म निर्वाचित भएपछि…..?

हामिले सुरु गरेको ‘हाम्रो पालिका’ स्तम्भमा स्थानीय तहका जनप्रतिनिधिले आफु निर्वाचित भइसकेपछि गरेका कामकारबाही र उनीहरुको लक्ष्यमा रहेर सामग्री तयार गर्ने गरेका छौँ । यो श्रृङ्खलामा हामीले सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल सँग कुराकानी गरेका छौँ ।


भेरीगंगा नगरपालिकालाई नीति, विधि र सुशासनको बाटोमा हिडाल्नका लागि अभियान नै चलाएका छौँ। विगतमा नगरपालिका भित्र भ्रष्टाचार छ, नीति विधि छैन भन्ने खालको भाष्य उत्पन्न थियो । अहिले हामीले त्यसलाई निराकरण गरिरहेका छौँ । त्यसका लागि हामीले पहिला कानुन निर्माण गर्याैँ । यो बीचमा हामीले दुई दर्जन जति कानुन निर्माण गरेका छौँ ।
हामी नगरपालिकालाई नीति, विधिमा हिडाल्न चाहन्छौँ । नगरपालिकामा फजुल खर्चको अन्त्य गरेका छौँ । कानुन बनाई सुशासनको बाटोमा नगरपालिकालाई अगाडी बढाएका छौँ । भ्रष्टाचार निर्मुल गरेका छौँ भने जनतालाई मुस्कानसहितको सेवा दिने उद्देश्यसहित कर्मचारी, प्रशासनलाई जनमैत्री बनाएका छौं।

छिटो छरितो तरिकाले सेवा दिने काम भएको छ भने जनताले सुखको सास फेरेका छन् । नीति, कार्यक्रम हामीले निकै मेहनतका साथ बनाएका छौं, भेरीगंगा नगरपालिकाको कायापलट गर्न र ’समृद्ध भेरीगंगा, सुखी भेरीगंगाबासी’ बनाउने सिद्दान्तलाई अपनाएका छौं।

विभिन्न शाखा अनुसार जनतालाई सहजताका साथ सेवा प्रवाह, रोजगारीका साथै भौतिक पुर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । बाटो, सिँचाइ, खानेपानी र विद्यालयका संरचना बनाउने कामहरु भइरहेका छन् । यहाँ सम्भावित पर्यटकिय क्षेत्रको समेत विकास भइरहेको छ । मन्दिरको व्यवस्थापनसहित पर्यटकीय गुरुयोजना बनाएका छौँ ।

यहाँ हुने दैवी प्रकोप, जलवायु परिवर्तनलाई ध्यानमा राखेर स्थानीय अनुकुल योजनाहरु बनाएका छौं। त्यसका आधारमा नगरले काम गरिरहेको छ । गत बर्ष हामीले आधारभूत रुपमा काम गर्याैँ भने यो बर्षदेखि कार्यान्वयन लिने प्रयास गरिएको छ । यो बर्षदेखि भेरीगंगालाई पुर्ण सरसफाईयुक्त नगर बनाउने तयारीमा छौँ। त्यसका लागि ’सरसफाई अभियान बर्ष–०८९’ घोषणा गरेर विभिन्न सङ्घ संस्थासँग मिलेर सरसफाई सम्बन्धी चेतना फैलाउने काम गर्ने छौँ । फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापन पनि गरिने छ ।

अधिकार दिने कुरामा कन्जुस्याइँ गरियो

संविधानले थुप्रै व्यवस्था गरेको छ तर, त्यो अनुसार कानुन बनेको छैन भने संघ र प्रदेश सरकारले स्थानीय सरकारलाई अधिकार दिने कुरामा कन्जुस्याइँ गरिरहेका छन् । जति दिनपर्ने हो त्यो दिइएको अवस्था छैन । २२ वटा अधिकार प्रष्ट छन् तर, ती एकल सुचीका अधिकारलाई साझा सुचीमा छन्।

२२ वटा अधिकार दियौँ भन्ने भयो तर, अर्काे कानुनले रोकेर राखेको छ । संविधानले जे परिकल्पना गरेको थियो त्यो अनुसारको संघीयता आएको छैन । अर्काे कुरा राजनीतिक संघीयता आयो तर, वित्तीय संघीयता र प्रशासनिक संघीयता भएन् । जति रकमहरु बाँडफाँड गर्नुपर्ने हो वास्तवमा त्यो भएको छैन । जनताको काम रातदिन गर्ने स्थानीय तह हो तर, त्यहाँ बजेटको प्रयाप्तता पुर्ति भइरहेको छैन । प्रदेशबाट पनि त्यो खालको व्यवस्थापन गरिएको छैन ।

त्यसैले गर्दा वित्तीय संघीयता अझै पुर्ण रुपमा लागु भएको छैन। यसलाई लागु गर्नका लागि निश्चित तरिकाले बजेट विनियोजन गरिनुपर्ने हुन्छ । प्रशासनिक संघीयतामा अहिपनि कार्यालय सहयोगी सरुवा बढुवा गर्न परे संघीय सरकारले गर्छ यो संघीयताको मर्म होइन् । बजेटको प्रयाप्तता, समानुपातिक वितरण र संस्थागत समन्वय हुनुपर्छ ।

नीति, विधि र प्रविधियुक्त भेरीगंगा हाम्रो उद्देश्य

म आफ्नो कार्यकालभर भेरीगंगालाई नीति, विधि र प्रविधियुक्त बनाउँछौँ । प्रशासनिक भवन थिएन अहिले आफ्नै भवन बनाउने कामको सुरुवात गरेका छौँ। सुशासनयुक्त, भ्रष्टाचाररहित नगरपालिका बनाउने पहिलो मिसन हो । दोस्रो भौतिक पुर्वाधार बाटो, विजुली, स्वास्थ्य र विद्यालयमा फड्को मारिसकेका हुने छौँ । कृषि र पर्यटनमा काम हुन्छन् । जनतालाई जग्गाको मालिक बनाउने उद्देश्यसहित जमिनको समस्या समाधान गर्नेछौँ ।

तपाईको प्रतिक्रिया