पश्चिम नेपालमा भूकम्पको जोखिम बढ्दै

सुर्खेत । कर्णाली प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका दुई जिल्लालाई केन्द्रविन्दु बनाएर हप्तादिनको फरकमा चारवटा भूकम्प र पराकम्पन गएका छन् । यीमध्ये कर्णालीको मुगुमा चैत १० गते सबैभन्दा ठूलो ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक छ । अन्य जिल्लामा ४ रेक्टर स्केलभन्दा माथिका भूकम्पका धक्का महसुस भएका छन् ।

गत कात्तिक ९ गते डोटी केन्द्रविन्दु भएर गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पका कारण गौमुल गाउँपालिका– १ मा ६ जनाले ज्यान गुमाए भने करोडौँको भौतिक संरचनामा क्षति पुग्यो । डोटीमा तीन दिनको अवधिमा क्रमशः ६ दशमलव ६, ५ दशमलव ७ र ४ दशमलव १ रेक्टर स्केलका गरी तीनवटा भूकम्पको कम्पन मापन गरियो ।

पछिल्लो समय पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम बढ्न थालेको छ । भूकम्प मापन केन्द्रका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा जति बेला पनि विनाशकारी भूकम्प जाने ठूलो जोखिम छ ।

पश्चिम नेपालमा ५ सय वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन् । गत वैशाखदेखि चैत महिनासम्म पश्चिम नेपालका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा २१ वटा भूकम्पहरू गएको तथ्यांक छ ।

लगातार गइरहेका यी कम्पनले पश्चिम नेपालमा कुनै पनि बेला फुट्न सक्ने ठूलो भूकम्पीय शक्ति जम्मा भइरहेको भन्ने संकेत गर्ने भूकम्पविद्हरू बताउँछन् । अहिले सानोसानो स्तरमा आइरहेको भुइँचालो त्यही ठूलो भूकम्पीय जोखिमकै हुन सक्ने आकलन गरिएको छ । एक वर्षको अवधिमा सुदूरपश्चिमका पाँच जिल्लालाई केन्द्रविन्दु बनाएर १६ वटा भूकम्प गएका छन् । जसमा बाजुरा जिल्लामा सबैभन्दा धेरै ५ रेक्टर स्केलभन्दा साना छवटा भूकम्पले केन्द्रविन्दु बनाएका छन् ।

गत कात्तिक ९ गते डोटी जिल्लामा एकै दिन ६ दशमलव ६, ४ दशमलव १, ५ दशमलव ७ रेक्टर स्केल मापन गरिएका तीनवटा भूकम्प गएको देखिन्छ । यस्तै, अछाममा ४ रेक्टर स्केलभन्दा साना २, दार्चुलामा २, धनगढीमा १, बझाङमा २ पटक ४ रेक्टर स्केलसम्मका पराकम्पनहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक छ । लुम्बिनी प्रदेशको बाँकेमा पनि ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प मापन भएको छ ।

यस्तै, कर्णाली प्रदेशका चार जिल्लामा केन्द्रविन्दु भएर यही अवधिमा चारवटा भूकम्पका धक्का महसुस भएका छन् । केही दिनअघि मुगुमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प मापन भएको थियो । यस्तै, दैलेखको रानीवन केन्द्रविन्दु भएर ४ दशमलव १, रुकुम ४ दशमलव २ र डोल्पामा ४ दशमलव ६ रेक्टर स्केलका भूकम्पहरू गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया