साँघुरा, कच्ची र अप्ठ्यारा सडकले कर्णालीका नागरिक आजित, बर्सेनि जान्छ सयौंको ज्यान

सुर्खेत । २०७८ मंसिर २६ गते मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भए । यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायाँनाथ रारा नगरपालिकाका मात्रै २९ जना थिए । सो दुर्घटनाले नगरपालिका पूरै शोकमा डुवायो ।

बाँकेको ढकेरी गाउँपालिकाबाट बिहेको भोज खाएर फर्किँदै गरेको रा १ ज ५६३ नम्बरको जिप २०७९ असोज १२ गते सल्यानको कपुरकोट गाउँपालिका–३, मुलपानीमा दुर्घटनामा प¥यो । दुर्घटनामा परी कपुरकोट–६, जलबाँङका आठ जनाले ज्यान गुमाए । नौं जना सवार जिप सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको थियो ।

त्यस्तै, जाजरकोटको छेडागाड नगरपालिका–३, जेवाबाट ४ नम्वर वडाको लेवातर्फ जाँदै गरेको कर्णाली प्रदेश २ ००१ च ०४२९ नम्बरको जिप २०७९ मंसिर २६ गते दुर्घटनामा प¥यो । विवाहमा भोज खान पुगेकाहरु सवार जिप साँघुरो सडक र तीव्र गतिका कारण सडकबाट दुई सय मिटर तल खसेको थियो ।

माथि उल्लेखित तीनवटा घटना कर्णालीमा सडकको गुणस्तरकै कारण बर्सेनि हुने भयानक दुर्घटनाका उदाहरण मात्र हुन् । पछिल्लो समय कर्णालीमा सवारी दुर्घटनाको ग्राफ उकालो लाग्दै छ । साँघुरा, कच्ची र अप्ठ्यारा सडक, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, ट्राफिक नियमको बेवास्ता लगायतका कारण कर्णालीमा बर्सेनि सडक दुर्घटना बढ्दै गएको देखिन्छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्राप्त विवरणअनुसार करिव १० वर्षको समयावधिमा कर्णालीका दुई हजार तीन सय ७० वटा सडक दुर्घटना भएका छन् । यी दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ सय ९१ छ । यस्ता दुर्घटनामा परी एक हजार ६ सय ५८ जनाले ज्यान गुमाएका छन् भने, एक हजार आठ सय ६५ जना घाइते भएका छन् ।

अघिल्लो आर्थिक वर्षमा २०७९/०८० मा कर्णाली प्रदेशमा भएका पाँच सय ४९ सडक दुर्घटनामा परी एक सय ३१ जनाले ज्यान गुमाएका थिए । जसमा एक सय एक जना पुरुष, २१ जना महिला, सात बालक र दुई बालिका रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यी दुर्घटनामा तीन सय ३८ जना गम्भीर घाइते भएका थिए ।

तीमध्ये एक सय ९४ जना पुरुष, ८२ महिला, ३८ बालक र १७ जना बालिका रहेका छन् । दुर्घटनामा परी सात सय ५५ जना सामान्य घाइते भएका छन् । जसमा पाँच सय तीन जना पुरुष, एक सय ७१ महिला, ३९ बालक र ४२ बालिका रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकमा उल्लेख छ ।

बर्सेनि सयौंको ज्यान जान्छ

कर्णालीमा आर्थिक वर्ष २०७७/०७८ देखि आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म एक हजार दुई सय ५५ वटा सडक दुर्घटना भएको प्रहरीको तथ्यांक छ । जसबाट तीन सय पाँच जना पुरुष, ७५ जना महिला, २२ जना बालक र सात जना बालिका गरी चार सय नौ जनाले ज्यान गुमाएका छन् । यस्तै आठ सय ९३ जना गम्भीर घाइते हुँदा एक हजार ६ सय ५३ जना सामान्य घाइते भएका छन् ।

मृतकको जिल्लागत तथ्यांकमा सुर्खेतमा ८३, सल्यानमा ६७, रुकुममा ३७, कालीकोटमा ३० र जाजरकोटमा ७५ जनाले ज्यान गुमाएका छन् । यस्तै, दैलेखमा ४१, जुम्लामा ३३, मुगुमा ४१, डोल्पामा ९ र हुम्लामा १९ जनाले ज्यान गुमाएका थिए । यस अवधिमा सबैभन्दा सुर्खेतमा ६ सय २३ वटा सवारी दुर्घटना भएका छन् । त्यसपछि सल्यानमा एक सय ३७, रुकुममा एक सय ११, दैलेखमा एक सय एक, जाजरकोटमा ७५ र जुम्लामा ६५ वटा सडक दुर्घटना भएका छन् । कालीकोटमा ६३, हुम्लामा ४७, मुगुमा २० र डोल्पामा १३ वटा सडक दुर्घटना भएको प्रदेश प्रहरीको तथ्यांक छ ।

राजधानी नै अस्तव्यस्त

२०७९/०८० मा सबैभन्दा बढी सडक दुर्घटना सुर्खेतमा भएका छन् । सुर्खेतमा तीन सय २० विभिन्न सवारी दुर्घटनामा परी ३० जनाले ज्यान गुमाएका छन् । एक सय ४१ जना गम्भीर घाइते हुँदा चार सय २१ जना सामान्य घाइते भएका छन् । सल्यानमा ५१ वटा सवारी दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने ५१ जना गम्भीर र ६३ जना सामान्य घाइे भएका छन् ।

रुकुमका ५० वटा सवारी दुर्घटनामा १३ को मृत्यु, ४९ गम्भीर, ७९ सामान्य, कालीकोटमा १८ सवारी दुर्घटनामा १६ को मृत्यु, १७ गम्भीर, २६ सामान्य, जाजरकोट ३२ दुर्घटनामा १७ को मृत्यु, २१ गम्भीर, ३८ सामान्य घाइते भएको प्रदेश प्रहरीको तथ्यांक छ । यस्तै, दैलेखमा ३९ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु, २९ जना गम्भीर, ६३ जना सामान्य घाइते भएका छन् ।

जुम्लामा २४ वटा सडक दुर्घटनामा परी ११ जनाको मृत्यु, १५ जना गम्भीर, ५० जना सामान्य घाइते भएका छन् । मुगुमा चार, डोल्पा ६ र हुम्ला पाँच वटा सडक दुर्घटना भएका छन् । तीन जिल्लामा दुई-दुई गरी जम्मा ६ जनाले ज्यान गुमाएका छन् । ६ जना गम्भीर घाइते हुँदा १५ जना सामान्य घाइते भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीका १० जिल्लामा चार सय १५ सवारी दुर्घटनामा परी एक सय ८० जनाले ज्यान गुमाएका थिए ।

सुरक्षा अभियानमा प्रहरी

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले असारबाटै बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गरी राजमार्गलाई सुरक्षित बनाउन अभियान थालनी गरेको छ । सुरक्षित कर्णाली विशेष अभियान, २०८० को कार्ययोजनाअन्तर्गत सडक तथा यात्रालाई सुरक्षित बनाउन सडक सुरक्षा अभियान सुरु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराई बताउँछन् ।

सुरक्षित यात्राका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरीका चेक पोस्टहरुमा कम्तीमा पाँच मिनेटसम्म ट्राफिक नियमसम्बन्धी सचेतना दिने, ट्राफिक चेकजाँच बढाउने, सवारी साधनको अवस्था चेकजाँच गर्ने, प्रहरीप्रति जनताको अपेक्षा तथा सुझावको बारेमा जानकारी लिने, गुनासो सुन्ने, सवारी चालकसँगै यात्रुहरुलाई सुरक्षित यात्राका लागि ट्राफिक नियम, सुरक्षा सावधानी सिकाउने लगायतका कामहरु प्रहरीले गरिरहेको प्रवक्ता भट्टराई बताउँछन् ।

तपाईको प्रतिक्रिया