ठूलो मात्रामा लगाइएको अवैध अफिम खेती फँडानी

सुर्खेत । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले ठूलो मात्रामा लगाइएको अवैध अफिम खेती फँडानी गरेको छ। आर्थिक वर्ष २०७९/८० को साउन देखि २०८० को असार अन्तिमसम्म १०४.५६ रोपनी क्षेत्रफलमा लगाइएको अवैध अफिम नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार विभिन्न समयमा जिल्लाको आठबिसकोट नगरपालिका–१ को उबाखोला, वडा नं.–२ को पहाडा र स्याला, वडा नं.–३ पाटागाउँ र कालोजुरा, वडा नं.–१३ को हाम्फा, सानोभेरी गाउँपालिका–७ को फुक्रु र मुसीकोट नगरपालिका–१० को ठुलो पोखरलगायतका क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरिएको छ।

उहाँले अवैध अफिम फँडानीका लागि जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले अभियान नै सञ्चालन गरी नष्ट गरेको बताए। अवैध अफिम खेती भइरहेको विशेष सूचनाको आधारमा प्रहरीको एक टोली खेती गरिएको स्थानमा पुगेर फँडानी गरेको हो।

अवैध अफिम खेती गर्ने व्यक्तिको खोजतलास भइरहेको प्रहरीको भनाइ छ। जिल्लामा प्रहरीले हरेक वर्ष अफिम खेती फँडानी अभियान सञ्चालन गर्ने गरेको छ तर अफिम खेती गर्ने व्यक्तिलाई भने कारबाही भएको पाइँदैन। खेती गर्ने व्यक्तिको पहिचान हुन नसक्दा कारबाही हुन नसकेको भनाइ प्रहरीको छ।

तपाईको प्रतिक्रिया