म निर्वाचित भएपछि….?

म निर्वाचित भएर आइसकेपछि सबैभन्दा पहिला त कार्यालय व्यवस्थापनको काम ग¥यौँ । विभिन्न ठाउँमा छरिएको अवस्थामा थियो । खर्च कटौती गर्ने काम पनि हामीले गरेका छौँ । सामाजिक सुरक्षा भत्तालाई हामीले वडा कार्यालयबाट नै दिने व्यवस्था मिलाएका छौँ । यो पनि एउटा सुधारको कार्य हो । नौमुले गाउँपालिकाका तीन वटा वडामा टेलिफोनले काम गर्दैनथ्यो । त्यो समस्या समाधानका लागि हामीले अहिले टावरको सर्भेको काम सकिएको छ ।

                                                             छवि सुवेदी, अध्यक्ष
                                                           नौमुले गाउँपालिका, दैलेख

स्वास्थ्य क्षेत्रको विकासका लागि पनि महत्वपुर्ण कामहरु भएका छन् । विशेषगरी जनतालाई सहज रुपमा सेवा दिने उद्देश्यसहित स्वास्थ्यकर्मीको टोलीलाई गाउँ–गाउँमा पठाउने र सेवा दिने काम भइरहेको छ । अर्को अपाङ्गता भएका व्यक्तिहरुका लागि काम भएको छ । शिक्षा क्षेत्रमा संघीय अनुदान बढाउनका लागि गत बर्ष हामीले सरकारलाई नै भनेर अहिले बढेर आएको छ । हाम्रो पालिकामा रुपान्तरणका काम केवल सरकारी बजेटबाट मात्र नभई श्रमदानको माध्यमबाट पनि भएका छन् । गत बर्ष एउटा विद्यालय नै हामीले श्रमदानबाट निर्माण गरेका छौँ । पहिलो बर्ष भएकाले हामीले सुरुवात गरेका थियौँ, यो बर्षदेखि हामी कार्यान्वयनको बाटोमा अगाडि बढ्छौँ ।

गत बर्ष पालिकामा खाद्य विक्रि केन्द्र भन्ने थियो । हामीले त्यसलाई खरिद विक्री केन्द्रका रुपमा सञ्चालनमा ल्याएका छौँ । किसानको आम्दानी हामीले किन्ने र त्यसलाई विक्री गर्ने । पशुपालन व्यवसायलाई सम्बोधन गर्नका लागि गोठालो भत्ताको व्यवस्थापन पनि हामीले गरेका छौँ । अर्को पालिकास्तरको आफ्नै कृषि फार्म पनि सञ्चालन गर्दैछौँ । जुन पालिकाकै स्वामित्वमा सञ्चालन हुन्छ । जति गर्ने चाहना थियो, त्यो अनुसार गर्न नसकेपनि प्रयासहरु भइरहेका छन् । यो बर्ष हामी पर्यटन पर्वद्धनका लागि पनि केही काम गर्ने सोचिरहेका छौँ ।

तीन तहका सरकारबीच समन्वय कस्तो छ ?

हाम्रो संघीयता भनेको सहकार्य संघीयता हो । संघीय सरकारले हामीलाई अनुदान दिने गर्छ । जसले स्थानीय तहमा कामकाजहरु चलेको हुन्छ । यो पनि एक खालको सहकार्य नै हो । अर्को कुरा कतिपय साझा अधिकारको कुराहरु उल्लेख गरेको छ, ती अधिकारहरु प्रयोग गर्दा तीन वटै तहले कत्तिको प्रयोग गर्ने भन्ने विषयमा जति सहकार्य, सहअस्तित्वको भावना हुनुपर्ने हो, त्यो अनुसार भएन कि भन्ने हो । यद्यपि सहकार्य हाम्रो (स्थानीय) तहबाट बढी गर्नुपर्ने हुन्छ । संघदेखि स्थानीय निकायसम्म काम गर्ने संयन्त्र भने नभएको हो । संयन्त्र नहुँदा समस्या पनि छन् ।

जनताले गाउँमा सिंहदरबारको अनुभूति गरेका छन् ?

सेवा सुविधाका हिसाबले हिजोभन्दा नजिक आएकै छ । जस्तो काठमाडौँबाट सुर्खेतमा आउने र सुर्खेतबाट दैलेख र दैलेख सदरमुकामबाट गाउँका केन्द्रसम्म प्रशासनिक काम, विकास निर्माणका कामहरु आइपुगेका छन् । निर्णय गर्ने ठाउँ जनताको नजिकै आइपुग्नु निकै राम्रो कुरा नै हो । साथै कार्यान्वयन गर्ने ठाउँ पनि नजिकै आयो । यद्यपि वर्तमान अवस्थालाई अझ व्यवस्थित गर्न सक्यो भने यसको प्रभावकारीता बढ्छ । सँगसँगै कतिपय फजुल खर्चहरुको कुराहरु छ, चुहावटको कुराहरु छन्, यसलाई नियन्त्रण गर्नुपर्छ । यदी नियन्त्रण भएन भने जनताका वितृष्णा पैदा हुने र संघीयता विरोधीहरुले पनि ठाउँ पाउने स्थिती हुन्छ । खर्चलाई नियन्त्रण गर्ने, मितव्ययी र पारदर्शि बन्ने हो भने व्यवस्था निकै राम्रो हो ।

आफ्नो कार्यकालमा कस्तो पालिका बनाउने ?

हामी पुर्वाधारका कमजोर छौँ । बाटोघाटो पनि बनिसकेको छैन । शिक्षा, स्वास्थ्य, संचार लगायतका संरचनाहरुमा हामी कमजोर नै छौँ । विद्युतिकरणको काम सम्पन्न हुसन सकिरहेको छैन । यी कामहरु भइरहेका छन्, पुरा गर्न बाँकी छ । खानेपानीको पहुँच विस्तार, उत्पादन गर्ने र रोजगारी सिर्जना गर्ने मुख्य एजेण्डा हो । त्यसमा केन्द्रीत भइरहेका छौँ । सदरमुकामसम्मको बाटो कालोपत्रे गर्ने, वडासम्म पुग्ने बाटाहरु स्तोरन्नती गर्ने कामहरु पनि भइरहेका छन् । अर्को महत्वपुर्ण कुरा जमिन कत्ति पनि बाँझो नरहोस् भन्ने नीति हामीले लिएका छौँ । खनिजजन्य पदार्थको उत्खननको कामतिर पनि सोचिरहेका छौँ । स्वास्थ्यलाई जतिसकिन्छ निशुल्क र सहज दिने, शिक्षा निशुल्क छ, त्यसलाई गुणस्तर बनाउने र पुर्वाधारका बढी जोड दिने अवस्थामा हामी छौँ । पाँच बर्षमा अधिकतम कोशिस गर्छाैँ ।

तपाईको प्रतिक्रिया