तिहारमा यस्तो हुनेछ मौसम

काठमाडौं ।  देशका केही स्थानमा शनिबार हल्का वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशबाट मनसुन बाहिरिएयता नेपालमा पश्चिमीको वायुको आंशिक प्रभाव रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । शनिबार भने पश्चिमी वायुको सामान्य प्रभाव देखिएको उनले बताए ।

‘पोस्ट मनसुनमा पानी नपर्ने भन्ने नहुने उनले स्पष्ट पारे ।  शनिबार केही स्थानमा हल्का वर्षा भएको छ, भारी होइन,उनले भने, पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ । पोस्ट मनसुनमा पानी नपर्ने भन्ने हुँदैन ।

उनका अनुसार यो तिहार अवधिमा काठमाडौंसहित अधिकांश भूभागमा ठूलो वर्षाको सम्भावना छैन । पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने उनले बताए ।

पहाडी भूभागमा बदली रहने देखिन्छ । हल्का वर्षाको सम्भावना छ, मौसमविद् झाले भने, “त्यो क्षणिक हुन्छ । छिटपुट मात्र हुन्छ । ठूलो र धेरै बेर हुँदैन । तिहारमा मौसमले असर गर्नेजस्तो सम्भावना नरहेको उनले स्पष्ट पारे । भाइटीकाका दिन पनि मौसम समस्यायुक्त नहुने उनको भनाइ छ ।

आजको दिनबाट हेर्दा भाइटीकाको दिन पनि मौसमले समस्या हुन्छ जस्तो देखिँदैन । पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि त्यो असरै गर्ने किसिमको नहोला, उनले भने ।

तिहार अवधिमा अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने भएकाले चिसो बढ्ने उनले बताए । तराई भूभागमा वर्षाको सम्भावना नरहेको उनले जानकारी दिए । शनिबार भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका केही स्थानमा पनि वर्षा भएको उनले बताए ।

शनिबारै साँझ महाशाखाले तिहार विशेष मौसम बुलेटिन प्रकाशन गरेको छ । बुलेटिनमा तिहार अवधिमा कोसी, वाग्मती, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशहरूका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने उल्लेख छ । यी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा जनाइएको छ ।

यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । तिहार अवधिमा अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाको तिहार विशेष मौसम बुलेटिन पढ्नोस्–

यस वर्ष तिहारको चतुर्दशी (२६ गते), औँसी (२७ गते), प्रतिपदा (२८ गते) र द्वितीया (२९ गते)का दिनहरूमा देशको कोसी, वाग्मती, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशहरूका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै, उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने देखिन्छ ।

पुनश्चः भूकम्प प्रभावित सुदूरपश्चिम, कर्णाली प्रदेशहरूका पहाडी भूभागमा आगामी केही दिनहरूमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना देखिन्छ । साथै, उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना देखिन्छ । साथै, उक्त दिनहरूमा उक्त प्रदेशहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया