म निर्वाचित भएपछि….?

म गुर्भाकोट नगरपालिका पहिलो पाँच बर्षे कार्यकाल चलाइसकेको व्यक्ति हो । दोस्रो पटक पनि म निर्वाचित भएर आइसकेपछि विगत भन्दा अभ, व्यवस्थित तरिकाले नगरपालिकाको विकासमा अग्रसर छौँ । नगरपालिकाको जग बसाल्नेदेखि यहाँसम्म आउन हामीले विभिन्न कामहरु गरेका छौँ । गुर्भाकोट विकासपथमा लम्किएको नगरपालिका हो । हामीले १८ वटा त स्वास्थ्य संस्थाहरुमात्रै बनाएका छौँ । यसले नागरिकलाई सहजता प्रदान गरेको छ । हिजोको दिनमा सबै वडाहरु सडक सञ्जालमा जोडिएका थिएनन्, हामीले अहिलेसम्म आउँदा सबै वडाहरुमा सडक पुगेको छ । अर्को सामाजिक रुपान्तरणका क्षेत्रमा पनि काम गरिरहेका छौँ । विभिन्न संघसंस्थाहरुसँग साझेदारी गरेर सम्भावना भएका क्षेत्रहरुको पहिचान गर्ने र आर्थिक सुदृढीकरणका पहलहरु भइरहेका छन् । कृषि पेशालाई माथि उकास्नका लागि पनि पहलहरु भइरहेका छन् । त्यसका लागि अनुदानको व्यवस्थापन, उत्पादन वृद्धि गर्नका लागि आवाश्यक कार्यक्रमहरु पनि संचालन भइरहेकै अवस्था छ ।

                                                                     हस्त पुन, प्रमुख
                                                     गुर्भाकोट नगरपालिका, सुर्खेत

समन्वयकारी भूमिका छैन

संविधानत तीन तहका सरकारहरुबीच समन्वय, सहकार्यको भूमिका हुनुपर्ने भनिएको छ । तर, त्यस्तो हुन सकिरहेको अवस्था छैन । खासा यो एउटा समस्याको रुपमा रहेको छ । वास्तवमा विकास निर्माणदेखि हरेक विषयमा तीन वटा सरकारहरुबीच समन्वय हुनुपर्ने हो तर, त्यो लागु भएको छैन । अझैपनि संघ सरकारले कानुन नबनाउँदा स्थानीय सरकारले समस्या भोग्नुपर्ने अवस्था छ । अझ वित्तीय संघीयताको कुरा गर्दा निकै समस्या छ । वित्तीय संघीयताको विषयमा संघ सरकारले जुन खालको भूमिका निर्वाह गर्नुपर्ने हो त्यो गरिरहेको छैन । बजेट, कार्यक्रमहरु निर्माण गर्दैगर्दाको बेलामा स्थानीय सरकारसँग समन्वयन नगरेर नै माथिबाट नै बजेट आएको देखिन्छ । स–साना कामहरु प्रदेश र संघीय सरकारले गर्ने भए स्थानीय सरकारले कुन ठाउँमा गर्ने ? कुन तहको सरकारले कुन तहसम्मको अर्थात कति बजेटसम्मको काम गर्ने भन्ने विषयमा छुट्याइनुपर्छ । योजनाहरुको विषयमा पनि अझै अस्पष्ट छ । यसले गर्दा योजनाहरुमा डुब्लिकेशन आउनेदेखि अनेक समस्याहरु भइरहेका छन् । त्यसले गर्दा समन्वयकारी भूमिका अझैपनि हुन सकिरहको छैन ।

स्थानीय तहले गर्दा जनताले सुविधा पाए

‘गाउँ–गाउँमा सिंहदरबार’ भन्दैगर्दा जनताले पाउने सेवा सुविधाहरु घरदैलो नजिकबाट प्राप्त गरिरहेका छन् । तर, अझै सहज रुपमा सेवा प्रवाहको समस्या छ, त्यसलाई सुधार्दै स्थानीय तहहरुले काम गरिरहेका छन् नै । कुनै बेला सिंहदरबारमा जाँदा पनि सेवा पाउन मुस्किल हुन्थ्यो, त्यो सेवा अहिले घर नजिकको पालिकाबाट पाइरहेको अवस्था छ । संघीयता पश्चात यो एउटा सकरात्मक पक्ष हो जस्तो लाग्छ । हिजोको दिनमा केन्द्रिकृत शासन प्रणाली हुँदै गर्दा मान्छेहरु आवाश्यक परेको कुरा जिल्ला र केन्द्रमा धाउनुपर्ने अवस्था थियो । कम्तिमा घरदैलोको सरकारबाट अहिले जनताका तमाम समस्याहरु समाधानहरु भइरहेको देखिन्छ । त्यस कारण पनि अहिले स्थानीय पालिकाहरुले हिजोको सिंहदरबारको भूमिका निर्वाह गरिरहेका छन् जस्तो लाग्छ । हामीले त्यो अनुसारको गतिविधिहरु पनि गरिरहेका छौँ ।

अबको पाँच बर्षमा

गुर्भाकोट नगरपालिका विकासपथमा लम्किएको नगर हो । हरेक क्षेत्रमा सुधारोन्मुख हुँदै गइरहेको अवस्था छ । धरातलिय अवस्था हेर्दा समथर भू–भागदेखि उच्च पहाडी भू–भाग पनि छ । उत्पादनको क्षेत्रमा निकै सम्भावना बोकेको पालिका हो, हाम्रो । त्यस कारण विभिन्न निकायहरुसँग सहकार्य गरेर उत्पादन वृद्धिमा लागिरेहका छौँ । कृषि क्षेत्रको हवका रुपमा हामी गुर्भाकोटलाई विकास गर्न चाहन्छौँ । कृषि क्षेत्रमा आत्मनिर्भर भन्ने हाम्रो लक्ष्य नै छ । अर्कोतर्फ विस्तारै शहरीकरण भइरहेको छ, संघीय सरकारले पनि नयाँ शहरको रुपमा विकास गर्ने अवधारणा ल्याइसकेपछि हामी यसलाई सुन्दर शहरको रुपमा विकास गर्नका लागि योजनाहरु बनाइरहेका छौँ । पर्यटकीय हिसाबले पनि सम्भावना भएको क्षेत्र हो । सबै कुरालाई अध्ययन गरेर अगाडि बढीरहेका छौँ । किनकि भेरी नदी गुर्भाकोट नगरपालिकाको बीच भागबाट बगिरहेको अवस्था छ । यही नगरलाई छुनेगरेर दुईवटा राजमार्गहरु सञ्चालित छन् । त्यसैले यसलाई पर्यटकीय गन्तव्यका रुपमा पनि विकास गर्न सकिने विषयमा पनि हामी लागिरेहका छौँ । पाँच बर्षभित्रका केही न केही रिजल्ट दिने गरेर हामीले काम गरिरहेका छौँ ।

तपाईको प्रतिक्रिया