सुर्खेतका पत्रिका सञ्चालक सगंठित, संरक्षणमा ध्यान नदिएको भन्दै सरकारसँग रुष्ट

कर्णाली मिडिया सोसाईटीको संयोजकमा शर्मा

सुर्खेत । तीनै तहका सरकारले स्थानीय मिडियाको संरक्षण तथा सम्वद्र्धन तर्फ ध्यान दिन नसकेको सुर्खेतबाट सञ्चालित प्रिन्ट मिडियाका सञ्चालकहरुले गुनासो गरेका छन् । आइतबार वीरेन्द्रनगरमा ‘कर्णाली मिडिया सोसाइटी’ गठन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कोभिड–१९, महामारीपछि उत्पन्न आर्थिक मन्दीले मोफसलबाट सञ्चालित प्रिन्ट मिडिया प्रत्यक्ष प्रभावित हुँदा समेत तीनै तहका सरकारले वेवास्ता गरिरहेको उनीहरुले गुनासो गरेका हुन् ।

काँक्रेविहार मिडिया प्रालिका सञ्चालक सुशीलराज शर्माको संयोजकत्वमा आयोजित बैठकमा सरकारले मिडियालाई चौथो अंगका रुप हेरेपनि व्यवहारमा त्यो कार्यान्वयन गर्न नसकेको उनीहरुको भनाइ थियो । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले कर्णाली प्रदेश सरकारले समेत पत्रपत्रिका माथि विभेद गरिरहेको आरोप लगाए । उनले विभिन्न बहाना बनाएर स्थानीय स्तरबाट प्रकाशित पत्रपत्रिका माथि प्रदेश र स्थानीय तहले उपेक्षा गरिएको जिकिर गरे । मिडिया मालिकहरुले अब संगठित रुपमा आफ्ना समस्या समाधानका लागि सरकारहरुसँग छलफल गर्न आवश्यक रहेको उनले औल्याए ।

युग आव्हान दैनिकका सञ्चालक दिपककुमार बुढाले स्थानीय मिडियाको संरक्षणका लागि सरकारले नीतिगतरुपमै उल्लेख गर्नु पर्नेमा जोड दिए । नयाँ नेपाल दैनिकका सञ्चालक गणेशकञ्चन भारतीले स्थानीय मिडियाको अवस्था दिनप्रतिदिन खस्किदै गएकाले तीनै तहका सरकारले अभिभावकको भूमिक खेल्न आवश्यक रहेको औल्याए । उनले खर्च कटौतीका नाममा सरकारले गरेको नयाँ नीतिले पत्रपत्रिका समेत प्रत्यक्ष प्रभावित बनेको जानकारी दिए । सिद्धदर्शन दैनिकका सञ्चालक चिन्तामणि शर्माले स्थानीय पत्रपत्रिका माथि राज्यको अभिभावकीय भूमिका समेत उपेक्षित बन्दै गईरहेको प्रति चिन्ता जाहिर गरे ।

काँक्रेविहार दैनिकका सञ्चालक सुशीलराज शर्माले स्थानीय मिडियाले भोग्नु परिरहेका समस्याप्रति राज्य बेखबर हुन नपाईने जिकिर गरे । हाम्रो अखबार दैनिकका सञ्चालक नगेन्द्र उपाध्याय, सुक्ष्मदृष्टि साप्ताहिकका खगेन्द्र अधिकारी, प्रदेश रैबार साप्ताहिकका प्रकाशक नविनकुमार सुवेदी, जनचाँसो खबर दैनिकका टोपबहादुर विक एवं स्काई न्यूज दैनिकमा सञ्चालक आकाशतारा बयकले विशेषगरी स्थानीय र प्रदेश सरकारले स्थानीय मिडियालाई संरक्षण र सहयोग गर्न आवश्यक रहेको औल्याए । यसैवीच कार्यक्रममा सुशीलराज शर्माको संयोजकत्वमा ९ सदस्यी ‘कर्णाली मिडिया सोसाइटी’ गठन गरिएको छ । सोसाइटीको सदस्यमा गणेशकञ्चन भारती, दिपककुमार बुढा, चिन्तामणि शर्मा, नगेन्द्र उपाध्याय, विनोद शाही, टोपबहादुर विक, नविनकुमार सुवेदी र आकाश तारा बयक रहेका छन् ।

तपाईको प्रतिक्रिया