
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताकारुपमा पुनः चयन गरेको हो । यस अघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो ।
पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने जानकारी दिए । उनले भने, “पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन हुनुभएको छ । सरकारसम्बन्धी छलफल चाहिँ शुक्रबारको संयुक्त बैठकबाट टुङ्गो लाग्ने निर्णय भएको छ ।
आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग गठन गरेको छ । डा. स्वर्णिम वाग्लेले अर्थनीति विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । शिशिर खनालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र पर्यटन तथा संस्कृति विभागको जिम्मेवारी पाएका छन् ।
डा. मुकुल ढकालले नीति तथा विचार र प्रशिक्षण, डा। तोषिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद, सन्तोष परियार मानव अधिकार, सोविता गौतम कानून तथा न्याय, हरि ढकाल भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन र दिपक बोहरा जनसम्पर्क विभाग प्रमुख बनेका छन् । मनिष झा तथ्याङ्क अनुसन्धान तथा अभिलेखिकरण र सार्वजनिक लेखा समीक्षा, सुमना श्रेष्ठ शिक्षा र विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुख तोकिएका छन् ।

नेपालीरैबार । २०८० बैशाख १८, सोमबार