हाेस्टेलमा ८ बर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिए, बालबाटिका परिसर तनावग्रस्त

सुर्खेत। सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेकाे उषा बालबाटिका सेकेण्डरी स्कुलकाे हाेस्टेलमा ८ बर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका- १ का ८ बर्षीय सलाम पुलामी मगर हुन्। उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए ।

होस्टेलमा उनी झुण्डिएको अवस्थामा फेला परेका छन् । शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव‌ अहिलेसम्म उठाइएकाे छैन।

आफन्तहरुले घटना शंकास्पद रहेकाे भन्दै लास उठाउन दिएका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गाेपलाचनेद्र भट्टराईले घटना शंकास्पद रहेकाे र अनुसन्धान गरिने बताए ।

त्यहाँ अहिले प्रहरी तैनाथ गरिएकाे छ । आक्राेशित आफन्तहरुले आन्दाेलन गरेपछि उक्त क्षेत्रकाे अवस्था तनावग्रस्त बनेकाे छ।

आक्राेशित भीडले घटनाकाे छानबिन गर्नुपर्ने भन्दै ताेडफाेडमा नै उत्रिएकाे छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेकाे छ ।

प्रहरीले संचालक समितिलाई नियन्त्रणमा लिएकाे छ।

उषा बालबाटिका सुर्खेतकै चर्चित स्कुलमा पर्छ ।

तपाईको प्रतिक्रिया