कर्णालीमा दशैतिहार, चाडपर्व सुरक्षा योजना कस्तो छ ?

सुर्खेत । चाडपर्वका बेलामा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश प्रहरी कार्यालयले ‘एकिकृत चाडपर्व सुरक्षा कार्य योजना –२०८०’ तयार पारेर नै लागु गरिसकेको हो । त्यसका लागि प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट १ हजार ३६९ वटा ड्यूटीमा ४ हजार ५७५ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । जुन गत बर्षको भन्दा ४३४ जना बढी हो । गत वर्षको चाडपर्वमा ९९० ड्यूटीमा ४ हजार १४१ जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईका अनुसार सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ३२३ स्थानमा मोवाईल गस्ती, क्यूआरटी र पैदल गस्ती समेत गरिने छ । २० स्थानमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ भने १२ स्थानमा कर्डन एण्ड सर्च तोकिएको छ । साथै १०२ वटा क्युआरटी परिचालन गरिएको छ भने ६८ वटा चेक प्वाइन्टहरुमा नियमित चेकजाँचको व्यवस्था मिलाइएको छ ।

आकस्मिक घटनाहरुको लागि १७ वटा टोलीमा १३४ जना प्रहरीलाई स्टेण्ड वाई खटाइएको छ । साथै ८३ वटा स्थानमा ट्राफिक सहितको संयुक्त चेकिङको थालनी भइरहेको छ । १८ स्थानमा बजार अनुगमन भइरहेको छ भने सवारी साधनको लागि बिशेष चेकिङ (लामो दुरीको सवारी चेकिङ (२ वटा चालकको व्यवस्था) २४ स्थानमा भइरहेको छ ।

सहज यातायातका लागि ६१ स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । भट्टराईका अनुसार चोरी, तस्करी, लागुऔषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रणको चेकिङका लागि १८ स्थानमा सुरक्षा व्यवस्था गरिएको छ ।
यस्तै आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थल, महत्पुर्ण स्थानहरुको सुरक्षाका लाथि ९२ स्थानमा सुरक्षा व्यवस्था गरिएको छ ।

‘झै–झगडा, जुवा तास, चोरी लुटपाट,मापसे, लापसे नियन्त्रण गर्ने उद्देश्यसहित थप ६६ स्थानमा प्रहरी परिचालन गरिएको छ,’ उनले भने,‘ नागरिकको सुरक्षाको अधिकारको सम्मान गर्दै कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरुको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनिय र सुदृढ बनाई आम नागरिगको जनजीवन सामान्य तुल्याउन, बँैक तथा वित्तिय संघसंस्थाहरुमा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्य सम्म जाने यात्रुहरु समेतलाई पुर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन् नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्डसमेतलाई लक्षित गरी सुरक्षा योजना बनाई लागु गरिएको हो ।’

भट्टराईका अनुसार चार्डपर्वको नाममा हुन सक्ने सबै प्रकारका अवान्छित÷अपराधिक क्रियाकलापहरु रोकथाम तथा नियन्त्रण गर्दै नागरिकहरुले सुरक्षित र उल्लासका साथ चार्डपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गरिने छ । यद्यपि चुनौतिहरु पनि उत्तिकै रहेको उनले बताए । ‘हामीले सुरक्षा रणनीति बनाएका छौँ, जस अन्तर्गत चाडपर्वको अवसरमा हुन सक्ने अपराधिक गतिविधिहरुको शंकास्पद एवं सम्भावित स्थानहरुमा सादा पोसाकमा प्रयाप्त प्रहरी परिचालन गरिने छ,’ भट्टराई भन्छन्,‘सडक सुशासन एवं सार्वजनिक यातायात साधनहरुको सहज आवागमन र दुर्घटना न्युनीकरण गर्न विभिन्न स्थानहरुमा ट्राफिक प्रहरी सहित चेकिङको व्यवस्था मिलाइएको छ ।’

सवारी साधनमा यात्रुसँग बढी भाडा असुल गर्ने, यात्रुहरुलाई दुर्व्यवहार गर्ने, क्षमता भन्दा बढी यात्रु एवम मालसामान राख्ने तथा ट्राफीक नियम उल्लङघनका घटनाहरु यस अवधिम बढ्ने गरेका छन् । तर, प्रहरीले त्यस्ता घटनालाई साम्य पार्नका लागि चेकजाँचमा कडाई गरेको छ भने नियमित अनुगमन समेत गर्ने गरेको छ । आम नागरिकहरुको सहजताको लागि सीमानाका, बसपार्क, सार्वजनिक स्थान तथा बढी भिडभाड हुने स्थानहरुमा यात्रु सहायता कक्षको स्थापना गरिएको प्रवक्ता भट्टराईले बताए ।

उसोत् कर्णालीमा प्रहरीले यसअघि नै विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । घरघरमा स्टिकर टाँस अभियानदेखि शान्ति सुरक्षालाई प्रभावकारी बनाउने लालटिन अभियानसम्म सञ्चालनमा ल्याइएका छन् । प्रहरीले बनाएको सुरक्षा योजनाले चाडपर्वको अवधिमा अपराध रोकथाम तथा नियन्त्रण हुने, सवारी दुर्घटना न्यूनिकरण हुने, चोरी, डकैती, लुटपाट, जस्ता अपराधिक गतिविधिहरु नियन्त्रण हुने अपेक्षा प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया