वीरेन्द्रनगरमा खानेपानीको संकट सुरु

सुर्खेत।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको संकट सुरु भएको छ । गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो । स्रोत पर्याप्त नहुँदा वीरेन्द्रनगरमा बर्सेनि खानेपानीको समस्या हुने गरेको छ ।

वीरेन्द्रनगर–१ प्रगतिटोलकी सुश्मिता परिवारलाई दैनिक खानेपानीको चिन्ता हुन्छ । अन्य समयमा फाँटफँुट रूपमा धारामा पानी आए पनि गर्मी मौसम सुरु भएसँगै पानीको चरम अभाव भएको उनले बताइन् । घरमा बिहान उठेदेखि साँझ नसुत्दासम्म चाहिने पानीका लागि गाउँमा भरपर्दो व्यवस्था छैन । उनी भन्छिन्, ‘खोलाबाट एक घण्टा लगाएर एक ग्रागी धौ–धौ पानीको जोहो गर्छौं । धारामा तीन÷चार दिनको एक पटक आधाघण्टा पानी आउँछ । त्यो पनि पर्याप्त हुँदैन ।’

लक्ष्मी खड्का पनि वीरेन्द्रनगर–१ कै बासिन्दा हुन् । गर्मी मौसम सुरु भएसँगै धारामा चार दिनमा एक पटक पानी आउने गरेको उनले बताइन् । धारामा नियमित र पर्याप्त पानी नआउँदा निकै समस्या भएको खड्काको भनाइ छ । अन्य समयमा दिन बिराएर धारामा पानी आउने गरेपनि गर्मीयाममा निकै हाहाकार हुने गरेको छ । उनी भन्छिन्, ‘इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन ।’ वडाले खानेपानीको अभाव टार्न केही पहलसमेत नगरेको खड्काको भनाइ छ । ‘गाउँमा खानेपानीको भरपर्दो व्यवस्था छैन । धारामा पानी चार दिन बिराएर आउँछ’, उनले थपिन्, ‘त्यो पनि पूरा भाडा भर्न पाइँदैन । आधा घण्टा मात्र आउँछ ।’

सोही ठाउँका दिपक पुरीले वडामा खानेपानीको हाहाकार भएको बताए । ‘दुई महिनादेखि खानेपानीको संकट बढ्दै गएको छ’ उनले भने, ‘कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँ खानेपानीको व्यवस्थापन छैन । धारामा पानी आउँदैन स्थानीय बासिन्दा काकाकुल बनेका छन् । सरकारले के हेरेको छ रु’ बर्सेनि खानेपानीको समस्या भइरहने भएता पनि स्थानीय तथा प्रदेश सरकारले यस विषयमा ध्यान नदिएको उनको गुनासो छ ।

प्रगतिटोलकै सिता खड्का खानेपानीको चरम अभाव रहेको बताउँछिन् । यो समस्या बर्सेनि रूपमा हुन्छ । तर यसको समाधानमा सरकारले ध्यान नदिएको उनको भनाइ छ । पानी नहुँदा खाने, पकाउने, नुहाउनेदेखि घरमा गाईंभैसी पाल्न समेत समस्या भएको बताइन् । पानी नहुँदा कठिनाई भएपनि जनप्रतिनिधिले स्थानीयको समस्या नबुझेको उनी बताउँछिन् ।

वीरेन्द्रनगर–१ का वडा अध्यक्ष दिनेश खत्री भने भूगोलका कारण पानी वितरणमा समस्या भएको बताउँछन् । स्रोत व्यवस्थापन गरेर उत्तरी जलाधार क्षेत्रका भएका मुहानको संरक्षण गरी व्यवस्थित गर्ने तयारीमा रहेको उनको भनाइ छ । अध्यक्ष खत्रीले भने, ‘दुई सय दुई मिटर गहिरो खन्दा पनि पानी आउँदैन । भूगोल नै त्यस्तै छ । बोरिङ सञ्चालन नभए भएका मुहान संरक्षण गर्नुको विकल्प छैन ।’ विशेष गरेर प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या रहेको खत्रीले जानकारी दिए ।

मुहानमा पानी घटेपछि ४८ घण्टाको फरकमा पानी वितरण गर्न थालिएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका प्रमुख डम्मर गौतमले मुहानमा ४० प्रतिशत पानी घटेको बताए । ‘गर्मीयाम सुरु भएपछि मुहानमै पानीको स्रोत घटेको छ, ४८ घण्टापछि मात्रै धारामा पानीको पालो आउँछ,’ उनले भने, ‘खानेपानी समस्या देखिएको छ ।’ वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । खडेरीमा हरेक वर्ष उपत्यकामा पानीको हाहाकार हुन्छ । मागअनुसार पानी पु¥याउन नसकेको गौतम बताउँछन् । संस्थाले हाल झुप्रा खोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गर्दै आएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निकण्ठ खनाल गर्मीयाममा सधैँ पानीको समस्या हुने गरेको बताउँछन् । विशेष गरेर वडा नं। १ देखि १२ सम्म खानेपानीको समस्या देखिएको उनको भनाइ छ । तत्काल पानीको समस्या समाधान गर्नका लागि बोरङ मर्मत गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए । उनका अनुसार गर्मीयाम सुरुभएसँगै खानेपानीको अभाव छ । वडाबाट समस्या आइरहेका छन् । उनले भने, ‘तत्काल पानीको समस्या समाधान गर्न बोरिङ सञ्चालन, भइरहेका मुहानको मर्मत गरी सञ्चालन गर्न नगरपालिका लागि परेको छ ।’ पानीको समस्या समाधान गर्न प्रदेश सरकारसँग पनि आवश्यक बजेट माग गरिएको उपप्रमुख खनालले बताए । संघीय खानेपानी आयोजनासँग समेत मुहान मर्मत सम्भारका लागि बजेट माग गरिएको उनको भनाई छ । नगरपालिकामा खानेपानीको चरम अभाव रोक्न पहल भइरहेको उनले बताए ।

खानेपानीको समस्या समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउनका लागि ठेक्का प्रक्रिया अघि बढाइने उपप्रमुख निकण्ठ खनालले बताए । वल्र्ड बैंक, नेपाल सरकार र नगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएकाले छिट्टै आयोजना सञ्चालन हुने उनको भनाइ छ । उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० सम्पन्न भएको छ । अब ठेक्का प्रक्रिया सुरु हुन्छ ।’ आयोजना सुरु भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने योजना रहेको उनले बताए । – यो समाचार साझा बिसौनी दैनिकमा प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया