मनसुनी वायुको आंशिक प्रभाव रहँदा पाँचवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा आज पनि देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ ।

कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आज राति आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । कोसी प्रदेशका थोरै स्थानमा तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया