मुगुको सोरु गाउँपालिकामा खाद्यान्‍न संकट

मुगु। मुगुको सोरु गाउँपालिका भीइ गाउँकी कमला नेपाली खाद्यान्न लिन चार घण्टा हिँडेर बुधबार सोरुकोट आइन् । बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उनी खाद्यान्न लिन सोरुकोट खाद्य डिपो आएकी हुन् । घरमा अन्न सकियो, त्यसैले चार घण्टा हिँडेर सोरुकोट चामल लिन आएकी हुँ”, नेपालीले भनिन्, “गाउँमा भोकमरी छ, अनाज किन्न पाइँदैन ।

नेपाली मात्रै नभई आठ गाउँका बासिन्दा चामल किन्न सोरुकोट आएकी छन् । सोरुकोट डिपोमा पनि पर्याप्त मात्रामा चामल छैन । घण्टौँ लाइनमा बसेर पनि उनीहरुले चाहेजति चामल पाउन सकेका छैनन् ।भोकभोकै पैँतला दुखाएर सोरुकोट खाद्यान्न लिन आए”, भीइ गाउँकी पानमती डागरले भनिन्, “एक प्याकेट चामल पाउन पनि सास्ती भयो ।

सोरु गाउँपालिकाका सबै गाउँमा खाद्यान्न अभाव चुलिएको छ । गत वर्ष असोजको बाढी पहिरोले गहुँ, जौँ नष्ट हुँदा स्थानीयलाई अनिकालले पिरोलेको हो । ज्यालादारी गरी कमाएको पैसा बोकेर स्थानीयवासी चामल खरिद गर्न खाद्य डिपोदेखि व्यापारीको दैलो चहार्न थालेका छन् । केही स्थानीयले खेतबारीमा पाकेको गहुँ र जौँबाटै गर्जो टार्न थालेका छन् ।

तपाईको प्रतिक्रिया