युवामैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण

पोखरा। युवामैत्री स्थानिय शासन सम्बन्धी युवाहरुका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ। बिहीबारदेखि पोखरामा अभिमुखिकरण कार्यक्रम सुरुवात भएको हो। शुक्रबारसम्म सञ्चालन हुने कार्यक्रममा देशभरका विभिन्न १४ स्थानीय तहका युवाहरुको सहभागिता रहेको छ।

राष्ट्रिय युवा परिषद र जागृति बाल तथा सरोकार नेपालको सहकार्य तथा युएनडिपी नेपालको सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो। राज्यको नीति निर्माण तहमा युवाको समान पहुँच स्थापित गर्नुका साथै स्थानीय तहमा युवामैत्री शासन सञ्चालन गर्न आवश्यक ठानिएको छ। त्यसका लागि छनोट भएका स्थानीय तहका दुई-दुई जना युवाहरुलाई अभिमुखिकरण गरिएको राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य तिलोत्तम पौडेलले जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख दिनेश घिमिरेले युवाको सवालमा स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने बताए। त्यसका लागि कार्यक्रममा सहभागी युवाहरुको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे। राज्यका सबै तहका सरकारले युवामैत्री शासन सञ्चालन गर्न व्यावसायिक योजना बनाउनु पर्ने उनको भनाई छ।

साथै, प्रमुख घिमिरेले युवासँग सम्बन्धित नीति कार्यान्वयनमा सरकारी संयन्त्र कमजोर भएको बताउँदै यसलाई सुधार गर्नुपर्ने औँल्याए। सरकारी नीतिमा युवाका लागी व्यापक लगानी भनेपनि चालू आर्थिक वर्षमा लक्षित कार्यक्रमका लागि बजेट न्यून रहेको जानकारी दिए। उनका अनुसार यसवर्ष युवा तथा खेलकुद मन्त्रालयका लागि कुल बजेटको ३ प्रतिशत मात्रै बजेट विनियोजन भएको छ। जुन अन्य मन्त्रालयको तुलनामा निकै कम हो। साथै, राष्ट्रिय युवा परिषद्का लागि मन्त्रालय अन्तर्गतको कुल बजेटको ८६ प्रतिशत बजेट विनियोजन भएको छ।

गत आर्थिक वर्षमा सरकारले औद्योगिक नीति बमोजिम स्टार्टअप योजना अघि सारेको थियो। सोही अनुसार चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आउने गरी निर्देशिका बन्ने अन्तिम तयारी भइरहेको बताए। साथै, प्रमुख घिमिरेले राष्ट्रिय युवा परिषदको स्थापना, लक्ष्य, उद्देश्य, विद्यमान कानुन, नीति, निर्देशिका र बजेटका बारेमा प्रस्तुतिकरण सहितको जानकारी गराए।

यसैगरी, कार्यक्रममा अधिवक्ता विष्णु बहादुर खत्रीले युवामैत्री स्थानीय शासन सम्बन्धी प्रस्तुतिकरण गरेका थिए। उनले युवामैत्री शासनका रणनितीक योजना, सूचक, पुस्ट्याईका आधार, कार्यान्वयन प्रक्रिया, सरोकारवालाको भूमिका, संस्थागत संरचनाको काम कर्तव्य र अधिकारका विषयमा जानकारी गराए।

स्थानीय तहहरुले युवामैत्री पालिका घोषणा गर्न विभिन्न सात रणनिती, ४६ कार्यनीति अन्तर्गत चार चरणमा ४६ सूचक पूरा गर्नुपर्ने अधिवक्ता खत्रीले बताए। साथै, कार्यक्रमको पहिलो दिनमै प्रशिक्षक मिना शर्माले युवाका सवालहरुका विषयमा समस्याको पहिचान र सामाधानको उपायका बारेमा अभिमुखिकरण गरेकी थिइन्।

तपाईको प्रतिक्रिया