
सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजङ्ग शाह निर्वाचित भएका छन् । शाहले आफ्ना प्रतिद्धन्द्धी मीनबहादुर शाहीलाई १६२ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । जम्मा ६१६ मतमध्ये ६०९ मत खसेको थियो । जसमध्ये शाहको पक्षमा ३६९ मत आएको छ । यस्तै उपसचिवमा रमेश कुमार शाहीको पक्षमा २६६ दैलेखका रवीन्द्र राज शर्मा ३०० मत पाएका छन् ।
२०७ मत आएको छ भने अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत पाए । तीन जना उम्मेदवार भएपनि कर्णालीमा खास दुई पक्षित प्रतिस्पर्धा थियो । गुलाबजङ्ग शाह स्थायी कमिटी सदस्य यामलाल कँडेलको टिमबाट अध्यक्षका उम्मेदवार थिए भने गोरख बोगटी–विनोदकुमार शाहको टिमबाट शाही थिए । नेतृत्वका लागि सल्यानका शाह र कालिकोटका शाहीबीचको प्रतिस्पर्धालाई नेताहरुले प्रतिष्ठाको विषय बनाएका थिए । शाह केन्द्रका महासचिव शंकर पोखरेलका विश्वास पात्रका रुपमा चिनिन्छन् भने शाहीलाई केपी ओलीले सहयोग गरेको कतिपय नेताहरुको भनाइ छ । तर, महासचिव पोखरेलले बिहीबार सर्वसम्मतको प्रयास गर्दा शाहीलाई ‘ग्राउण्ड’बाट तपाईँको राम्रो सुझाव आएन गुलाबजीको टिममा मिलेर जानुुस् भनेर सुझाव दिएका थिए । तर, उनका टिमका नेता बोगटीको जोडबलमा निर्वाचन लडने तयारी गरेका थिए । यद्यपि उनी पराजित भए ।
यस्तै अन्य पदमा पनि यामलाल कँडेलको टिमले जितेको छ । उपाध्यक्षका कँडेल टिमका टेकराज पछाईले ३४२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी लालबहादुर महताराले १७६ मत पाए । यस्तै उपाध्यक्षका अर्को दाबेदार दानसिं परियारले ५९ मत पाए । यस्तै सचिवमा पनि कँडेल टिमकै धुर्व कुमार शाही निर्वाचित भएका छन् । शाहीले ४०६ मत पाउँदा उनका प्रतिद्धन्द्धी रुद्र शाहीले १६९ मत पाए । उपसचिवमा रमेश कुमार शाही, रबिन्द्र राज शर्मा निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित शाह को हुन् ?
गुलाबजङ्ग शाह कर्णालीको एमालेभित्र हक्की र निर्णय लिन सक्ने नेताका रुपमा चिनिन्छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा वि।सं।२०२२ सालमा जन्मिएका शाहको राजनीतिक यात्रा आफैमा संघर्षमय छ । ०४० सालमा अनेरास्ववियु पाँचौमा आवद्ध भएर राजनीतिका यात्रा थालनी गरेका थिए, शाहले । त्यसयता उनी राजनीतिमा निरन्तर सक्रिय छन् । कर्णालीको एमालेभित्र प्रभावशाली नेताको छवी बनाएका शाह ०४७ सालमा नेपाल कर्मचारी संगठन बाँकेको जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरेका थिए । ०५० सालमा सल्यान–काठमाडौँ सम्पर्क मंचमा आबद्ध भएका थिए ।
०५३ सालमा युवा संघ नेपालको केन्द्रीय सदस्य बने । विस्तारै राजनीतिमा फराकिलो छवी बनाउँदै अघि बढेका उनी नेकपा माले सल्यानको तेश्रो जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित हुँदै ०५६ सालमा सल्यान–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए ।
०५८ मा नेकपा माले र नेकपा एमालेको समिकरण भयो । त्यसबेला उनले एमालेको सल्यान जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी पाएका थिए । ०६६ सालमा सल्यानबाट नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि सदस्यमा निर्वाचित भएका उनी ०७० सालमा नेकपा एमालेबाट संविधान सभा सदस्यका लागि सल्यान क्षेत्र– १ बाट उम्मेदवार बनेका थिए । एमालेको नवौँ महाधिवेशनबाट २०७१ सालमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी संगठन निर्माण र पार्टीको काममा सक्रियताका साथ अग्रसर भए । शाह त्यतिखेर एमाले सल्यानका पार्टी इन्चार्ज समेत थिए ।
०७४ मा उनी कर्णाली प्रदेश सभाको निर्वाचनमा सल्यान (क) बाट निर्वाचित भए । कर्णाली प्रदेशमा तत्कालिन नेकपाभित्रको विवादका बेला पनि शाहको भूमिका महत्वपुर्ण रहेको थियो । उनकै जिल्लाका प्रकाश ज्वाला लगायतका नेताहरु एमाले विरुद्ध उभिँदा शाह यामलाल कँडेलको पक्षमा उभिएका थिए । नेकपा हुँदा पनि प्रमुख सचेतक बनेका शाह नेकपा विभाजनपछि भने एमाले संसदीय दलको सचेतकको भूमिका थिए ।
०७८ मा नेकपा एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका उनले पार्टीको पोलिटब्युरो सदस्यको महत्वपूर्ण जिम्मेवारी पाए । पार्टीका कर्णाली प्रदेश सह–इन्चार्ज समेत रहिसकेका शाह ०७९ को प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए । शाह पोलिटब्युरो सदस्य भएपनि अध्यक्ष लड्न तल झरेका थिए । उनको जित केवल शाहको जित नभई यामलाल कँडेलको हो । प्रदेशमा यामलाल कँडेल र गोरख बोगटी–विनोदकुमार शाह गुटबीच प्रतिष्ठाको लडाइँ थियो । यो अधिवेशनमा प्रतिष्ठाको लडाइँ कँडेलले जितेका छन् भने शाहले हारेका छन् । बोगटी–शाह टिमको डिजाइन कर्ताको भूमिकामा रहेका शाहले आफु नै गुटको नेताका रुपमा प्रचार गर्न लगाइहेका थिए । तर, उनै शाहको टिम अधिवेशनमा पराजित बन्यो ।

नविन सुवेदी । २०८० आश्विन १६, मंगलवार