धुलियाबिट–भेडाबारी सडकखण्डकाे धेरै स्थानमा धमाधम कालोपत्रे,काम कहिले सकिन्छ?

सुर्खेत । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पूर्वी क्षेत्रमा सडक स्तरोन्नतिको कामले गति लिएको छ । धुलियाबिट–भेडाबारी सडकखण्डमा स्तरोन्नतिको काम धमाधम भइरहेको छ । राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार सडक निर्माणको काम भइरहेको हो । सडक कालोपत्रेको काम धमाधम अघि बढाइएको छ । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

तीन किलोमिटर सडक कालोपत्रे गर्नका लागि काम सुरु गरिएको छ । बाँकी बोटेचौरदेखि चिङ्गाडसम्मको करिब २५ किलोमिटर सडकखण्डको स्ट्रक्चरको काम ९० प्रतिशत सकिएको छ । उक्त खण्डमा ८० प्रतिशत ग्राभेलको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । अब मेसिनको काम मात्र बाँकी छ । राजमार्गमा कालोपत्रे भइरहेको सडक दुई लेनको बन्ने छ । अहिले औसत चार मिटर चौडाइ रहेको सडकलाई स्तरोन्नति गरेर नौ मिटर बनाउन लागिएको हो ।

सो सडकखण्ड निर्माणमा करिब ५२ प्रतिशत भौतिक प्रगति भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उक्त सडकखण्डमा अहिले निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको वित्तीय प्रगति ४५ प्रतिशत रहेको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर जितेन्द्र शाहका अनुसार दसैँअघि नै तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ । वर्षाले असर नगरे कालोपत्रेको काम सम्पन्न हुने उनले बताए । धुलियाबिट–भेडाबारीसम्मको ३५ किलोमिटर सडक निर्माणमा करिब आधाभन्दा बढी काम सम्पन्न गरिएको उनको भनाइ छ ।

सो सडकमा पर्ने रुख कटानको काम सकिएको आयोजनाले जनाएको छ । रुख कटानको काम सकिएलगत्तै निर्माणको कामले गति लिएको हो । राजमार्गको धुलियाबिट–भेडाबारी सडकखण्डमा १२ वटा पुल निर्माणको काम धमाधम भइरहेको छ। जसमध्ये दुई वटा पुल निर्माण सम्पन्न भएका छन् । सडक स्तरोन्नतिका लागि एक अर्ब ९४ करोड ८४ लाख २३ हजार रुपियाँ लागत अनुमान गरिएको छ । ठेक्का सम्झौता भने एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको छ । विसं २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया