उपचारको पर्खाइमा कर्णाली

बिरामी हुँदा मानिस बिरामी मात्र हुनुपर्ने हो, तर कर्णालीमा बिरामी हुँदा मानिस गरिब पनि हुनुपर्ने बाध्यता छ । ‘डाक्टर सबै चोर हुन्छन् के ! औषधि लुकाउँछन् उतै सहरतिरै । हामी त गाउँको जडीबुटी चपाउने, सानातिना रोग पचाउने; ठूला रोगको लागि सिरानीमा ५ लाख हाल्ने सुत्ने !’

कोरोना महामारीका बेला एउटो थोत्रो टेम्पो अस्पतालअगाडि उभिएर कामिरहेको थियो । त्यसभित्र थिए— पीपीईले पुरिएका, सिन्कोजस्ता दुब्ला चालक अनि ७०–८० वर्षका बा, जसले करिब उति नै उमेरकी आमैलाई गुन्द्रीमा बेरी टेम्पोको पछिल्लो सिटमा जेनतेन अड्याएर अस्पतालसम्म ल्याएका थिए । यो कोरोना महामारीताका कर्णालीको सबैभन्दा ठूलो कोरोना अस्पतालमा देखिएको सानो दृश्य मात्रै हो ।

टेम्पो पूरै रोकिनुअगावै बूढा बा फुत्त बाहिर हामफाले । सबैभन्दा पहिले उनको दाहिने खुट्टो देखिएको थियो, जुन नांगो थियो । दाहिने खुट्टालाई देब्रेले पछ्याउँदै उनी बाहिर झरेका थिए । अनि एकै छिनमा मुन्टो टेम्पोभित्र फर्काए । उनले दाहिने खुट्टामा नभएको जुत्ता टेम्पोभित्र खोजे । तर भेट्टिएन । टेम्पोमा नभेटिएको जुत्तालाई उनले आफ्नो दिमागमा खोजे । त्यहाँ पनि त्यो भेटिएन । उनी बोलेको सुनियो, ‘बरु दुवै खुट्टा खालीखाली आउनुपर्ने ।’ यत्ति भनेर उनले जुत्ता भएको र नभएको, दुवै पाइला अगाडि सारे ।

उनी अस्पतालको ढोकाबाहिर पुग्नै लाग्दा चालक पनि टेम्पोबाट निस्किए । पीपीईले छोपिएका चालक थिए— मोहम्मद हिज्जु अली । कोरोनाका बेला हिज्जुले आफ्नी गर्भवती श्रीमतीलाई जँचाउन एम्बुलेन्स पाएनन् । घरको टेम्पोमै अस्पताल लाग्दा उनलाई थाहा भो, कर्णालीमा एम्बुलेन्सको खडेरी रहेछ । कोरोनापीडितसँगै अरू बिरामीको बिचल्ली देखेर उनले एउटा कसम खाए । आफ्नो टेम्पोलाई ‘टेम्पो एम्बुलेन्स’ बनाउने । कोरोनाकालभरि बिरामीलाई सहयोग गर्ने ।

बाले आफ्नो इस्टकोटमा हात हाले । भित्रबाट एउटा सय रुपैयाँको नोट थरथर काम्दै बाहिर निस्कियो । हिज्जुले पीपीईको चस्माभित्रबाट धमिलो नजरले पनि बुझ्न भ्याए— बाको शरीर र कपडाभित्रको यो अन्तिम नोट हुनुपर्छ । हिज्जुले टेम्पोभित्रको खुत्रुके उघारे । त्यहाँ सयका दुइटा तर अलिक चल्ने खालका नोट रहेछन् । उनले ती दुवै सयका नोट निकालेर बाका हातमा राखिदिए । बा नलिने मुडमा थिए । तर सकेनन् । अब बा र अली मिलेर टेम्पोमा बेहोस आमैलाई दुई हात र दुई खुट्टा झुन्ड्याउँदै बाहिर निकाले ।

हुरीबतासको स्पिडमा आमैलाई कोरोना संक्रमित राख्ने आईसीयूतिर कुदाइयो । यता बा छुटेको गुन्द्री हातमा लिएर उभिएका उभियै भए । हिज्जु टेम्पो स्टार्ट गरेर हुइँकिन लागेका बेला बाले टेम्पोलाई पछाडिबाट नमस्कार गर्दै भने, ‘महादेवले तिम्रो रच्छे गरून् । पीपीईले ढाकिएको अनुहार मर्नुअघि एक पटक हेर्न पाम् ।’

कर्णालीमा यस्तै खाले तर थोरै फरक दृश्यहरू कोरोना सकिएपछिका दिनहरूमा पनि देख्न पाइन्छन् । किनकि बिरामी पर्दा जनता आफैंले आफ्नो पूरै जिम्मा लिनुपर्ने हुन्छ । अनि यहाँका जनता बेलाबेला ‘सरकारशून्यता’ को अवस्था महसुस गर्न बाध्य हुन्छन् । किन कर्णालीका मान्ठहरू यस्तो भोग्न बाध्य छन् रु यो पृथ्वीभरिको प्रश्नको गबौरोजत्रो हलुका जवाफ छ ।

क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठूलो प्रदेश । जनसंख्याको हिसाबले सबैभन्दा थोरै मान्छे बसोबास गर्ने थलो । पहाडैपहाड भित्रभित्र उनीहरू हराउँदै–भेटिँदै यति छरिएका छन्, एउटा गाउँबाट अर्को गाउँ पुग्न घण्टा होइन कहिलेकाहीँ दिन र हप्तासम्म लाग्छ । यिनलाई जोड्न पहाडमा कुँदिएका काँचाकाँचा सडकहरू मृत्युरेखाझैं छन्, जहाँ बर्सेनि दर्जनौं मानिस दुर्घटनामा मर्छन् । अनि स्वास्थ्य संरचनाका नीति र कार्यक्रमहरू यस्ता छन्, जो काठमाडौंजस्तै ठूला सहर र तराईमा लागू हुने खालका छन् । कर्णाली सुहाउने व्यावहारिक ‘कर्णाली स्वास्थ्य मोडल’ नहुनु नै कर्णालीको दुर्भाग्य हो ।

के हुन सक्ला त व्यावहारिक ‘कर्णाली स्वास्थ्य मोडल’ ? कसरी निर्माण गर्ने ?

१. एउटा गतिलो स्वास्थ्य सर्वेक्षण

कोरोना महामारीका बेला ६० हजार कर्णालीवासी भारतबाट आउने सरकारी लेखाजोखा यति गलत थियो, बोर्डरको नाम दर्ता गर्ने रजिस्टरमा करिब २ लाख पुगिसक्दा पनि भित्रिनेको हूल मोटाउने क्रममै थियो । त्यसैले एक पटक कर्णालीका सबै घरमा पुगेर प्रत्येक घरका दीर्घरोगी, जन्म, मृत्यु, उपचार पाएको–नपाएको, नजिकको स्वास्थ्य संस्था पुग्ने समय, सबै साना–ठूला स्वास्थ्य संस्थाको वर्तमान कार्यक्षमता र आउने समयको तयारी लगायतको गतिलो स्वास्थ्य सर्वेक्षण गर्न जरुरी छ । सही मूल्यांकन व्यावहारिक ‘कर्णाली स्वास्थ्य मोडल’ को पहिलो पाइलो हुन सक्छ । तब थाहा होला, राज्यका अन्य प्रदेशभन्दा बिलकुल फरक कर्णालीको भूभाग, फरक जनसंख्या र फरक प्रवृत्तिका रोगहरूलाई केही मौलिक प्रणाली निर्माणको कति आवश्यकता छ भनेर ।

२. वर्तमान संरचनाको सही प्रयोग र गर्नुपर्ने सुधार

कर्णालीमा अहिले दुई ठूला अस्पताल, जुम्लाको कर्णाली विज्ञान प्रतिष्ठान र सुर्खेतको कर्णाली प्रदेश अस्पताल, प्रगतिको रफ्तारमा छन् । नेपालको स्वास्थ्य क्षेत्रमा यदि आवश्यकताको गहिराइ मापन हुंँदो हो त यी दुई स्वास्थ्य संस्थाको सेवा र योगदान नेपालका सबै अस्पतालभन्दा धेरै हुने थियो । यी दुइटै अस्पताललाई नमुना शिक्षण अस्पतालका रूपमा विकास गर्नु जरुरी देखिन्छ, ताकि यिनले आधुनिक मेडिकल विज्ञानसँगै दुर्गमको आँसु पुछ्ने मानव विज्ञान आत्मबोध गरेका डाक्टर र नर्स यो देशलाई दिन सकून् । यी दुइटै महत्त्वपूर्ण संस्थाहरूमा राजनीतिक नियुक्तिको गोरेटोलाई परिवर्तन गरी दृष्टि र दर्शन अनुसार चल्ने बाटामा कुद्ने व्यवस्थापन भैदिए मात्र यो सम्भव छ ।

कर्णालीमा जिल्ला अस्पताल र यही बराबरको सेवा दिने करिब १६ वटा मझौला अस्पताल छन् । यहाँ भवन निर्माणको काम पुस्तौंदेखि चलिरहेको छ । राजनीतिको झोला बोकेर ठेक्का पाएकाहरूले राजनीतिकै बैसाखी टेकेर वर्षौंदेखि काम रोकिरहेका छन् । वा भनौं, अस्पताल निर्माण कछुवा गतिमा चलिरहेको छ । यी अस्पतालहरू तुरुन्त निर्माण भए, यिनमा आधारभूत आवश्यकताहरूका विशेषज्ञ सेवा ९बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, सर्जन, फिजिसियन र एमडीजीपी० सुरु गर्न पाए भाँचिएको हातको प्लास्टर मात्र गर्न प्लेन चढ्नुपर्थेन यहाँका मानिसहरूलाई । वर्षौंदेखि पाल्दै आएका सबै भेडा एकै चोटि बेचेर हेलिकप्टर चढेर बिरामी छोराछोरीको पखाला चुहाउँदै सुर्खेत र नेपालगन्जका ठूला अस्पतालहरूसम्म उडान भर्नुपर्ने थिएन यहाँका मानिसहरूलाई । बिरामी हुँदा मानिस बिरामी मात्र हुनुपर्ने हो, तर यहाँ बिरामी हुँदा मानिस गरिब पनि हुनुपर्ने बाध्यता छ ।

जनताकै घरदैलामा ठोक्किने र चाहिएका बेला सबैभन्दा काम लाग्न सक्ने कर्णालीका स्वास्थ्य संस्थाचाहिँ हेल्थपोस्टहरू हुन् । करिब ३०० हेल्थपोस्ट सैद्धान्तिक रूपले नौ प्रकारका सेवा दिन उभिएका छन् । बाल स्वास्थ्य, प्रसूति स्वास्थ्य, ४० प्रकारका आधारभूत औषधिहरू, महामारी व्यवस्थापन, स्थानीय रोग व्यवस्थापन, स्थानीय दुर्घटनाको उपचार, समुदायमा खाना–पानी र निरन्तर स्वास्थ्य शिक्षा प्रदान । विज्ञान भन्छ, यी सबै सेवा गुणात्मक रूपले दिन सके कुनै पनि समुदायको ७० प्रतिशत रोग समुदायमै समाधान हुन्छ । धेरै देशले यसै गरेका छन् । औंला भाँचेर भन्न सकिने केही हेल्थपोस्टबाहेक अरू सबै यी काममा नराम्रोसँग चुकेका छन् । कर्णालीको सबैभन्दा ठूलो समस्या यही हो । स्वास्थ्य व्यवस्थापनको विज्ञान भन्छ— ८० प्रतिशत जनताले स्वास्थ्य चौकीमा गुणात्मक सेवा लिने र बाँकी २० प्रतिशत त्यहाँबाट माथि रेफर हुने अनुपात मिले समग्र प्रणालीको पिरामिड (वा घर) बलियो हुन्छ । कर्णालीका हेल्थपोस्ट कमजोर छन्, सुविधा खोज्न सिधै माथि जानुपर्ने बाध्यताले यो अनुपात उल्टो छ । अनि उल्टो स्वास्थ्य पिरामिड जगको ठाउँमा छत परेर भत्किएझैं भएको छ । यी सबै हेल्थपोस्टलाई विशेष प्याकेज निर्माण गरी कार्य सम्पादनसहित यो समस्याको उत्थान गर्न नितान्त जरुरी छ । ‘बिरामी हुँदा गरिब हुनु नपर्ने’ बाटाको शिलान्यास यहीँदेखि सुरु हुन्छ ।

आउँदा दिनहरूमा कर्णाली प्रदेशमा स्वास्थ्य समस्या झनै बढ्ने देखिन्छ । कारण, आर्थिक वर्ष २०७७–७८ मा अरू प्रदेशको दाजोमा कर्णालीमा प्राथमिक अस्पताल बन्ने क्रम सबैभन्दा कम छ । जनताका घरदैलोको स्वास्थ्य संस्था थोरै र कमजोर हुँदा देखिने नतिजाहरू यस्ता हुन्छन्—

-राज्यले बाँड्ने भिटामिनमा यहाँका बालबालिकाको पहुँच सबैभन्दा कम छ, जबकि सबैभन्दा बढी कुपोषण यहीँ छ । त्यसैले त बाल मृत्युदरको ग्राफले सधैं पहाड उक्लने गर्छ ।

-वर्षौंदेखि सबैभन्दा धेरै गर्भवती महिलाले ज्यान गुमाउनुपरिरहेको यो ठाउँका स्वास्थ्य संस्थामै प्रसूति जाँचमा महिलाहरूको पहुँच सबैभन्दा कम छ । तब त मातृ मृत्युदरको ग्राफले आकाश छुने गर्छ ।

-बच्चा जन्माउन गर्नुपर्ने शल्यक्रियामा पनि कर्णालीकै महिलाहरूको पहुँच सबैभन्दा कम छ, जबकि यस्तो शल्यक्रियाको जरुरत यहीँ सबैभन्दा बढी छ ।

३. नयाँ प्रविधिको प्रयोग

सन् २०१५ मा मंगोलियाले टेली मेडिसिन प्रविधिको प्रयोगले मातृ मृत्युदर दुईतिहाइले घटाएको थियो । हाम्रोजस्तै समस्या भएका धेरै देशले यसैको प्रयोगमार्फत दुर्गममा छुटेका आफ्ना जनताको भावनात्मक, सामाजिक, मानसिकसहित शारीरिक स्वास्थ्यमा गज्जबको सुधार ल्याएका छन् । कर्णालीका सबै ससाना र दुर्गममा रहेका स्वास्थ्य संस्थामा टेलिमेडिसिनको सही प्रयोग गरेर यहाँका डरलाग्दा मानावीय स्वास्थ्य सूचकहरूलाई सुधार्न सकिन्छ । सुर्खेतमा एउटा टेलिमेडिसिन सेन्टर खोल्ने, हरेक स्वास्थ्य संस्थालाई इन्टरनेटले जोड्ने अनि भिडियो कल गरेर विशेषज्ञ डाक्टरमार्फत दुर्गमका बिरामीहरूलाई स्थानिय स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्ने । यो सम्भव पनि छ । तर सेवा र सृजनामा निहित राजनीतिले मात्र यो गर्न सक्छ । कर्णालीको अहिलेको राजनीति टीकाटालोमै सीमित छ । कालो बादल एकै पटकमा फाट्न सक्दैन । क्रमिक रूपमा यस्तै सानाठूला नयाँनयाँ सृजनात्मक सोच ल्याई संघर्ष र गन्तव्यको पहिचान गर्नु जरुरी छ । नया सोच नल्याई यो अमानवीय अवस्थाको अन्त्य सायदै हुन सक्ला ।

जुम्लादेखि डोल्पासम्मको पैदलयात्राका क्रममा एकचोटि डोल्पाको काई गाउँमा बास बस्न पुगियो । घरबेटी दिदीलाई मैले भनें, ‘सबैलाई पुग्छ भने मलाई दुइटा सिरानी दिनू न दिदी १ मेरो बानी यस्तै छ ।’

उनले मेरो अनुरोध स्विकार्दै भनिन्, ‘भैहाल्छ नि १ हामी त ५ लाख पैसाले कपडा भरेर त्यसैको सिरानी हाल्छम् । यो तुमीलाई नै दिम्ला ।’ यो सुनी मेरो अनुहारमा आश्चर्य ढाकिएको देखेर उनले निभ्नै लागेको लाल्टिनको सलेदो उकास्दै भनिन्, ‘हामी बिरामी पर्दा यो पैसा वडामा दिन्छम् । उनीहरू फोन गरेर हेलिकप्टर मगाइदिन्छन् के, त्यसैले १’

मैले फेरि सोधें, ‘अनि अलिअलि बिरामी पर्दाको औषधि नि ?’

म डाक्टर हुँ भन्ने थाहा नपाएकी उनले फेरि निर्दोष तर मेरा खुट्टा हल्लाउने भुइँचालोझैं जवाफ दिइन्, ‘डाक्टर सबै चोर हुन्छन् के ! औषधि लुकाउँछन् उतै सहरतिरै । हामी त गाउँको जडीबुटी चपाउने, सानातिना रोग पचाउने; ठूला रोगको लागि सिरानीमा ५ लाख हाल्ने सुत्ने !’

म गोली लागेझैं शान्त भएँ ।

भोलिपल्ट बिदाइ हुनै लाग्दा मैले बडो साहस गरेर उनलाई भनें, ‘थाहा छ दिदी, म डाक्टर हुँ नि ?’

हल्लाउँदै गरेको हात रोकेर दिदीले पनि जिब्रो टोक्दै भनिन्, ‘पैले किन नभनेको त ? सबै डाक्टर चोर हुन् भनेर तुमीलाई अनि सबैलाई भुनेकी हुम् त मुइले ? हाम्रा पीर नबुझ्ने, सहरमै ओखती लुकाउनेलाइै पो भुनेकी हुम् ।’ टोकेको जिब्रो बोकेको अनुहार भुइँतिर लुक्न खोज्यो । तर बाईबाई गर्ने निर्दोष हातहरू हल्लिइरहे । कहिलेकाहीँ ती हात म सपनामा देख्ने गर्छु ।

‘शून्यको मूल्य’ पुस्तकका लेखक केसी बालरोग विशेषज्ञ हुन् ।

-कान्तिपुर

तपाईको प्रतिक्रिया