विमानस्थल निर्माण योजना दैलेख र जाजरकोटमा चर्चा मात्रै

सुर्खेत । दैलेखको दुल्लू निवासी ६९ वर्षीय करबहादुर थापाले गाउँमा हेलिकोप्टर आउँदा कुदेर हेर्न गएको अझै बिर्सेका छैनन् । ‘दुल्लू बजारको माथि डाँडामा हेलिकोप्टर आयो, हेलिकोप्टरमा आएका मानिसहरू ओर्लेर दुरबिनबाट चारैतिर हेरे’ उनी सम्झन्छन्, ‘विमानस्थल बनाउनका लागि अध्ययन गर्न आएका थिए ।

यो करिब दुई दशकअघिकै कुरा हो । तर त्यसपछि भने विमानस्थल निर्माणबारे आफू बेखबर बनेको थापा बनाउँछन् । त्यसो त दैलेखमा विमानस्थल बन्ने चर्चा उनले बाल्यकालदेखि नै सुनेका थिए । उक्त चर्चा उनी बुढेसकालमा पुगिसक्दा पनि चर्चामै सीमित हुन पुगेको छ । अब भने विमानस्थल बन्ने कुरामा थापालाई पटक्कै विश्वास छैन । ‘खै अब त बन्दैन होला, केटाकेटीदेखि सुनेको मर्नेबेला भइसक्यो, बनेको छैन’ उनले निराशा पोखे ।

दैलेखमा विमानस्थल निर्माणको चर्चा हुन थालेको निकै अघिदेखि हो । महावु गाउँपालिकाको वडा नं. २ मानन्चौरमा विमानस्थल निर्माणका लागि २०४८ सालमा नै पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो । तर त्यतिबेला गरिएको अध्ययनको प्रतिवेदन हालसम्म पनि सार्वजनिक हुन सकेको छैन । महावुसहित जिल्लाका तीन स्थानीय तहका विभिन्न स्थानमा विमानस्थल निर्माणका लागि पहल थालिएपनि काम अघि बढेको छैन । नारायण नगरपालिकाको धिताहा, महावु गाउँपालिकाको मानन्चौर र दुल्लू नगरपालिकाको ठाडोलेखमा विमानस्थल निर्माण प्रारम्भिक अध्ययन र छलफल भएको थियो । यो विषय अहिले भने आझेलमा परेको छ ।

पछिल्ला वर्षहरूमा पनि दैलेखमा विमानस्थल बनाउनुपर्ने माग र चर्चा चलिरहन्छ । २०७३ सालमा दुल्लू नगरपालिका वडा नं। ५ को ठाडोलेखमा विमानस्थल बन्ने कुरा चर्चामा थियो । त्यतिबेला त्यहाँका नागरिक उत्साहित बने । अहिले उक्त कुरा चर्चा हुन समेत छोडेको छ । त्यतिबेला नगरपालिकाका दुई÷तीन स्थानमा विमानस्थल निर्माणका लागि भनेर सम्भाव्यता अध्ययन गर्ने कुरा गरिएको भएपनि काम अघि बढ्न सकेन ।

दुल्लू नगरपालिकामा ‘स्मार्ट सिटी’ को अवधारणासँगै विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनको विषयले प्राथमिकता पाएको दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य घनश्याम भण्डारीले बताए । उनले भने, ‘धेरै पटक, धेरै ठाउँमा विमानस्थल बन्ने कुरा भयो । अहिलेसम्म सम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन ।’ नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत चासो नदिएका कारण पनि अध्ययनको काम अघि नबढेको भण्डारी बताउँछन् । स्थानीय सरकारले मात्र पहल गरेर नहुने भएकाले यो विषय सेलाएको उनले बताए । भन्छन्, ‘विमानस्थल बन्ने चर्चा चलेको बेला म दुल्लू नगरपालिकाको प्रमुख थिएँ । मैले मात्र पहल गरेर यो कुरा सम्भव थिएन । अहिले प्रदेशसभामा भएकाले यस विषयमा पहल भने गरिरहेको छु ।’

भैरवी गाउँपालिकाको वडा नं. १ को रातीखालमा समेत विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनको चर्चा थियो । भण्डारी भन्छन्, ‘विमानस्थल निर्माण गर्नुपर्ने आवश्यता हो । त्यसका लागि आवश्यक वातावरण निर्माण हुन सकेको छैन ।’ नारायण नगरपालिका वडा नं. ५ को धिताहामा २०६७/२०७३ सालमा गरी दुई पटक सम्भाव्यता अध्ययन गरियो । उक्त स्थान विमानस्थल निर्माण गर्नका लागि उपयुक्त भए–नभएकोबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छैन । त्यतिबेला विमानस्थल निर्माणका लागि निकै चर्चा थियो । तर, अहिलेसम्म कुनैपनि काम अगाडि बढेको छैन । स्थानीय सरकारले चासो नदिएका कारण सो काम अघि नबढेको स्थानीय बताउँछन् ।

विमानस्थल बन्ने कुरा चियागफ र दलका नेताको चुनावी नारामा मात्रै सीमित भएको छ । अरु बेला सुनसान हुने विमानस्थल निर्माणको कुरा चुनाव आएपछि मात्र हल्ला र गम्भीर विषय बन्ने गरेका छन् । पछिल्लो समयमा पहल गर्ने मान्छे नहुँदा विमानस्थलको विषय त्यसै सेलाएर गएको महावु गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष प्रकाश थापाले बताए ।

दैलेखबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरबहादुर थापाले विमानस्थल निर्माणका लागि पहल थालिएपनि सम्बन्धित ठाउँमा कार्यान्वयन नभएको बताए । दैलेखका लागि पनि सुर्खेत विमानस्थल नै उपयुक्त रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले चासो नदिएको उनको भनाइ छ । थापाले भने, ‘दैलेखमा विमानस्थल सञ्चालनमा चुनौती छ भन्ने बुझाइ छ । दैलेख–सुर्खेतको दुरी समेत नजिक रहेकाले पनि यो विषय अघि नबढेको हो ।’

जाजरकोटमा पनि चर्चा

कर्णाली प्रदेशको अर्को जिल्ला जाजरकोटमा पनि विमानस्थल निर्माणको योजना चर्चामै सीमित हुँदै आएको छ । भेरी नगरपालिकाको वडा नं। १ वडालेखमा विमानस्थल निर्माण कुरा चलेको हो । अहिले उक्त विषय ओझेलमा परेको छ ।

विमानस्थल बनाउनुपर्ने चर्चा र छलफल भएपनि थप प्रक्रिया भने अघि बढ्न सकेन । नगरपालिकामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनको काम समेत सुरु नभएको नगरकी उपप्रमुख सीता जैसीले बताइन् । जाजरकोटलाई समेत लक्षित गरेर रूकुम–पश्चिममा विमानस्थल सञ्चालन गरिएको छ । – यो समाचार साझा बिसौनी दैनिकमा प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया