वीरेन्द्रनगरकाे खानेपानी स्रोत उहि स्तरोन्तीमा ध्यान नदिदा समस्या बढ्याे

सुर्खेत । पछिल्लो समय प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा खानेपानीको संकट चुलिदै गएको छ । वीरेन्द्रनगरमा हाल दैनिक दुई करोड ५२ लाख लिटर पिउने पानीको अभाव हुँदै आएको छ । दैनिक तीन सय ४७ लिटरप्रति सेकण्ड अर्र्थात तीन करोड लिटर पानीको माग हुँदा हाल ७० लिटर पानी मात्रै आपुर्ति हुने गरेको छ ।

खडेरी बाहेक अन्य समयमा दैनिक सरदर एक सय १६ लिटरप्रति सेकेण्ड पानी वितरण हुँदै आएकोमा हाल खडेरी र पहिरोका कारण प्रशारण लाइनमा क्षति पुग्दा दैनिक ७० लिटरप्रति सेकण्ड अर्थात ६० लाख ४८ हजार लिटर पानी आपूर्ति हुँदै आएको छ । उपत्यकामा खानेपानी वितरणको जिम्मा पाएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जेष्ठ २५ गतेसम्म दैनिक ६८ लिटरप्रति सेकेण्ड अर्थात ५८ लाख ७५ हजार दुई सय लिटर पानी वितरण गर्दै आएको थियो । असार १२ गते राति परेको वर्षाका कारण आएको बाढीले प्रशारण लाइनमा क्षति पु¥याएपछि झण्डै दुई साता बन्द भएको पानीको आपूर्ति बुधबारको पहिरोले सोही ठाउँमा पुनः क्षति पु¥याएपछि वीरेन्द्रनगरका प्राय क्षेत्रहरुमा खानेपानीको वितरण रोकिएको छ ।

बुधबार आएको बाढीले वीरेन्द्रनगरमा आपूर्ति हुने खानेपानीको मुख्य स्रोत झुप्रा खोला प्रशारण लाइनमा क्षति पु¥याएपछि खानेपानीको समस्या झनै चुलिएको छ । बाढीले प्रशारण लाइनको झण्डै ३० मिटर पाइप बगाएपछि खानेपानी वितरणमा समस्या आएको छ । क्षति पुगेको प्रशारण लाईन बनाउँन कम्तिमा दुई साता लाग्ने देखिन्छ । त्यसयता झुप्रा खोलाको पानी पूर्णरुपमा बन्द भएको छ भने, खुर्सानी बारी बैकल्पिक स्रोतबाट २० लिटर, खरीबोरी खोला ३० लिटर, इत्राम खोला १५ लिटर र खोर्के खोलाबाट दैनिक पाँच लिटर गरी प्रति सेकण्ड ७० लिटर पानी आपूर्ति हुँदै आएको संस्थाले जनाएको छ ।

वीरेन्द्रनगर क्षेत्रको माग अनुसार यो संख्या निकै कम हो । पानीको अभाव भएपछि समानुपातिक तवरले वितरण गर्न संस्थाले अहिले पानी वितरणका लागि निश्चित समय निर्धारण गरेको छ । वीरेन्द्रनगरमा पछिल्लो सर्वेक्षण अनुसार ३७ हजार घरधुरी छन् । अहिले २० हजार पाँच सय वटा संख्याको हाराहारीमा मात्र धारा जडान भएका छन् । यी धाराहरुमा हालको समयमा भने नियमित पानी नै आउँदैन । घरमा जडान भएका धारामा नियमित पानी आपूर्ति नभएपछि नागरिकहरु अन्य स्रोतसँग आपूर्तिका लागि भरपर्नुपर्ने बाध्यता छ ।

‘पुरानो संरचनाबाट माग अनुसारको आपूर्ति गर्न सकिदैन’

प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा खानेपानीको अभाव चुलिदै गएको छ । विक्रम संम्वत २०५९ सालमा वीरेन्द्रनगरमा प्रयोगमा आएका खानेपानीका स्रोतहरुको प्राविधिक अध्ययनका अनुसार इत्राम खोला, खोर्के खोला, बुलबुले र झुप्रा खोलाबाट एक सय चार लिटरप्रति सेकेण्ड खानेपानी ५२ हजार ६ सय २७ जनालाई पुग्ने गरी सुर्खेत उपत्यका खानेपानीको डिजाइन गरिएको थियो ।

उती बेला झुप्रा खोलाबाट प्रतिसेकण्ड एकसय ५३ लिटर पानी ल्याउन सकिने गरी आयोजनाको डिजाइन गरिएको थियो । हालको समयमा झुप्रा खोलामा पर्याप्त पानी हुँदा संरचनाका कारण माग अनुसारको पानी आपूर्ति गर्न समस्या भएको छ । बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै वीरेन्द्रनगरमा १५ वर्षमा बृद्धि हुनेसक्ने सम्भावित एक लाख चार हजार दुई सय २९ जनसंख्यालाई पुग्ने गरी पानी वितरण गर्ने आयोजनाको लक्ष्य थियो ।

विक्रम संम्वत २०६२ देखि २०७७ सम्म डिजाइन अवधि रहेको आयोजनाको हाल उक्त अवधि समाप्त भई सकेको छ । हाल वीरेन्द्रनगरको जनसंख्या दुई लाख बढी रहेको छ । उपत्यकामा बढ्दो सहरीकरणसँगै जनसंख्या बृद्धि हुँदै जादा खानेपानीको माग अनुसार आपूर्तिमा सन्तुलन कायम गर्न नसकिएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटा बताउँछन् । हाल सेवा क्षेत्रभित्र बसोवास गर्ने जनसंख्या डिजाइन अवधिमा अनुमान गरिएको भन्दा झण्डै ५० प्रतिशतले बृद्धि भएकोले आयोजनाको स्तरोन्ती हुनुपर्ने भएपनि संघ, प्रदेश र वीरेन्द्रनगर नगरपालिकाले कुनै चासो नदिएको अध्यक्ष देवकोटको भनाई छ । २५ वर्ष पुरानो खानेपानीको स्रोतले वीरेन्द्रनगरमा माग अनुसारको खानेपानीको आपूर्ति धान्न नसक्ने भन्दै २०६८ सालबाटै आयोजानाको पुनरावलोकनका लागि आवाज उठाउँदै आएको भएपनि सरकारी तवरबाट हालसम्म कुनै सुनुवाई नभएको देवकोटको गुनासो छ ।

हाल सञ्चालनमा रहेका खानेपानीका स्रोतहरुबाट हिउँद र वर्षाको समयमा प्रतिदिन औषत एक करोड ३५ लाख लिटर र सुख्खा खडेरीको समयमा औषत ८६ लाख लिटर आपूर्ति हुँदै आएको अध्यक्ष देवकोटाको भनाई छ । दैनिक खानेपानी सहज आपूति गर्न हिउँद र वर्षायाममा एक करोड पाँच लाख र खडेरीमा एक करोड ५४ लाख लिटर पानी अपुग हुने गरेको उनको भनाई छ । जलवायु परिवर्तनका कारण लामो समयसम्म वर्षा नहुँनाले पानीका स्रोतहरु दिनानुदिन सुक्दै जानाले थप समस्या उत्पन्न भएको अध्यक्ष देवकोटा बताउँछन् । वीरेन्द्रनगरको दीर्घकालिन खानेपानीको समस्या समाधानका लागि भेरी लिफ्ट खानेपानी आयोजनालाई यथासिघ्र अगाडि बढाउनु पर्ने र हालको सुर्खेत उपत्यकामा वितरण हुँदै आएको आयोजनाको स्तरोन्ती गरिनुपर्ने उनको भनाई छ । प्रदेश रैबार साप्ताहिकमा समाचार प्रकाशित छ । 

तपाईको प्रतिक्रिया