ड्युटीका क्रममा भीरबाट खसेका प्रहरी जवानको उपप्रधानमन्त्री खड्काद्वारा उद्धार

सुर्खेत । भदौ ३१ गते ड्युटीका क्रममा भीरबाट खसेर गम्भीर घाइते भएका प्रहरी जवान सुवाश पौडेललाई थप उपचारका लागि काठमाडौं लगिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत पौडेललाई थप उपचारका लागि काठमाडौं लिनका लागि उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको स्काई ट्रक पठाएका थिए ।


पौडेल सानीभेरी गाउँपालिका–२ वशन्तडाँडामा गस्तीमा गएर फर्कने क्रममा भीरबाट खसेका थिए । गोरेटोबाटोबाट २५० मिटर तल खसेका पौडेलको टाउको, हात, खुट्टालगायत शरिरका विभिन्न ठाउँमा गम्भीर चोट लागेको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भिम ढकालले अर्धचेत अवस्थामा आइसियूमा उपचार गराइरहेका पौडेलको अवस्थाका बारेमा जानकारी पाएलगत्तै उपप्रधानमन्त्री खड्काले स्काई ट्रक पठाएर उद्दार गरेको बताए ।

‘एम्बुलेन्समा तथा जहाजमा लिएर जान संभव थिएन, हामी कसरी विरामीलाई काठमाडौं पु¥याउने भन्ने चिन्तामा थियौं,’ उनले भने, ‘उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काज्यूले थाहा पाउने वित्तिकै नेपाली सेनाको स्काई ट्रक पठाइदिनु भयो ।’

पाैडेल गुर्भाकोट नगरपालिका–४ का स्थायी बासिन्दा हुन् । गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले पौडेलको अवस्थाका बारेमा आफ्नो क्षेत्रका सांसदसमेत रहेका खड्कालाई शनिबार बेलुका जानकारी गराएका थिए । ‘मैले घटनाबारे उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीज्यूलाई जानकारी गराएँ, भोलिनै उद्दार गर्नुपर्छ भन्नुभयो,’ उनले भने, ‘कर्तव्य पालनाको शिलशिलामा गम्भीर घाइते भएका प्रहरी जवानको आइतबार थप उपचारका लागि काठमाडौं पठाउन सफल भयौं ।’

डिआइजी ढकालका अनुसार प्रहरी जवान पौडेललाई सुरुमा नेपाल प्रहरी अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार संभव नभएपछि थप उपचारका लागि नेपाल प्रहरी अस्पतालको समन्वयमा अन्नपूर्ण न्युरोमा राखिएको छ ।

तपाईको प्रतिक्रिया