तीन सेकेण्डमा गाउँ नै रहेन’ पाँच जनाले चुँ गर्न पाएनन्

सुर्खेत । यही कात्तिक १७ गते शुक्रबारको मध्यरात जाजरकोट केन्द्रबिन्दु भएर आएको ६.४ रेक्टर स्केलको भूकम्प आउँदा जाजरकोटका टीकाराम परियार घर बाहिर नै थिए । रातको ११ बजेसम्म लुगा सिलाइरहेका परियारलाई लाग्यो फेरि भोलि बिहानै उठेर काम गर्नुपर्छ अब त सुत्ने बेला भयो ।

उनले भने, “भूकम्प आउनुभन्दा अगाडि ११ बजेसम्म म लुगा सिलाइरहेको थिएँ । हामी श्रीमान्–श्रीमती तलतिर थियौँ । बच्चाबच्ची माथि सुतिसकेका थिए । ११ बजेपछि चाहिँ अब सुत्न जाऊँ, फेरि बिहानै उठेर काम गर्नुपर्छ भनेका थियौँ ।”

श्रीमान्–श्रीमतीबिचको कुरा भएपछि श्रीमती सुत्नलाई घरतिर लागे, उनी भने शौचलयतिर लागे। घर बाहिर नै रहनुभएका परियारलाई फोन आयो । फोनमा राम्रोसँग कुरा गर्न नेटवर्क नभएपछि उहाँ घरको अलि मास्तिर लागे ।

त्यति नै बेला भूकम्प आयो र माथि रहनुभएका परियारलाई भूकम्पले उछिट्याएर रोडमा पुरायो । त्यो अनुभव सुनाउँदै उनले भने “फोन राम्रो टावर टिप्ने मास्तिर गएँ । चट्याम–चुट्टुम आवाज आयो र मलाई रोडतिर उछिट्याएर पुरायो ।

उनले आँखै अगाडि तीन सेकेण्डमा गाउँ सबै क्षतविक्षत बनाएको दुःख बताए । “बढीको घटना होइन, तीन सेकेण्डमै यो भयो । एक ठाउँबाट अर्को ठाउँमा टेकुम्ला भन्ने थिएन । गाउँका मान्छे राति उठेर बाहिर आउलान् जस्तो भन्ने पनि थिएन । म मात्रै बाहिर छु जस्तो लागेको थियो ।”

तीन तलाको घरले थिचेर श्रीमती बाँचेकी छिन् भन्ने आस पनि थिएन परियारलाई । चार, पाँचवटा लास त्यही ठाउँबाट निकालिसकेको थियो । मरेकै भए पनि तान्न त पर्‍यो भनेर हातैले श्रीमतीलाई तान्ने प्रयास भयो । असम्भव भएपछि छिमेकीको मेसिनले माटो फाल्ने काम भयो ।

त्यसपछि उनकी श्रीमतीले पुरिएकै ठाउँबाट म जिउँदै छु, मलाई उद्धार गर भनेर कराएको उनले बताए । उनले भने, “हुन त यहाँ नौ जना मान्छे परे । पाँच जनाको क्षति भयो । छोरा, बुहारी पल्लो घरमा थिएँ । बुहारी चेपिएको रहेछ । बिचको कोठामा रहेका पाँच जना बोल्नै पाएनन् । चुँ गर्न पाएनन् ।”

तपाईको प्रतिक्रिया