हराए वीरेन्द्रनगरका महत्त्वाकांक्षी योजना

सुर्खेत | चालु आर्थिक वर्ष २०७९/८० सकिन महिना दिन बाँकी छ । आर्थिक वर्ष सकिनै लाग्दा चालु बजेट कार्यान्वयन र नयाँ बजेट तयारीमा तीनै तहका सरकारहरू छन् । हरेक वर्ष बजेटमा महत्त्वाकांक्षी उद्देश्य बोकेका कार्यक्रमहरू समावेशको अवस्था संघ, प्रदेशमा मात्र होइन, स्थानीय तहमा पनि उस्तै छ । सम्भावना, अध्ययन तथा विशेष तयारीबिना नै हचुवाको भरमा बजेटमा समावेश हुने यस्ता योजनाहरूले केही समय नागरिकको ध्यान त आकर्षण गर्छन् । तर, विकासको नाम दिइने यी योजनाहरूको कार्यान्वयन पक्ष भने ज्यादै फितलो छ ।

वीरेन्द्रनगर नगरपालिकाले समेत विगत पाँच वर्षमा यस्ता महत्त्वाकांक्षी दर्जनौँ योजनाहरू आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । नगरपालिकाको वार्षिक नीतिमा समावेश हुने कार्यक्रमको अवस्था सदैव उस्तै नै हुन्छन् । फरक यति मात्र हो कि, हरेक वर्ष नयाँ महत्त्वाकांक्षी योजनाहरू भने आइरहन्छन् । कार्यान्वयन प्रक्रिया पनि अघि बढाइन्छ र त्यसै हराउँछन् ।

संघीयतापछि दुईपटक चुनाव भएर जनप्रतिनिधिहरूको दोस्रो कार्यकाल चलिरहेको छ । यसबीच वीरेन्द्रनगर नगरपालिकामा दर्जनौँ यस्ता योजनाहरू नीतिमा समावेश भए, तर हालसम्म पनि कार्यान्वयनमा भने आएका छैनन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले काँक्रेविहार संरक्षण क्षेत्रमा चिडियाखाना निर्माण गर्ने नीति लिएको अहिले पाँच वर्षभन्दा बढी भइसक्यो । तर, हालसम्म पनि नगरपालिकाले यो योजना अघि बढाउन भने सकेको छैन । आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ‘पर्यटन प्रवर्द्धनका लागि वीरेन्द्रनगर–९ मा चिडियाखाना निर्माण गरिनेछ,’ विषय समावेश गरेको थियो ।

सोपछिका आर्थिक वर्षमा काँक्रेविहार संरक्षण क्षेत्रमा चिडियाखाना निर्माण गर्ने र त्यहाँका वन्यजन्तुको बासस्थानको सुरक्षा तथा पानीको व्यवस्थापन गर्ने विषय वार्षिक नीतिमा निरन्तर समेटिँदै आएको छ । चिडियाखाना निर्माण नीति लिइएको पाँच वर्ष भइसक्दासमेत नगरपालिकाले यो प्रक्रिया अघि बढाउन सकेको भने छैन ।

यस्तै, नगरका १६ वटै वडामा कृषि गतिविधि बढाउन र विचौलियालाई वहिष्कार गर्ने उद्देश्य लिएको नगरपालिकाले प्रत्येक वडामा हाटबजार सञ्चालन गर्ने नीति लिएको पनि पाँच वर्षभन्दा बढी भइसक्यो । आर्थिक वर्ष २०७५/७६ मा नगरले हाटबजार सञ्चालनको नीति नगरले आर्थिक वर्ष २०७९/८० मा तरकारी एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना अगाडि सारेको थियो ।

हालको समयमा केही वडाले हाटबजार सञ्चालनका लागि प्रक्रिया अघि बढाए पनि जग्गा अभावका कारण अघि बढ्न सकेन । पाँच वर्षको अवधिमा हाटबजार सञ्चालनका लागि वडा कार्यालयसँग जग्गाको घेरबार र स–साना टहरा निर्माणबाहेकको बजेट उपलब्ध छैन । तरकारी एम्बुलेन्स सञ्चालन नीति आफैँमा कमजोर भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा वीरेन्द्रनगर नगरपालिकाले ‘सुर्खेत बसपार्क’ सञ्चालनमा ल्याउने विषय आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो । वीरेन्द्रनगर–१ मा सुर्खेत बसपार्क निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार र निजीक्षेत्रसँग सहकार्य गर्दै सार्वजनिक निजी साझेदारीको अवधारणाअनुरुप निर्माण कार्य अगाडि बढाउने भनिएको दुई वर्ष पुग्न थालेको छ ।

यसैगरी, चालु आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा नगर बस सञ्चालनमा ल्याउने विषयलाई समेत समावेश गरेको थियो । ‘नगरवासीहरूलाई सहज आवागमनका लागि नगर बस सञ्चालन कार्यविधि निर्माण गरी सञ्चालन प्रक्रिया अगाडि बढाइनेछ’ भनेर नीति तथा कार्यक्रममा भनियो । तर, हालसम्म पनि यस विषयमा नगरपालिकाले ठोस प्रक्रिया अघि बढाउन सकेको छैन ।

आर्थिक वर्ष २०७६/७७ मा वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगर–६ स्थित हटिया क्षेत्रमा सुविधासम्पन्न सपिङ कम्प्लेक्स निर्माण गर्ने योजना बनाएको थियो । यस विषयलाई नगरपालिकाले आफ्नो आन्तरिक आम्दानीको स्रोत वृद्धि गर्ने योजना अघि सारेको थियो । नगरपालिकालाई उप–महानगरपालिका बनाउन आन्तरिक राजस्व वृद्धिमा यस्ता योजनाहरू सकारात्मक थिए । तर, नगरपालिकाले यो विषयलाई हालसम्म पनि अगाडि बढाएको छैन ।

‘आधुनिक सपिङ कम्प्लेक्स निर्माणको काम सुरु गर्दै अन्य स्थानका सार्वजनिक जमिनहरूमा समेत सार्वजनिक नीति साझेदारी अवधारणामा पसल, कवल, पार्क निर्माण गर्न निजीक्षेत्रलाई प्रोत्साहन गरिनेछ,’ सो आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले बढी सवारी चाप भएका स्थानहरूमा आकाशे पुल निर्माण गर्ने विषयसमेत नीतिमा समावेश थियो । ‘मंगलगढी र एरिचोकमा सम्भाव्यता अध्ययन गरी आकाशे पुल निर्माण गरिनेछ’ भनेर नगरपालिकाले नीति बनाए पनि यस विषयमा नगरपालिकाले ठोस काम अघि बढाएको देखिँदैन ।

यसैगरी फुटपाथ, साइकल लेन, सवारी पार्किङ, रोडमा लाइनिङ र ट्राफिक लाइटसमेतको डिजाइन गरी नमुना सडक निर्माण गर्ने विषयसमेत नगरक्षेत्रमा निर्माण हुन सकेका छैनन् ।

यस्तै, नगरपालिका क्षेत्रमा मदिरा र सुर्तीजन्य पदार्थको उपलब्धता सबै स्थानमा छ । नागरिक जनस्वास्थ्यसँग जोडिएको यस विषयमा नियामक निकाय वीरेन्द्रनगर नगरपालिका नै हो । नगरले यसको सर्वसुलभ उपलब्धतालाई नियन्त्रण गर्न खोजेको पनि धेरै वर्ष भइसकेको छ । सहज उपलब्धतालाई निरुत्साहित गर्ने र यसको वितरण प्रणालीमा नियन्त्रण जनाउने विषय नगरको नीति तथा कार्यक्रममा समावेश हुन थालेको २०७५/७६ देखि नै हो ।

तर, हालसम्म पनि नगरभित्रका सबै क्षेत्रमा मदिरा र सुर्तीजन्य पदार्थ सहज रूपमै उपलब्ध छन् । ‘मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न, उपलब्धतालाई नियन्त्रण, बिक्रीवितरणलाई उचित स्थान र समयलाई व्यवस्थित गर्न अनुगमन तथा नियमन गर्ने व्यवस्था मिलाउने’ भन्ने नगरको नीतिमा हरेक वर्ष उल्लेख हुन्छ । तर, कार्यान्वयन हुँदैन ।

आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाले निश्चित क्षेत्रमा अटो ग्यारेज सञ्चालन गराउने नीति लिएको थियो । अटो ग्यारेज तथा उद्योगहरूलाई निश्चित क्षेत्र तोकी सो क्षेत्रभित्र मात्र सञ्चालन गर्न दिने नगरको नीति थियो । तर, हाल वीरेन्द्रनगरमा आफूखुसी अटो ग्यारेजहरू सञ्चालनमा छन् । यसले शहरको सौन्दर्यमा समेत असर गरेको छ । यसैगरी, ठूला खाले सवारीसाधनलाई समेत मर्मत सम्भारका लागि क्षेत्र निर्धारण गरी ती खाले व्यवसायहरू एकीकृत रूपमा सञ्चालनमा आउन सकेको देखिँदैन ।

अटो भिलेज अथवा अटो ग्यारेज सञ्चालनका विषयमा सुर्खेत उद्योग वाणिज्य संघ सो समय निकै उत्साहित थियो । एकीकृत रूपमा एकै स्थानबाट सवारीसाधन मर्मतलगायतका सेवा उपलब्ध हुने भएपछि संघले नगरपालिकासँग समन्वयकारी भूमिका निर्वाह गर्न तयार थियो । तर, नीतिमा यस कार्यक्रम समावेश गरे पनि कार्यान्वयन नहुँदा भने निजीक्षेत्र अहिले स्थानीय तहलाई विश्वास गरिहाल्न सक्ने अवस्थामा छैन ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने, ‘अटो भिलेज बनाउनुपर्छ भनेर हामीले माग राखेको राख्यै छौँ । वीरेन्द्रनगर नगरपालिका मात्र होइन, प्रदेश सरकारलाई समेत भनेका छौँ । तर, अहिलेसम्म सुनुवाइ नै भएको छैन ।’

बजेटमा समावेश भए पनि कार्यान्वयन पक्ष कमजोर भएको उनको गुनासो छ । ‘बजार क्षेत्रमा मनपरी रूपमा अटो ग्यारेजहरू सञ्चालनमा छन् । मापदण्डअनुसारको व्यवस्थाापन छैन । सडकक्षेत्रमै गाडी मर्मत गर्छन् । यसले नगरको सौन्दर्य नै बिगारेको छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया