रत्न राजमार्गलाई व्यवस्थित बनाईदै

सुर्खेत । रत्न राजमार्ग नेपालगन्जस्थित भारतीय सीमा नाका जमुनाहदेखि सुर्खेतको वीरेन्द्रनगर उपत्यका जोड्ने प्रमुख राजमार्ग हो । सञ्चालनमा आएको लामो समय भइसक्दा पनि यो सडकको स्तरोन्नति हुन सकिरहेको छैन ।

कोहलपुर–वीरेन्द्रनगरसम्म ११५ मिलोमिटर र कोहलपुर–नेपालगञ्ज २५ किलोमिटर रहेको यो सडकका विभिन्न भाग जीर्ण छन् । जसका कारण सडक दुर्घटनाको जोखिम उत्तिकै छ ।

तर, सुर्खेततर्फको हर्रे–बांगेसिमलसम्मको सडकको भने स्तरोन्नति र खाल्डाखुल्डी पुर्ने काम धमाधम भइरहेको छ । केही समय अघिसम्म वीरेन्द्रनगर बजार क्षेत्रमै सडकको अवस्था निकै कुरुप थियो ।

खाल्डाखुल्डी, धुलोधुवाँले सवारी साधनमात्र होइन, पैदल यात्रुलाई समेत यात्रा गर्न सकस हुन्थ्यो । पछिल्लो समय अधिकांश ठाउँमा खाल्डाखुल्डी पुर्ने काम भइसकेको र बाँकी ठाउँमा पनि मर्मत सम्भारको काम जारी रहेको सडक डिभिजन कार्यालय सुब्बाकुनाले जनाएको छ । यस्तै बजार क्षेत्रमा पर्ने मुख्य पुलहरुको निर्माण पनि सम्पन्न भएको छ । कतिपय ठाउँमा निर्माणका काम जारी छन् ।

यो राजमार्ग हर्रे–सुब्बाकुनासम्म ‘टु लेन’ र सुब्बाकुना–बांगेसिमल बजार क्षेत्र ‘फोर लेन’को छ । झण्डै १० किलोमिटर लम्बाई रहेको सुब्बाकुनादेखि एरिचोकसम्मको सडकलाई थप व्यवस्थित गर्न सडक डिभिजन अग्रसर भएको देखिन्छ ।

अहिले अधिकांश खाल्डाखुल्डी टालिसकिएको अवस्था छ भने सडक किनारालाई थप व्यवस्थित गर्ने, नालाहरुको स्तरोन्नति गर्ने काम धमाधम भइरहेको हो । कार्यालयका सूचना अधिकारी टोप नारायण पौडेलले घुलियाबिटदेखि एरिचोकसम्म ६ किमिमा ‘एचब्रेक’ भएको ठाउँलाई व्यवस्थित गर्न लागिएको बताए । त्यसका लागि २ करोड २२ लाख बजेट छुट्याइएको छ । जीर्ण अवस्थाको सडकमा खाल्डाखुल्डी पुरेर नयाँ कालोपत्रे हालेसँगै सडकले नयाँ स्वरुप पाएको यातायात व्यवसायी बताउँछन् ।

इञ्जिनियर पौडेलले खाल्डाखुल्डी भएका सबै ठाउँमा मर्मत सम्भार गरिने बताए । हर्रे–सुब्बाकुना क्षेत्रका लागि पनि मर्मत सम्भारको कार्ययोजना अनुरुप हर्रेबाट काम सुरु भइसकेको छ । साथै ‘टु लेन’ अन्तर्गत टोलीखोला–छिन्चु जाजरकोट सडकसम्मलाई ‘फोर लेन’को लागि काम भइरहेको पौडेलले प्रदेश रैबारलाई बताए ।

छिन्चु कर्णाली प्रवेशद्वार अन्तर्गत पर्ने पहिला बजार हो । त्यसैले पहिला छिन्चुमा ‘फोर लेन’ बनाउने र विस्तारै सबै क्षेत्रलाई ‘फोर लेन’ सडककै रुपका विकास गर्ने योजना डिभिजन कार्यालयको छ । टोलीखोला–छिन्चु ‘फोर लेन’ सडकमा अहिले ४५ करोड रकम खर्चिएर काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया