कर्णालीका बालबालिकालाई नमूना बाल संसद अभ्यास

सुर्खेत । वीरेन्द्रनगरमा नमूना बाल संसद अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ । संघीय संसद सचिवालयको आयोजना तथा युनिसेफ नेपाल, मित्र समाज, युएन वुमनको आर्थिक सहयोगमा यही चैत २५–२९ गतेसम्म वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन भएको पाँच दिने नमूना बाल संसद अभ्यास कार्यक्रम बुधबार सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्दै संघिय सांसद अम्मरबहादुर थापाले नमूना बाल संसद अभ्यास कार्यक्रमले सबल नेतृत्व जन्माउन ठूलो सहयोग पुग्ने बताए ।

उनले बाल अवस्थामै संसदीय अभ्यास र मुलुक सञ्चालन कसरी हुन्छ भन्ने जानकारी लिनुले मुलुकको सक्षम जनशक्ति उत्पादनमा ठूलो सघाउ पुग्ने बताए । सांसद थापाले नमूना अभ्यासले बालबालिकालाई आदर्श राजनीति सिकाउन प्रेरित गर्ने बताए । कर्णाली प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले नमूना बाल संसद अभ्यास कार्यक्रमले सक्षम नेतृत्व जन्माउन समेत सहयोग पुग्ने बताए । बाल अवस्थामै संसदीय गतिविधि र त्यसको महत्व एवं सञ्चालनबारे जानकारी पाउनुले राजनीतिप्रति सकरात्मक बाल मनोविज्ञान निर्माण हुने उल्लेख गरे ।

कर्णाली प्रदेशका दश जिल्लाका विभिन्न विद्यालयका अध्ययनरत ४८ जना बालबालिका र नौजना शिक्षकहरुलाई सहभागी गराइएको उक्त कार्यक्रममा संसद, संसदीय गतिविधि, त्यसको प्रक्रिया, महत्व, इतिहासका बारेमा जानकारी गराईएको संघीय संसद सचिवालयका सचिव डा.रोजनाथ पाण्डेले जानकारी दिए । उनले यसरी अभ्यास गराउदा बालबािलकाहरुले संसदीय अभ्यासमा लोकतान्त्रिक अभ्यास गर्दा खेरी जनताका आवाज कसरी उठाइन्छ, प्रधानमन्त्रीसँग कसरी प्रश्नोत्तर गरिन्छ, बजेट कसरी प्रस्तुत हुन्छ । सरकारका नीति तथा कार्यक्रम कसरी आउँछ भन्ने बारेमा राम्रो प्रस्ुतति लिएको बताए ।

त्यस्तै, शून्य समय, विशेष समय र आकस्मिक समयमा कस्ता किसिमका मुद्दाहरु उठाइन्छन् भन्ने सन्दर्भमा बताऐ । उनका अनुसार संघीय संसद सचिवालयले सातै प्रदेशमा यो नमूना अभ्यास कार्यक्रम अगाडि बढाउने योजना बनाएको छ । उक्त नमूना अभ्यास कार्यक्रममा संसदमा सत्तापक्ष, प्रतिपक्षको भूमिका, प्रश्न, सवाल राख्ने तरिका, सभामुख, उपसभामुखको काम, कर्तव्य र अधिकार, बैठक बसाल्नु अघि उनीहरुले गर्ने काम र सांसदहरुले खेल्ने भूमिका के हो भन्ने बारे बालबालिकाहरुले अभ्यासमार्फत देखाएका थिए ।

तपाईको प्रतिक्रिया