कर्णाली प्रदेश आन्दोलनको आठ वर्ष पूरा, र त्यो आन्दोलन..

वीरेन्द्रनगर । ८ वर्षअघि २०७२ साउन २३ गते मध्यराति प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरु सम्मिलित विशेष समितिले ६ प्रदेशको सीमाङ्कनसहितको खाका सार्वजनिक ग¥यो । खाका सार्वजनिक हुनु अगावै साविकको भेरी अञ्चलका बर्दिया र बाँकेवाहेक बाँकी जिल्ला र साविक कर्णालीका ५ वटा जिल्ला नै सुदूर–पश्चिममा मिसाउन लागेको यहाँका नागरिकले सुइँको पाइसकेका थिए । सीमाङ्कनको खाका सार्वजनिक नहुँदै साउन २२ गते नै मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई टुक्राउनु जायज नभएको भन्दै मध्यपश्चिम अखण्ड रहनुपर्ने आसयका आवाज उठ्न थालिसकेका थिए । सिमाङ्कनको खाका सार्वजनिक भयो । मध्यपश्चिमाञ्चलका केही जिल्लाबाहेक सुर्खेतसहितको क्षेत्र सुदूरपश्चिममा गाँभ्ने निर्णय मध्यपश्चिमाञ्चल विकास क्षेत्रका नागरिकलाई मान्य थिएन । जुन मान्य भएन पनि ।

आर्थिक, सामाजिक, भौगोलिक र व्यवहारिक मुद्दाहरु भएको मध्यपश्चिमका जनता क्षेत्रीय सदरमुकाम भएकाले पनि सुर्खेतबासीलाई ठूलो आशा थियो, संघीय प्रदेश बन्यो भने यो क्षेत्रको राजधानी सुर्खेत बन्नेछ । पंचायतकालमै मध्यपश्चिमाञ्चलको सदरमुकाम रहेको सुर्खेतको ऐतिहासिकता, ‘इगो’ र सो क्षेत्रको व्यवहारिकता केहीको पनि ख्याल नगरी सुर्खेत लागायतका जिल्लालाई सुदूर–पश्चिमको प्रदेशमा मिसाएपछि उनीहरुको आत्मासम्मानमा ठेस पुग्यो र छुट्टै प्रदेशको माग गर्दै सुर्खेतमा अखण्ड मध्यपश्चिम नारा दिएर आन्दोलन जन्मियो ।

प्रदेश सीमाङ्कनको खाका सार्वजनिक गरेसँगै ०७२ साउन २४ गते विहानै सुर्खेत तरङ्गीत भयो । एकाविहानै चिया चौतारीमा सुर्खेतीलाई डोटी जानु पर्ने भयो, यो त अति भइगयो भन्ने खालका चर्चा सुरु भए । यसरी चिया चौतारोमा सुरु भएका विरोधका आवाज एकाएक सडकमा पुग्ने स्थिति बन्यो । विरोधको रुपले आन्दोलनको स्वरुप बनाउँदै लग्यो । यसका तरङ्ले यहाँका हरेक नागरिकमा विद्रोहको भावना पैदा गरिदियो । २४ गते विहानै मध्यपश्चिमाञ्चल विश्वविद्यलायबाट विद्यार्थीको एक समूह सडकमा निस्कियो । सडकमा नारावाजी भयो, ‘जान्नौं डोटी ।’

पहिलो दिनको आन्दोलनमा विद्यार्थी मात्रै सहभागी थिए । व्यापारी र सडकमा हिँड्नेहरु भने यो चाँही सही गरे भन्दै आन्दोलनप्रति मौन सहमति जनाइरहेका थिए । सुरुको दिन भएकाले आन्दोलन वीरेन्द्रचोकमा पुगेर कोण सभामा परिणत भएर सकियो । यो नै अखण्ड मध्यपश्चिम आन्दोलनको विजारोपण थियो । पहिलो दिनको आन्दोलनको अगुवाइ तत्कालीन विद्यार्थी नेता तेजविक्रम बस्नेत, प्रचण्ड पोखरेललगायतले गरेका थिए । पहिलो दिनकै आन्दोलनको समीक्षा र आगामी दिनका रणनीतिबारे विद्यार्थी नेता र सुर्खेतस्थित केही पत्रकारसमेतले संयुक्त योजना बनाए । आन्दोलनले नागरिक समाज नै सडकमा आउनुपर्ने अवस्था सृजना हुँदै थियो ।

विद्यार्थी र नागरिक समाज सडकमा उर्लिसक्दा पनि राजनीतिक दलहरुले भने आन्दोलनमा सहभागिता जनाएनन् । सीमाङ्कनको सवालमा दलको सहभागीता नहुने निक्र्यौल गर्दै प्राध्यापक तथा विद्यार्थीहरूको सक्रियतामा नागरिकस्तरबाट अखण्ड मध्यपश्चिम नागरिक आन्दोलन संघर्ष समिति गठन गरी आन्दोलनलाई अगाडि बढाइयो । साउन २४ गते साँझ पनि आन्दोलन वीरेन्द्रनगरका मुख्य सडकहरुमा निस्कियो । समूहगत रुपमा थोरै सहभागी थिए । साउन २५ गते विहान तत्कालिन झुप्रा वृहत खानेपानी तथा सरसरफाइ उपभोक्ता संस्थामा नयाँ नेतृत्वमा लागि मतगणना जारी थियो । आन्दोलन गरिरहेको समूहले कार्यालय बाहिरबाट ढुंगामुढा ग¥यो । राजनीतिक दलहरुले अगुवाइ नगरेका कारण दोस्रो दिनबाटै आन्दोलन अनियन्त्रित बन्न थालिसकेको थियो । मतगणना स्थलको प्रहरीले भीड तितरवितर पार्ने प्रयास ग¥यो । आन्दोलनको भीड जिल्ला प्रशासन कार्यालयतर्फ सोझियो । प्रशासनसम्म पुग्दा आन्दोलनमा हजारौं युवाहरु सहभागी भइसकेका थिए । आक्रोशित युवाहरुले प्रशासन पुगेर गेट भत्काए । चर्को स्वरमा नारावाजी गरिरहे । पार्टी कार्यालयहरु तोडफोड गरिए । हजारौं नागरिकहरु सडकमा आएसँगै आन्दोलन अराजक बन्दै गयो ।

नेकपा एमाले, नेकपा माओवादी तथा नेपाली काँग्रेस पार्टी कार्यालयमा आन्दोलनको भीडले ठूलो क्षती पु¥यायो । पार्टी कार्यालय तोडफोडपछि राजनीतिक नेतृत्वमा पुग्ने तर सुर्खेतप्रति वफदार नहुने नेताको घर फोड्नु पर्छ भन्दै आन्दोलनको एउटा समूह भीड पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति हालका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको घरतर्फ लाग्यो । उनीहरुले त्यहाँ तोडफोड र आगजनी गरे । ढिला गरी पुगेको सुरक्षाकर्मीको टोलीले नेता खड्काको घरलाई सुरक्षा दिन सकेन् । आन्दोलनमा होमिएकाहरुको चारैतर्फ ठूलो भीड थियो ।

आन्दोलनकारीले निरन्तर तोडफोड गरी नै रहे । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी घटनास्थल पुगेलगत्तै उनको गाडीमा समेत आगजनी भयो । भीड नियन्त्रण बाहिर गएपछि तत्कालीन डिआईजी केशव अधिकारी नै फिल्डमा खटिए । उनी पुगेको पाँच मिनेटमै अन्धाधुन्ध गोली चल्यो ।

प्रहरीले चलाएको गोली लागेर टीकाराम गौतम ढले । गोलीको वर्षा भएपछि आन्दोलनकारीले गौतमको लास बोकेर नारा जुलस गर्दै धमलाचोकतिर लागे । भीडले शव बोकेर आन्दोलन धमलाचोक पुग्यो । प्रहरीले संयमता गुमायो । भीड नियन्त्रण गर्ने अरु उपाय नसोचेरै गोली चलाइयो । प्रहरीकै गम्भीर त्रुटिले त्यो दिनभर कालुञ्चोक, धमलाचोक लगायतका इत्राम क्षेत्रमा हजारौंको संख्यामा नागरिकहरु सडकमा उत्रिए । दिनभर त्यो क्षेत्र तनावग्रस्त बनिरह्यो । गौतमको टाउको र छातीमा गोली लागेको थियो । भिड नियन्त्रणबाहिर गएपछि आत्तिएको प्रशासनले दिउँसो साढे एक बजे नै कफ्र्यु लगायो । कफ्र्युको प्रवाह नगरी दिनभरी नै प्रर्दशन झनै चर्कियो ।

वीरेन्द्रनगर–८ इत्रामका २७ वर्षीय यामबहादुर बिसी पनि अखण्ड मध्यपश्चिम आन्दोलनमा होमिएका थिए । उसै दिन मध्यान्न ४ बजे धमलाचोकमा पुनः प्रहरीले गोली चलायो । प्रहरीले विसीको घाँटीमै ताकेर गोली हान्यो । यो पंक्तिकार घटनाको प्रत्यक्षदर्शी थियो । आन्दोलनकारी र प्रहरीलाई पछ्याउँदै रिपोर्टिङ् गरिरहदा मैले विसीलाई गोली लागेर आँखै अगाडी ढलेको देखेँ । धमलाचोक र कालुचोक बिचको सडक किनारामा रक्ताम्य बनेका उनलाई उठाउने साहस कसैले गरेनन् । मैले नै एम्बुलेन्सलाई खबर गरेँ ।

घटनास्थलमा छटपटाई रहेका विसीलाई प्रर्दशनकारीको सहयोगमा तत्कालीन क्षेत्रीय अस्पताल पठाइयो । कहिलेकाहीँ हामी पत्रकारका लागि समाचार बे्रक गर्नु मात्रै पहिलो प्राथमिकतामा पर्दैन । मानवीयताको पक्षमा पनि उत्तिकै जिम्मेवार र संवेदनशिल बन्नुपर्ने हुन्छ । मेरो हकमा पनि त्यही भयो । समाचार ब्रेक गर्न भन्दा म उनको उद्धारमा खटिए । आँखै अगाडि देश बनाउने सपना देखेको एक युवालाई बचाउन सकिएन । केही समयपछि उनको ज्यान गयो । यो खाती जीवनभर रहिरहनेछ । र, अर्को कुरा यो घटनाको साक्षी हुन पाउनु मेरा लागि सौभाग्य पनि हो । शहिदको साक्षी बन्ने अवसर जो–कोहीलाई आउँदैन पनि । मृत्युहरु सबै अस्वभाविक, दुखद् र अकल्पिनीय हुन्छन् । यद्यपी देश र जनाताका लागि ज्यान थाप्नेहरुको मृत्युलाई इतिहासले पनि गर्व गर्छ । भौतिक शरीरभन्दा उनीहरुले जनताका लागि गरेको बलिदानी कयौंन गुणा उचो रहिरहन्छ ।

गौतम र विसीको मृत्यु भएको केही समयपछि स्थानीय मंगलगढी चोकमा प्रदर्शनकारी र प्रहरी विचको भागदौडमा वीरेन्द्रनगर–३ का गोपालसिंह रजौरको पनि मृत्यु भयो । एकैदिन तीन जनाले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाए । दर्जनौं प्रदर्शनकारी घाइते भए ।

सुरक्षा निकायले आफ्ना गुप्तचरलाई सही रुपमा परिचालन गर्न नसक्दा मानवीयसँगै भौतिक रुपमा पनि ठूलो क्षती पुग्यो । त्यसदिनयता प्रदर्शन झनै चर्कियो । सुर्खेतमा मात्र होइन साविकको कर्णालीमा समेत आन्दोलनले उग्र रुप लिइसकेको थियो । आन्दोलन दवाउन जुम्लामा सेना समेत परिचालन गरिएको थियो । तर, झण्डै दुई सातासम्म छुट्टै प्रदेश बनाइनुपर्ने माग राख्दै सुर्खेतसहित असन्तुष्ट जिल्लाहरुमा आन्दोलन झनझन संशक्त बन्दै गयो । जुम्लाका हरिबहादुर कुँवरले समेत आन्दोलनमा ज्यान गुमाए । प्रदर्शनमा सहभागी भीडको मनोविज्ञान हेर्दा यो आक्रोश यति सहजै मत्थर हुने छाटकाँट नदेखिएपछि प्रशासन र सुरक्षा निकायले प्रदर्शनलाई दमन गर्ने चेष्टा गरेन् । आन्दोलन दुई सतासम्म चलिरहयो ।

अव्यवहारिक सीमांकनलाई सुर्खेतसहितका नागरिकले राजनीतिज्ञलाई विश्वास गर्ने आधार गुमेपछि आन्दोलन तुहाउन कयौं खेल खेलिए । कतिपय दलले आन्दोलनमा सहभागी जनाए कति आन्दोलन मत्थर पार्ने भूमिकामा लागे । ‘सुदूरपश्चिम जाँदैनौं, मध्यपश्चिम छोड्दैनौं,’ सुर्खेतलाई संघीय राजधानी घोषणा गर जस्ता नारा सडकमा दिनहुँ लागिरहे । आन्दोलनको रापले चार राजनितिक दल पग्लिन बाध्य भए । सात प्रदेश बनाउने सहमति भयो । अन्ततः प्रदेश नं. ६ अर्थात कर्णाली जन्मियो । दश जिल्ला समावेश गरेर छुट्टै प्रदेश बनाउने सरकारले घोषणा ग¥यो ।

कर्णाली प्रदेश बन्नुमा जनताको बलिदानी नै प्रमुख आधार थियो । प्रदेश प्राप्तिको आन्दोलनको जस लिने आधार राजनीतिक दललाई थिएन । किन भने उनीहरु उसबेला खुलेर सडकमा आउन सकेनन् । प्रदेश प्राप्तिका लागि ज्यान दिएका चार जना शहिद यामबहादुर विसी, टीकाराम गौतम, गोपालसिंह रजवार र हरिबहादुर कुँवर अब कहिल्यै फर्कने छैनन् । आम कर्णालीवासीको हितका लागि ज्यान दिएका उनीहरुको अहिलेका शासकले सम्मान गरेका छन् ? के उनीहरुले बगाएको रगत र बलिदानीको कदर भएको छ ? यस्तै प्रश्नहरुले भने हामिलाई ८ वर्षपछि पनि घोचिरहेछन् । के कर्णालीका शासकहरुलाई पनि यसैगरी घोच्छ होला ?

स्रोतहरू खुलाइएका बाहेक नेपाली रैबारमा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपाली रैबारका सम्पत्ति हुन् ।

तपाईको प्रतिक्रिया