अबिरल बर्षा : त्रासमा कर्णाली !

३५ हजार ३३३ जना प्रभावित हुने पुर्वानुमान, सुरक्षा निकाय ‘स्ट्याण्ड वाई’

सुर्खेत । केही दिनयताको लगातार बर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाहरु घट्न थालेका छन् । पहिरोका कारण सडक अबरुद्ध भइरहेका छन् भने नदी किनाराका बस्ती बाढीको जोखिममा छन् । वीरेन्द्रनगरको तल्लो भाग डुबानको जोखिममा छ, भने केही घरहरु डुबानमा परिसकेको अवस्था छ ।

यद्यपि कर्णालीमा बर्षातका कारण ठुलो घटना घटेको अवस्था छैन । सुर्खेतमा बाढी र प्रदेशका अन्य ९ जिल्ला पहिरोको उच्च जोखिममा छन् । निरन्तर बर्षा भइरहेको खण्डमा कर्णालीमा ठुलो क्षति हुने सम्भावना उत्तिकै छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कर्णालीमा यो बर्ष झण्डै ३५ हजार ३३३ जना विपद्बाट प्रभावित

हुने अनुमान गरेको छ । यस्तै ८ हजार ८५ घरधुरी बाढी, पहिरोको जोखिममा छन् । शनिबार र आइतबार निरन्तर बर्षा हुँदा भेरी र कर्णाली नदीमा पानीको वहाव बढेको छ । नदी आसपास क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले निरन्तर बर्षा भइरहेको भन्दै सावधानी अपनाउन अपिल गरिरहेका छन् ।

भेरी नदीको तल्लो तटिय क्षेत्र अन्तर्गतका रानीघाट, पाग्म, चेपाङ्ग, तिखाकुना, साझघाट लगायका बस्तीहरु बाढीको जोखिममा छन् । सुर्खेत प्रशासनले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।  प्रदेश प्रहरी कार्यालयका अनुसार बर्षातका कारण पहिरो आई सामान्यतयाः बाटोहरु अबरुद्ध हुने काम भएपनि प्रदेशमा त्यस्तो क्षतिको घटना कुनै भएको छैन ।

त्रसित छ, कर्णाली !

बर्खा लाग्यो कि त्रासमा हुन्छ, कर्णाली । भौगोलिक हिसाबमा कर्णाली आफैमा पहाडिया, कमजोर भू–बनोट भएको र पहिरोको उच्च जोखिममा रहेको प्रदेश हो । बर्खायाम सुरु भयो कि बाढी, पहिरोका घटनाहरु घटिरहन्छन् । विपद् पुर्व तयारीहरु केवल तयारीमा मात्र सीमित हुन्छन् । कुनै ठाउँमा घटना भयो भने प्रहरी, नेपाली सेना राहत र उद्धारका लागि खट्ने बाहेक घटना हुनुपुर्वको आवाश्यक तयारी कमजोर हुन्छ । विपद् जोखिम न्यूनीकरण तथा पुर्व तयारीका लागि विभिन्न कार्यक्रममा बजेट छुट्याइन्छ । कार्यान्वयनको सन्दर्भमा तीन वटै तहका सरकार चुकिरहेका छन् ।

०७९ असोज १९ गतेदेखिको अविरल बर्षातका कारण आएको बाढी र पहिरोमा परी कर्णालीका ४१ जनाले ज्यान गुमाए । त्यो १५ दिनको अवधिमा मात्र थियो । कर्णालीमा हरेक बर्ष विपद्बाट सयौँ नागरिकले ज्यान गुमाउँछन् । हजारौँको संख्यामा नागरिकहरु विस्थापित हुनुपरेको छ । यद्यपि सरकारले विपद्का क्षेत्रमा गर्ने लगानी र पुर्व तयारीले विपद् जोखिम न्यूनीकरण हुन नसकेको तथ्यांकले देखाउँछ । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार विगत तीन आर्थिक वर्षमा विपद्बाट २१७ जनाले ज्यान गएको छ । ०७९ मा मात्रै बाढी र पहिरोका कारण ५ हजार ८०९ घरधुरी विस्थापित हुँदा २० हजार ७९२ जना मानिसहरु विस्थापित हुनु परेको थियो ।

यस्तै ०७० देखि ०७९ चैत्रसम्म अर्थात १० बर्षको अवधिमा कर्णालीमा १ हजार ४८० वटा विपद्का घटनाहरु भएका छन् । जसमा ५०३ जनाको मृत्यू भएको छ भने २०३ जना बेपत्ता भए । यस्तै ७३६ जना घाइते भएका छन् । यस्तै नदी र मुख्य जलाधारबाट ल्याउने बाढी र डुवानका घटनाहरु बर्षेनी दोहोरिने गरेका पाइन्छन् । १० जिल्ला मध्ये सुर्खेतमा बाढी र डुवान प्रकोपको हिसाबले बढी जोखिममा रहेको छ ।

मौसजन्य विपद्का कारणले विगत १० बर्षमा ९८ वटा बाढीका घटनाहरु भएका छन् । जसमा ८० जनाले ज्यान गुर्माका छन् भने १४७ बेपत्ता र ३४ जना घाइते भएका छन् । यस्तै १० अर्ब भन्दा बढी आर्थिक क्षति भएको विश्लेषण गरिएको छ । सुर्खेतमा मात्र १० वटा बाढीका घटनाबाट ३५ जनाले ज्यान गुमाए भने ९७ जना बेपत्ता भएका छन् ।

सुरक्षा निकाय ‘स्ट्याण्ड वाई’

प्रदेश सरकारले विपद् पुर्व तयारीका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्य योजना २०८० असारमै तयार पारिसकेको छ । कानुन मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन शाखाले उक्त कार्य योजना तयार गरेको हो । विपद् शाखाका प्रमुख कृष्णबहादुुर रोकायाका अनुसार विपद् पूर्व प्रभावित क्षेत्रमा जनचेतना जगाउने तथा विपद्पछि खोज, उद्धार, राहत, सम्बन्धीत जिल्ला प्रशासन कार्यालय, तीन वटै सुरक्षा निकाय तथा रेडक्रसको उद्धार टोली हेलिकप्टरसहित तयारी अवस्थामा रहेको छ । विपद् प्रतिकार्य तथा उद्धारका लागि ९ वटा विषयगत समुहहरु बनाइएको छ ।

तीन वटै सुरक्षा निकायका २४५ जना तालिम प्राप्त खोज उद्धार जनशक्ति तैनाथ अवस्थामा रहेको छ । यस्तै प्रहरीका सबै इकाईहरुलाई ‘स्ट्याण्ड वाई’ अवस्थामा राखिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले प्रहरीका सबै कार्यालयलाई ‘हाई अलर्ट’ मा राखिएको बताए ।

‘जुम्लामा एउटा विपद् गुल्म नै छ,’ उनले भने,‘ त्यसलाई पनि साधन, स्रोतसहित हामीले तयारी अवस्थामा राखेका छौँ । विशेष गरी जिल्ला प्रहरी कार्यालयमा २० जनाको, गणहरुमा ३०/३० जनाको र अन्य इलाका प्रहरी कार्यालयहरुमा १५/१५ जनाको टोली साधन, स्रोतसहित तयारी अवस्थामा छ ।’ साथै सडक खोल्नका लागि जेसिबी लगायका आवाश्यक साधानहरु पनि तयारी अवस्थामा छन् ।

अन्य प्रदेशमा क्षतिका घटनाहरु आइरहे पनि कर्णालीमा अहिलेसम्म त्यस्तो ठुलो घटनाहरु नभएको उनले बताए । सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जिल्लाभर ‘रेस्क्यू’ टोलीलाई तयारी अवस्थामा राखिएको बताए । बाढी, पहिरोले कुनै क्षति नभएको पनि उनले बताए । ‘सामान्य पहिरो गएको स्थानमा हामीले तत्काल पन्छाउने काम गरिरहेका छौँ,’ उनले भने,‘ बाढीले अहिलेसम्म कुनै प्रभाव पारेको छैन ।’

उनका अनुसार वीरेन्द्रनगरको बुलबुले क्षेत्रमा डुबानको जोखिममा रहेका ७ वटा घरहरु आइतबार राती उठाइएको थियो । यद्यपि पानी कम भएपनि नागरिकहरु घरमा फर्किएको उनले बताए । सापकोटाले आर्मी, प्रहरी, शसस्त्रको ‘रेस्क्यु’ टिम नै ‘स्ट्याण्ड वाई’ बसेको बताए । मानविय क्षति नहोस् भनेर आइतबार नै आर्मीको ठुलो टिम नै तयारी अवस्थामा बसेको थियो । तर, पानी घटिसकेपछि मात्र फर्काइएको उनले बताए ।

प्रभावकारी प्रतिकार्य तथा राहत व्यवस्थापन तथा वितरणको लागि प्रदेशभर सबै निकायहरु र विभिन्न सुरक्षा निकाय अन्तर्गतका खोज उद्धार जनशक्ति तयारी अवस्थामै छ । विगतको घटनाहरुलाई आधार मान्दा यो बर्ष कर्णलीमा करिब एक तिहाई अर्थात ११ हजार ७७७ जना र २ हजार ६९५ घरधुरीलाई खाद्यान्न लगायत मानवीय सहायताको आवाश्यक पर्ने अनुमान गरिएको छ ।

विभिन्न निकाय अन्तर्गत रहेका विपद् उद्धार तथा राहसँग सम्बन्धीत स्रोत, साधन यन्त्र उपकरणहरु प्रदेश, जिल्ला तथा स्थानीय तहमा तयारी अवस्थामा राखिएको छ । १० जिल्ला र प्रदेश सरकारको गरी १२ करोड ४९ लाख ८ हजार ८२३ रुपैयाँ प्रदेश, जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको छ । त्यसमा प्रदेश सरकारले स्थापना गरेको कोषमा मात्र चार करोड ९९ लाख १६ हजार २८७ रुपैयाँ जम्मा गरिएको छ ।

सुर्खेतबाट प्रकाशित प्रदेश रैबारमा समाचार प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया