कर्णालीमा आफन्तबाट बालिकाहरू बलाकृत हुने क्रम बढ्याे

सुर्खेत। कर्णालीका १० वटै जिल्लामा छिमेकी तथा चिनेजानेका आफन्तबाट बालिकाहरू बलाकृत हुने क्रम बढ्दो छ । महिला तथा बालिकामाथि हुने यौन हिंसाका घटनामा कमी आउनुको साटो समाजमा बालिकाहरू बलात्कारजस्तो जघन्य अपराधको सिकार हुने क्रम बढिरहेको प्रहरीको तथ्यांक छ । २१ कात्तिक २०७९ मा सुर्खेतकी सात वर्षीया बालिकाको नातेदार तीन जना दाजुभाइबाटै बलात्कारपछि हत्या भयो ।

बालिका र अभियुक्त दुई भाइका छोराछोरी थिए । आफन्तबाटै उनको बीभत्स हत्या भयो । आमाबुबा घरमा नभएको मौका पारी चाउचाउ किनिदिने प्रलोभनमा बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो । अभियुक्त तीन जनामध्ये दुई जनालाई आजीवन काराबासको सजाय सुनाइयो । एक जनालाई एक वर्ष बाल सुधारगृहमा रहने गरी जिल्ला अदालत सुर्खेतले फैसला सुनायो । अदालतले दुई जनाले आजीवन काराबाससँगै चार–चार लाख रुपैयाँ परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र दुई हजार आठसय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको थियो ।

यस्तै, २४ जेठ २०७९ मा सुर्खेतमै चार दिनदेखि हराइरहेकी सात वर्षीय बालिका घर नजिकैको बारीमा मृत फेला परिन् । संकास्पद अवस्थामा बालिकाको शव फेला परेपछि प्रहरी अनुसन्धानले उनको एक जना छिमेकीले बलात्कारपछि हत्या गरेको तथ्य पत्ता लगायो । प्रहरी अनुसन्धान प्रतिवेदनअनुसार उनले बालिकालाई जबरजस्ती करणीपश्चात हत्या गरेका थिए । अभियुक्त हाल आजीवन काराबासको सजायसहित सुर्खेत कारागारमा जेल जीवन बिताइरहेका छन् । उल्लेखित दुई बालिका कर्णालीमा नजिक मानिएका यौन पिपासु आफन्तबाट जबर्जस्ती करणीपछि जीवन गुमाएका पात्र हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको त्रिवर्षिय तथ्यांकमा प्रदेशभर पाँच सय १२ जना महिला तथा बालिका बलात्कृत भएका छन् । त्यसमध्ये बलात्कृत हुनेमा ३३ प्रतिशत अर्थात एक सय ९६ जना १७ वर्ष मुनिका रहेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराई बताए । कर्णालीमा बलात्कारका घटना बढेको उल्लेख गर्दै पछिल्लो समय सामाजिक सचेतना बढेकाले पनि यस्ता घटना बाहिर आउन थालेको प्रवक्ता भट्टराईले जनाए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा दुई सय सात वटा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन् । जसमा छिमेकी तथा चिनजानका व्यक्तिहरूबाट १ सय ५९ जना महिला तथा बालबालिका जबर्जस्ती करणीमा परेका छन् । यस्तै चिनजान नभएकाबाट ६३ जना र नजिकका नातेदार र हाडनाता पर्नेबाट १२ जना जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

जबरजस्ती करणीको घटनाहरूबाट सबैभन्दा बढी १० देखि १६ वर्ष उमेर समूहका ९४ जना बालिका, १० भन्दा कम उमेरका चार जना, १७ देखि २५ वर्षसम्म ७४ जना, २६ देखि ३५ वर्षसम्मका २१ जना, ३६ देखि ४५ वर्षसम्मका नौ, ४६ देखि ५९ वर्षसम्म तीन र ६० वर्षभन्दा माथि दुई जना पीडित भएका छन् ।

आर्थिक वर्ष २०७८/0७९ मा एक सय ५८ जना महिला तथा बालिका बलात्कृत भए । त्यसमध्ये १८ वर्ष मुनिका ५५ जना छन् । प्रहरीले दिएको जानकारी अनुसार १९ देखि ३५ वर्षसम्मका ६९ जना, ३६ देखि ५९ सम्म २७ जना र ६० वर्ष माथिका सात जना बलात्कृत भएका छन् ।

जबर्जस्ती करणीको जिल्लागत तथ्यांक हेर्ने हो भने गत वर्ष सुर्खेतमा सबैभन्दा धेरै ८८ वटा मुद्दा दर्ता हुँदा डोल्पामा सबैभन्दा कम एक मुद्दा दर्ता भएको छ । त्यसैगरी सल्यानमा २३, दैलेखमा १८, रुकुम पश्चिममा १७, जाजरकोटमा नौ, कालिकोटमा १७, जुम्लामा १८, मुगुमा सात र हुम्ला नौ वटा जवजस्ती करणी सम्बन्धि मुद्दा दर्ता भएको छ । यि मुद्दामा दुई सय ३४ वटा प्रतिवादीहरू पक्राउ भएका छन् ।

तपाईको प्रतिक्रिया