वीरेन्द्रनगरको तापक्रम १० वर्षयताकै उच्च

बालबालिकाको विशेष ख्याल राख्न डाक्टर केसीको आग्रह

सुर्खेत । केही सातायता नेपालमा निरन्तर तापक्रम बढिरहेको छ । जेठ १६ गतेदेखि बढ्न थालेको तापक्रम पछिल्ला चार दिनयता भने ह्वात्तै बढेको छ । यो क्रम तराईका क्षेत्रमा बढी देखिएको छ । अहिले तराई तथा भित्री मधेसका अधिकांश स्थानको तापक्रम ४० डिग्रीभन्दा माथि छ । सरदर खडेरीमा २८ देखि ३० डिग्री औषत तापमान पुग्ने सुर्खेतमा यसपटक ३९ दशमलव चार डिग्री सेल्सियस तापक्रम मापन भएको रेकर्ड छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार वीरेन्द्रनगरको तापक्रम ३९ दशमलव चार डिग्री सेल्सियस मापन भएको छ । वीरेन्द्रनगरमा मापन भएको यो तापमान हालसम्मको दोस्रो रेकर्ड हो । २०६९ जेठ ३२ गते वीरेन्द्रनगरमा अहिलेसम्मकै उच्चतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । जबकि सबैभन्दा कम तापक्रम २०६९ पुस २५ गते माइनस शून्य दशमलव सात डिग्री सेल्सियस मापन भएको रेकर्ड छ । यस्तै, सुर्खेतमा सरदर वर्षाको औषतमा सबैभन्दा धेरै २०७१ साउन ३० गते चार सय २३ मिलिमिटर वर्षा मापन भएको थियो ।

पछिल्लो समय गर्मी ह्वात्तै बढ्न थालेपछि वीरेन्द्रनगरको जनजीवन प्रभावित बनेको छ । दिउँसोको समयमा हुने प्रचण्ड गर्मीका कारण चल्ने तातो हावाले स्वास्थ्यमा प्रत्यक्ष असरसमेत पारिरहेको छ । जलवायु परिवर्तनका कारण वीरेन्द्रनगर वर्षेनि विभिन्न प्राकृतिक प्रकोपको जोखिममा पर्ने गरेको छ । बढ्दो जनघनत्व त्यसमा पनि भरपर्दो बिजुली नहँुदा थप समस्या उत्पन्न भएको छ । मागअनुसारको बिजुली आपूर्ति नहँुदा रातको समयमा पनि सहज सुत्न सकिने अवस्थासमेत वीरेन्द्रनगरमा छैन ।

गर्मी बढेसँगै वीरेन्द्रनगरका शैक्षिक संस्थाहरू बन्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम अझै केही दिन लम्बिने देखिएको छ । विभागले यस्तो अवस्थामा आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने देखिन्छ ।

‘जेठ १६ गतेदेखि लगातार तापक्रममा वृद्धि भइरहेको छ । यो अझै करिब चार-पाँच दिनसम्म लम्बिने सम्भावना छ । मनसुन १३ जुनमा प्रवेश गर्ने औषत समय भए पनि एक दुई दिन ढिला हुने देखिएको छ । मौसमविद् निराजन सापकोटा भन्छन्, ‘मनसुन अहिले भारतको केरला आइपुगेको छ । यसपटक मनसुन भित्रिए पनि केही दिन पानी परेर फेरि सुक्खा हुने देखिएको छ ।

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तसर्थ देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावाको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ । यस्तै, पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना देखिएकाले यसबाट सुर्खेतसमेत प्रभावित हुने मौसमविद् सापकोटा बताउँछन् ।

सुर्खेत तातो हावा (लु) चल्न सक्ने सम्भावित क्षेत्रमा समेत पर्दछ । कर्णालीका हिमाली जिल्लामा आंशिक बदली भए पनि तल्लो क्षेत्रमा आगामी केही दिनसम्म वर्षाको सम्भावना नरहेको उनको भनाइ छ ।

बालबालिकाको विशेष ख्याल राखौँः डा. केसी

अन्य बेलाभन्दा गर्मीका समयमा बालबालिकाको विशेष ख्याल राख्नुपर्ने बालरोग विषेशज्ञ डा. नवराज केसी बताउँछन् । यो बेला बालबालिकालाई खानपान तथा स्याहारसुसारमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

गर्मी मौसममा झिङ्गा बढी लाग्नाले बालबालिकामा झाडापखाला, बान्ता, आउँ, मासी, टाइफाइडजस्ता रोग लाग्ने तथा उच्च ज्वरो आउने डाक्टर केसी बताउँछन् । पानीको मुहान सुक्दै जानाले पानीको अभाव हुने र त्यसमा पनि कीटाणुको संक्रमणले पानीजन्य रोगको जोखिमा बालबालिका रहने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया