सुर्खेतमा लालपुर्जा वितरण अभियानले गति लियो

सुर्खेत । भूमिसम्बन्धी समस्या समाधान आयोग सुर्खेतले सुर्खेतको भेरीगङ्गा नगर पालिका–८ का २१३ जना भूमिविहीनलाई आइतबार लालपुर्जा वितरण गरेको छ । शनिबार गुर्भाकोट नगरपालिकाका २४३ जनालाई लालपुर्जा वितरण गरिएको थियो ।

भूमिसम्बन्धी समस्या समाधान आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलका अनुसार भेरीगङ्गाकै अन्य वडाका भूमिविहीनलाई पनि लालपुर्जा दिने काम भइरहेको छ । गएको हप्ता पञ्चपुरी नगर पालिकाका २१५ जनालाई लालपुर्जा वितरण गरिएको जनाइएको छ ।

गुर्भाकोटको मेहलकुनामा शनिबार लालपुर्जा वितरण कार्यक्रममा उपप्रधानमन्त्री तथा र क्षामन्त्री पूर्णबहादुर खड्काले पुर्जा पाउने सबैले जग्गाको संरक्षण गर्नुपर्ने बताएका थिए । उनले नयाँ जग्गाको नापीको काम धमाधम भइरहेकोमा भूमि आयोग सुर्खेतलाई धन्यवाद दिए ।

उनले अहिले पहिलो चरण अन्तर्गत पुर्जा दिने काम सम्पन्न भएकाले अब कोही पनि भूमिविहीन हुनुनपर्ने गरी काम गर्ने आयोगलाई अनुरोध गरे । सुर्खेतका अव्यवस्थित बसोबास, भूमिहीन दलित, सुकुमवासीका समस्या समाधानतर्फ आयोगले काम गरिरहेको छ ।

नापजाँच भएर अधुरा रहेका जग्गाको लालपुर्जा वितरणको काम भइरहेको छ । अधुरा रहेका काम सके र अव्यवस्थित बसोबासको व्यवस्थापन तथा लालपुर्जा दिने कार्य सुरुवात गर्ने तयारी आयोगले गरेको छ ।

सुर्खेतमा अव्यवस्थित बसोबास, भूमिहीन दलित र सुकुम्वासीका गरी झन्डै ४८ हजार निवेदन संकलन भएका थिए । भूमिसम्बन्धी समस्या समाधान आयोगले सुर्खेतमा गरेको लगत संकलनको क्रममा उक्त संख्यामा निवेदन परेका हुन् । तीमध्ये ४२ हजार आवेदन अव्यवस्थित बसोबासीका छन् ।

पहिलो चरणमा नापजाँच भएर बाँकी रहेका जग्गाको लालपुर्जा वितरण भइरहेको आयोगका अध्यक्ष पौड्यालले जानकारी दिए । पछिल्लो समय सुर्खेतमा पूर्जा वितरणको कामले गति लिएको छ ।

तपाईको प्रतिक्रिया