सुर्खेतमा एक महिनामा १ हजार बढीले लिन्छन् राहदानी

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट गत वर्ष २०७९ को वैशाखदेखि २०८० को असार २९ गतेसम्म १५ हजार आठ सय आठ जनाले राहदानी लिएका छन् । चालु वर्षको बैशाखदेखि असार २९ सम्मको तीन महिनाको अवधिमा मात्रै तीन हजार नौ जनाले राहदानी लिएको सुर्खेत प्रशासनले जनाएको छ ।

यो संख्या सुर्खेत प्रशासनबाट मात्रै राहदानी लिनेहरुको हो । योभन्दा धेरैले काठमाडौंबाट राहदानी बनाउने गरेका छन् । वैदेशिक रोजगारी र अध्ययनका लागि तत्काल जान चाहनेहरुले काठमाडौं र अलि ढिला गरी जानेहरुले जिल्लाबाट राहदानी लिने गरेका छन् ।

राहदानी बनाउँनेहरुमा अधिकांश वैदेशिक रोजगारी, त्यसपछि उच्च शिक्षा अध्ययन र भ्रमणमा जान चाहनेहरु रहेको जिल्ला प्रशासनले जनाएको छ । यो विद्युतिय राहदानी वितरण सुरु भएयता १५ महिनाको अवधिमा सुर्खेत प्रशासनबाट राहदानी बनाउँनेहरुको संख्या हो । स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै दैनिक वैदेशिक रोजगारीका लागि राहदानी बनाउन धेरैजसो युवायुवतीहरु आउने गरेको राहदानी शाखाका खरिदार देवबहादुर ठाडामगर बताए ।

रोजगारीसँगै उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा जाने युवायुवतीको संख्यामा समेत बृद्धि भइरहेको उनले बताए । राहदानी लिनेहरुमा महिलाको तुलनामा पुरुष बढी रहेको प्रशासनले जनाएको छ । यो अवधिमा राहदानी वितरणबाट झण्डै सात करोड ९० लाख ४० हजार राजश्ज संकलन भएको छ ।

सुर्खेतमा यति मात्रै होइन रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेहरुको संख्यासमेत बढ्दो छ । श्रम तथा रोजगार कार्यालय सुर्खेतको वार्षिक प्रगति विवरणका अनुसार २०७८ मा वैदेशिक रोजगारीबाट फर्किएका एक हजार सात सय १५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । जसमा एक हजार ६ सय २१ जना पुरुष र ९४ जना महिला रहेका छन् । कार्यालयले त्यसयताको तथ्यांक भने अद्यावधिक गरेको छैन ।

यस्तै रोजगारी तथा विविध कारणवश कर्णाली प्रदेशका ६२ हजार ७ सय २८ परिवारका सदस्य अन्य मुलुकमा बसोबास गर्दै आएका छन् । जसमध्ये ९४ हजार ३ सय २० जना नागरिक विदेशमा बसोबास गर्ने गरेका छन् । राष्ट्रिय तथ्यांकका आधारमा यो संख्या ज्यादै न्यून भने हो । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालभरबाट कुल २१ लाख ९० हजार पाँच सय ९२ जना विदेशमा रोजगारी तथा अन्य कारणले बसोबास गर्दै आएको देखिन्छ । नेपालभरको तुलनामा कर्णालीबाट विदेशिनेमा कुल चार दशमलव ३१ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया