हुम्लाकाे तीन तले घरमा आगलागी हुँदा २४ लाखको क्षति

हुम्ला । शनिबार बिहान तीन तले कच्ची घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ । घरको माथिल्लो तलामा बिजुली सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो ।

फाइल फाेटाे

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सिमकोट गाउँपालिका–८ को लिगुडे खेतमा रहेको ५५ वर्षका जसबिर शाहीको तीन तले घरको भवनको माथिल्लो तलाबाट आगलागी भएको बताए ।

उनले आगलागीबाट माथिल्लो तलमा रहेका चार कोठा, बीच तलाको तीन वटा कोठा, घरमा रहेको लत्ताकपडा, अन्नपात, सुनचाँदी र काठ जलेर नष्ट हुँदा २४ लाख मूल्यको क्षति भएको प्रहरी मुचुल्कामा उल्लेख भएको बताए ।

आगलागीको खबर प्राप्त भए लगत्तै प्रहरी चौकी धारापोरीबाट गएको सात जना प्रहरीको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी बिहानै भएको कारण मानवीय क्षति हुन नपाएको भट्टराईले बताए। सिमकोटमा शनिबार बिहानैबाट पानी परिरहेको छ । घर आगलागी भएपछि शाहीको परिवार बिचल्लनीमा परेका छन् ।

तपाईको प्रतिक्रिया