने खतरा तथा विशेष परिस्थितिमा भने २८ सातासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ । तर, लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेहरुको संख्या पनि बढ्न थालेको छ ।
लिङ्ग पहिचान गरेर गरिने गर्भपतनलाई कानूनले अपराध मानेको भए पनि छोराको आशले लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गराउने प्रचलन बढ्न थालेको छ । यसले लैंगिक विभेद तथा सामाजिक असन्तुलन बढाउने भएकाले सरकारले नियन्त्रणका लागि लिङ्ग पहिचान गर्न निषेध गरेको छ ।
परिवारको मञ्जुरी बेगर गर्भपतनका लागि महिलाहरु यस्ता नर्सिङ होम जान डराउँछन् । तर परिवारको निर्देशन भएमा चुपचाप पालना गर्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘कर्णालीका ग्रामीण भेगमा दुई÷तीन वटा छोरी पाउने आमाहरूको दुःखको कुनै लेखाजोखा हुँदैन’ जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेल भन्छन्, ‘परिवारको निर्देशन नमाने वैवाहिक जीवनसमेत प्रभावित हुनसक्ने खतराले पनि छोराको आशमा चुपचाप गर्भपतन गराउन आमाहरू राजी हुने गरेका छन् ।
कर्णाली प्रदेशका पहाडी जिल्लाका हुने–खाने महिलाले नेपालगञ्ज र भारतका निजी अस्पतालहरूमा पुगेर भू्रण पहिचान गर्ने र गर्भपतन गराउने गर्छन् । भारतको रुपैडिया, नेपालगञ्ज र सुर्खेतका केही निजी अस्पताल र नर्सिङ होमहरूमा लिङ्ग पहिचान र गर्भपतन गराउने गरिन्छ । मुलुकका अन्यत्र झैं कर्णालीका ग्रामीण भेगमा पनि छोराप्रतिको लालसा बढी नै छ । परिणाम, भू्रणको लिङ्ग परीक्षण गरी छोरी देखिएमा गर्भपतन गराउने प्रवृत्ति आम रूपमा छ । यो क्रम अहिले शहरी क्षेत्रमा पनि बढ्दो छ । भू्रणको लिङ्ग परीक्षण र छोरी भए गर्भपतन गराउनेहरू भित्रभित्रै बढिरहेको चिकित्सक बताउँछन् ।
पटक–पटक ज्यान जोखिममा राखेर गर्भपतन गराउने महिलाको संख्या कर्णालीमा धेरै रहेको उल्लेख गर्दै गर्भपतनको मुख्य कारण छोरीप्रति गरिने परम्परागत विभेद रहेको कँडेलको भनाई छ । राष्ट्रिय जनगणना २०७९ को तथ्यांकमा कर्णालीमा छोरीको संख्या घटेको देखाएको छ ।
महिला अधिकारकर्मी तथा आवाज संस्था सुर्खेतकी निर्देशक पवित्रा शाहीले छोरा नभए सौता व्यहोर्नुपर्ने, घरपरिवार र समाजबाट अपहेलित हुनुपर्ने लगायत बाध्यताले कर्णालीका महिलाहरूलाई गर्भपतन गर्न बाध्य पार्ने गरेको बताउछीन् । कर्णालीमा आर्थिक वर्ष २०७६÷७७ मा ५ हजार २३५, २०७७÷७८ मा ४ हजार ८ र २०७८÷७९ मा ४ हजार ८६० जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य निर्देशनालय कर्णालीको तथ्यांक छ ।
तथ्यांक अनुसार सुर्खेतमा सबैभन्दा धेरै सुरक्षित गर्भपतन गराउने गरिएको छ । लिङ्ग पहिचान गरेर गरिने गर्भपतनमा श्रीमान्, परिवार र छोरीलाई विभेद गर्ने समाज दोषी रहेको अधिकारकर्मी शाहीको भनाई छ । उनका अनुसार अहिले पनि महिलाले छोरा नजन्माए घरपरिवार र समाजबाट अपहेलित तिरस्कृत हुनु पर्ने बाध्यता रहेको बताउँछिन ।
लिङ्ग पहिचान गरेर गर्भपतन गराउनुको मुख्य कारण समाजको सोच रहेको मानवअधिकारकर्मी टीका विष्टको धारणा छ । ‘गर्भमा छोरा वा छोरी भएकै कारण पतन गर्नु गैरकानूनी र असामाजिक कार्य हो’, विष्ट भन्छिन्, ‘खासमा अधिकांश महिलाहरुमा नै छोराको मोह हुन्छ । पितृसत्तात्मक सोच यतिविघ्न हावी छ कि समाजलाई छोरा नभई भएको छैन । अनि महिलाहरु पनि छोरा चाहन्छन् ।’ कानुनी रूपमा सुरक्षित गर्भपतनका सम्बन्धमा समाजलाई परामर्श दिनु जरूरी भएको जनाउँदै उनले सरकारले आम व्यक्तिमा छोराछोरी समान रहेको जागरण फैलाउनु पर्ने बताइन् ।
‘समाजका धेरै विषयसँग लैङ्गकि भेदभाव जोडिन्छ । कुल थाम्न, बुवाआमाको काजक्रिया र श्राद्घ गर्न छोरा नै चाहिने भन्ने संस्कारले समेत धेरैजसो दम्पती छोराको चाहना राखेको पाईन्छ । अझै छोरीप्रति भेदभावपूर्ण बुझाइ, व्यवहार, संस्कृति, मूल्य र मान्यतामा छोरालाई बढी महत्व दिनुले छोरा–छोरीप्रतिको भेदभावलाई मलजल दिइरहेको पाईन्छ । ‘अझै पनि अंश र वंशको मान्यता छोरालाई नै दिइएकोले धेरै छोरीहरू संकटमा पर्दै गएका छन् ।’

नविन सुवेदी । २०७९ चैत्र २१, मंगलवार