पश्चिम सुर्खेतमा सडक सास्ती, राजमार्ग स्तरोन्नतिमा लापरबाही

सुर्खेत । पश्चिम सुर्खेतमा सडकको सहज पहुँच छैन । भएका सडक पनि जीर्ण छन् । वर्षात्को समयमा हिलाम्मे सडकले सास्ती दिन्छ भने हिँउदमा धुलाम्मे सडकको दुःख नागरिकले वर्षौंदेखि झेल्दै आएका छन् ।

मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिमका तीन वटा पालिका जोड्ने सडक स्तरोन्नति हुँदैछ । बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्डमा काम भइरहेको छ । यो सडक हुँदै दैनिक ठूलो संख्यामा मालबाहक, यात्रुबाहक र निजी सवारीसाधन ओहोरदोहोर गर्छन् । त्यही सडक बिचका खाल्डाखुल्डी र किनारमा थुपारीएका निर्माण सामग्रीले दुर्घटनाको जोखिम बढाइरहेको पञ्चपुरी नगरपालिका वडा नं। २ का पदम गिरी बताउँछन् । पुल र बाटो समयमा नबन्दा समस्या भइरहेको उनको भनाइ छ ।

एकातिर सडक नै जीर्ण अवस्थामा छ, त्यसमाथि निर्माणमा भएको ढिलाइले समस्या निम्त्याएको देखिन्छ । ‘राजमार्ग र प्रदेश सरकारले यो खण्डमा सडक निर्माणको काम गरिरहेको छ । काम निकै सुस्त छ’ गिरीले भने, ‘पश्चिम सुर्खेतका नागरिक सडक सास्तीले हैरान छन् ।’ सडकको दुरावस्थाकै कारण दिनहुँ दुर्घटना हुने गरेको पञ्चपुरी–२ कै सागर थापाले बताए । ठाँउठाँउमा सडक भत्काएर अलपत्र छाड्दा आफूहरूले दुःख पाएको उनको भनाइ छ । पैदल यात्रीलाई समेत आवतजावत गर्न समस्या भइरहेको जनाए । उनले भने, ‘सडकको यस्तो दुर्गतिले विकास निर्माणलाई गिज्याइरहेको छ । राजमार्ग विस्तार आयोजनाले समयमा निर्माण नसक्दा यस्तो समस्या भएको हो ।’

सडक निर्माण सुस्त

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका तीन खण्डमध्ये दुई खण्डमा काम सुरु भएको छ । सम्झौताअनुसारकै समयावधिभित्र निर्माण सम्पन्न गर्नेगरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्ड निर्माणको काम अघि बढाइएको हो । ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर सडक निर्माण थालिएको हो । जसमध्ये दुई वटामा निर्माण सम्झौता भइ काम सुरु भएको भएको छ ।

विद्यापुर–बल्दे सडक खण्डमा अहिले नाला र वाल निर्माणको काम भइरहेको छ । पश्चिम क्षेत्रका तीन खण्डमध्ये यो तेस्रो खण्ड हो । २२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा काम सम्पन्न गर्नेगरी बानियाँ मोतिदान डि।एस। जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । तर उक्त खण्डमा हालसम्म दश प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

रुख कटानको अनुमति नपाउँदा पनि सडक निर्माणमा अवरोध भएको छ । कटान आदेश नहुँदा सडकको बीचबीचमा रुख छोडेर काम गर्ने गरिएको छ । सडक निर्माणका लागि वन क्षेत्रका रुख काट्नुपर्ने हुन्छ । एक हजार तीन सय रुख काट्नका लागि टाँचा लगाइसकिएको छ । सडकको आफ्नो क्षेत्रभित्र पर्ने भएपनि सार्वजनिक जग्गामा रहेका रुख कटानका लागि अनुमति आइसकेको छैन । रुख कटानका लागि फाइल अघि बढेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर जीतेन्द्र शाहले बताए । उनले भने, ‘वन डिभिजनबाट टिप्पणी उठाएर वन मन्त्रालयमा फाइल पुगेको छ ।’

सडक निर्माणको काम गर्नका लागि वन बाधक बनेको शाहले बताए । उनका अनुसार आयोजनाले वन विभागसँग रुख कटानका लागि प्रक्रिया अघि बढाएको छ । त्यसपछि कामको भौतिक प्रगति देखिने छ । प्रक्रियागत ढिलाइले काममा असर पुगेको इन्जिनियर शाह बताउँछन् । काम गर्ने कामदारसमेत प्रर्याप्त नहुँदा आयोजनाको काम सुस्त भइरहेको छ ।

वर्षात्ले निर्माणको काम ठप्प

मदन भण्डारी राजमार्ग अन्तर्गतकै बड्डीचौर–खम्बागाडे सडक खण्डको काम भने रोकिएको छ । वर्षात्का कारण निर्माण कार्य रोकिएको जनाइएको छ । आउँदो भदौसम्मका लागि काम स्थगित गरिएको पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले जानकारी दिए ।

१२ किलोमिटरको बड्डीचौर–खम्बागाडे सडक खण्ड निर्माणको जिम्मा अनक जयदेवी जेभी बाँकेले पाएको छ । ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा लागतमा निर्माण सम्पन्न गर्नेगरी प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयले उक्त जेभीसँग सम्झौता गरेको हो । २०७९ देखि निर्माण सुरु गरिएको हो । सम्झौताअनुसार २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ ।

यो सडक खण्डमा सात किलोमिटर जंगल क्षेत्र परेको छ । चार किलोमिटरको काम भने लगभग सकिएको छ । यद्यपि, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ९इआईए० भने स्वीकृत भइसकेको छैन । स्वीकृतिका लागि मन्त्रालयमा पेस गरिएको छ । दुई वटा खण्डको काम भइरहे पनि राजमार्ग अन्तर्गत १० किलोमिटरको खम्बागाडे–विद्यापुर सडक खण्डको काम भने अघि बढ्न सकेको छैन । उक्त खण्डमा कामको सम्झौता गर्ने तयारी भइरहेको छ । – यो समाचार साझा बिसौनी दैनिकमा प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया