कर्णाली कोरिडोरको हुम्ला बाजुरा सडक खण्ड सुचारु

 हुम्ला । कर्णाली कोरिडोरको हुम्ला र बाजुरा खण्डको अवरुद्ध सडक सुचारु भएको छ । बाजुरा जिल्लाको साका चौरको भीरमा बिच सडकमा बिग्रिएको जेसिवी मेशिन मर्मत गरिएपछि अवरुद्ध सडक सुचारु भएको हो । बाजुराको धुला चौर नजिकको साका भीरमा जेसिवी मेशिन सडकमै चल्दै गरेको अवस्थामा इन्जिनमा खराबी आएर सञ्चालन हुन नसकेपछि पाँच दिनदेखि हुम्ला र बाजुरा खण्डको अवरुद्ध भएको सडक सुचारु भएको हो ।

सडकको मध्य भागमा मेशिन बिग्रिएपछि सो खण्डमा मोटरसाइकल समेत सञ्चालनमा आउन सकेको थिएन् । मेसिनको पार्ट काठमाडौँबाट ल्याउन समय लागेको कारण सडक सुचारु गर्न ढिलाइ भएको थियो ।

मेसिन बिग्रिएपछि नेपालगन्ज, सुर्खेत, कालिकोट र बाजुराबाट हुम्ला आउने मालवाहक गाडीमा आएको सामानहरू धुला चौरमा रोकिने गरेका थिए भने यात्रु पैदल मार्ग हिँडेर बुँदासम्म जानु पर्ने अवस्था रहेको थियो । दैनिक हुम्लाको ताँजाकोट, अदानचुली र सलिसल्लाबाट आउने बिस भन्दा साना ठुला गाडी बाजुराकै बुँदासम्म आएर फर्कने गरेका थिए । यात्रुहरूले पनि बुँदाबाट धुला चौरसम्म पैदल हिँडेर जानु परि रहेको थियो ।

हुम्लाका यात्रु बुँदाबाट सामान बोकेर धुला चौरसम्म हिँड्नु पर्ने र त्यताबाट बाजुरा, सुर्खेत र नेपालगन्ज जानु पर्ने अवस्था रहेको थियो । यसले गर्दा पैदल यात्रुहरूको खर्चमा समेत वृद्धि हुने गरेको थियो । सडक सुचारु भएपछि यात्रुहरूलाई सहज भएको छ भने यातायातका साधन सहज रूपमा सञ्चालन भई रहेका छन् ।

तपाईको प्रतिक्रिया